२०७८ आश्विन २४, आईतवार ०७:३१

मलगंवा । लामो समयदेखि बन्द सर्लाहीका सीमानाकाहरु शनिबारदेखि संचालनमा आएको छ । भारतीय पक्षले लगाएको बेरियर(ढाट) शुक्रबार साँझ हटाएपछि सदरमुकाम मलंगवा र भारतीय बजार सोनवर्षा नाका भएर निजी सवारीसाधनहरु आवागमन सुरु भएको हो । दूबै देशका नागरिक कोभिड सुरक्षा सतर्कता अपनाएर आवतजावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाल सरकारले नाकाहरु खोल्ने निर्णय गरे पनि भारतीय सीमा सुरक्षाकर्मीको अवरोधका कारण आवागमन सामान्य बन्न सकेको थिएन् । कोरोना संक्रमण न्युनिकरण गर्न सरकारले २०७६ चैत ११ देखि नेपाल–भारत सीमानाका बन्द गरेको थियो । नाका बन्द हुँदा सवारीसाधन आवागमनमा समस्या भएको थियो । नाका खुला भएपछि सीमा क्षेत्रमा बसोबास गर्ने दुवै देशका नागरिकलाई आवातजावत सहज भएको छ । नाका बन्द हुँदा दूवै देशका नागरिकलाई चोरबाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता थियो । सीमावर्ती क्षेत्रका नेपालीहरु सामान किन्नुपर्दा छिमेकी देश भारतको सोनवर्षा, सीतामढी, मेजरगंज जाने गरेका छन् ।

दैनिक उपभोग्य वस्तुहरु चिनी, खाने तेल, मसला, लत्ताकपडा लगायतका सामग्रीहरु खरिद गर्न भारतीय बजार पुग्ने गरेका छन् । उपचारको लागि बिरामीहरु समेत भारतीय शहरहरुमा जाने गरेका छन् । सीमानाका खुला भएपछि सर्वसाधारण र व्यापारीहरु हर्षित भएका छन् । नाका खुलेसँगै दैनिक सयौं मानिसहरुलाई काम बिशेषले मलंगवा–सोनवर्षा पैदल आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । भारतीय सवारी साधनको प्रवेश शुरु भएसँगै होटेल तथा पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् ।

 

 

Comment


Related News