२०७८ आश्विन २५, सोमबार ०६:५९

जनकपुरधाम । नेपाली काँग्रेसका सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधि गृह जिल्ला धनुषामा पनि कमजोर देखिएका छन् ।

हाल पार्टीका उपसभापति रहेका निधिको निर्देशनमा जिल्लाको चारवटै संसदीय निर्वाचन क्षेत्रमा काँग्रेस जिल्ला समितिले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रमको पहिलो दिन जिल्लाका प्रभावशाली नेताहरुले कार्यक्रम नै बहिष्कार गरे । नेता निधि प्रमुख अतिथि रहेको कार्यक्रममा केन्द्रीय सदस्य समेत रहेका आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव लगायतका कयौं नेताहरु सहभागी भएनन् । जिल्लामै रहेपनि उनीहरु कार्यक्रममा सहभागिता जनाएनन् । विगतमा यस प्रकारको कार्यक्रम जिल्ला समितिले आयोजना गर्दा सबै नेताहरुको उपस्थिति हुने गरेको थियो । सभापतिमा सहयोगको आग्रह गरेका निधि जिल्लामै कमजोर देखिएका छन् । संघीय संसदका उम्मेदवार रहेका ढुंगाना र द्वय यादवले निधिको साथ छाडेकाले कमजोर देखिएका छन् । पूर्व भारतीय राजदूत रञ्जित रेले निधिको विषयमा आफ्नो पुस्तकमा गरेको टिप्पणीले पनि काँग्रेसको राजनीतिलाई तरंगित बनाएको छ । यद्यपि निधिले त्यसलाई खण्डन गर्दै झुठा रहेको बताइसकेका छन् । हाल उनी ४ दिनदेखि धनुषामा रहेका छन् । सभापतिका उम्मेदवार रहेका निधिलाई धनुषा जिल्ला सभापति र प्रदेश सभापतिका लागि उम्मेदवार घोषणा गर्न सकस भएको छ ।

स्रोतहरुका अनुसार जिल्ला सभापतिमा उनले क्षिरेश्वर नगरपालिकाका मेयर समेत रहेका क्षेत्रीय सभापति योगेन्द्र पजियारलाई सघाउने छन् । प्रदेश सभापतिमा उनी हाल मौन नै रहेका छन् । प्रदेश २ मा निधिलाई सर्वाधिक मत पर्ने अपेक्षा थियो । तर अब त्यो संभावना कमजोर भइसकेको छ । प्रदेश २ मा नेता निधिको पक्षमा सार्वजनिक भएर मत माग्ने जिल्ला सभापति र केन्द्रीय सदस्यहरुको संख्या न्यून छ । तर उनले भने अवस्था राम्रो रहेको दावी गरिरहेका छन् । लामो समयपछि उनी दशैंमा पुरा समय धनुषा जिल्लामा बिताउन लागेका हुन् । प्रायःदशैंमा उनी राजधानी काठमाण्डु अथवा देश बाहिर रहने गर्थे । निधिसित रहेका संघीय सांसदद्वय स्मृतिनारायण चौधरी र मिनाक्षी झाको पार्टीमा पकड छैन् । दुबै जना समानुपातिक सांसद हुन् । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव प्रदेश सभापतिका उम्मेदवार रहेकाले निधिको पक्षमा खुलेर मत माग्न सहज छैन् । यादवको पक्षमा निधि पनि खुल्ने अवस्था नरहेको बताइन्छ । पछिल्लो समयमा दुबै बीचको सम्बन्ध समेत चिसिएको छ ।

Comment


Related News

Latest News

Trending News