राजबिराज । सामाजिक विकास मन्त्री नवल किशोर साहले सामाजिक रुपान्तरणमा सहकारी संस्थाको भूमिकालाई महत्वपूर्ण बताएका छन् ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुलीमा शनिबार महुली सामुदायिक बिकास केन्द्र बकधुवाको २६औं बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताए । मन्त्री साहले सामाजिक क्षेत्रमा महुली सामुदायिक बिकास केन्द्रले पु¥याएको योगदानको प्रशंसा गरे । सामाजिक उत्तरदायित्वलाई आत्मसात गरेर असहाय, दलित तथा बिपन्न समुदायको उत्थानमा गरेको सहयोग सबैको लागि प्रेरणादायी रहेको उनको भनाई थियो । सामाजिक विकास र आर्थिक रुपान्तरणको क्षेत्रमा सहकारी संस्थाहरुले खेलेको भूमिका सबैको माझ छर्लङ्ग छ, मन्त्री साहले भने, सामाजिक रुपान्तरणका लागि सहकारी संस्थाहरुको योगदान अत्यन्तै महत्वपूर्ण छ । आर्थिक विकास र समृद्धिको आधार सहकारी संस्था रहेको चर्चा गर्दै मन्त्री साहले प्रदेश सरकारले सहकारी संस्थाहरूको विकासलाई प्राथमिकतामा राखेर प्रदेशको बिकास समृद्धिमा सहकारी संस्थाहरु संग सहकार्य गरेर अघिबढ्न तत्पर रहेको बताए ।
महुली समुदायिकले भूमिहीन गरिव र आवास बिहीन परिवारलाई दीगो र सुरक्षित आवास निःशुल्क प्रदान गरेर देश बिदेशमा उदाहरणीय बनेको उल्लेख गर्दै मन्त्री साहले अति बिपन्न दलित समुदायको उत्थानमा सक्रिय महुली समुदायलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । महुली सामुदायिक विकास केन्द्र बकधुवाका अध्यक्ष राम लगन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, अग्निसाईसर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर १ का अध्यक्ष तेज नारायण चौधरी थारु, शम्भुनाथ नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगत, तत्कालीन जिबिसका उपसभापति भुपेन्द्र चौधरी, आदर्श दूध बिकास सहकारी संस्था महुलीका अध्यक्ष दिपेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै महुली सामुदायिक विकास केन्द्रले बित्तीय क्षेत्र सहित सामाजिक क्षेत्रमा समेत ठूलो योगदान गरेको बताए ।
महुली सामुदायिक विकास केन्द्र बकधुवाका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत संचालक समितिका महासचिव श्रावण कुमार चौधरीले गरे । साधारणसभामा महुली सामुदायिक विकास केन्द्रका कार्यकारी सचिब एबम् निर्देशक प्रभु नारायण चौधरीले बार्षिक प्रतिबेदन प्रस्तुत गरे ।
प्रतिबेदनमा महुली सामुदायिक बिकास केन्द्रले ४ हजार ४ सय २३ घर निर्माण गरि हस्तान्तरण गरिएको उल्लेख छ । निर्देशक चौधरीले आर्थिक बर्ष २०७७÷०७८ को प्रतिबेदनमा आन्तरिक आय २६ करोड ६३ लाख१२ हजार ३ सय ८९ र विभिन्न संस्थाहरुको सहयोग १४ करोड ५९ लाख ७ हजार ५ सय ९२ गरि कुल ४१ करोड २२लाख १९ हजार ९ सय ८२ रुपैयाँको आयब्याय रहेको बार्षिक लेखा परिक्षण प्रतिबेदन गरेका थिए ।


