कोरोना भाइरस संक्रमणको कुनै बेला ‘हट स्पट’ मानिएको प्रदेश २ मा हाल उलेख्य सुधार आएको छ ।
कोरोना भाइरसको संक्रमणमा व्यापक कमी आएसँगै रोकिएका सबै सरकारी सेवाहरु सुचारु हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाजिप्रका)ले सोमवार जारी गरेको सुचना अनुसार कोरोना भाइरस संक्रमणमा निकै कमी आइसकेकोले सेवाग्राहीलाई नियमित सेवा उपलब्ध गराइनेछ ।कोरोना भाइरस संक्रमणको कारण प्रशासन कार्यालयले आलोपालो गरी सेवा दिइरहेको थियो ।संक्रमणमा कमी आएकाले आउँदो ३१ गते आईतवारदेखि सो क्रम हटाइएको जिप्रका धनुषाले जनाएको छ । आलोपालो प्रणालीबाट सेवाग्राहीहरुलाई अत्यधिक मर्का परिरहेको थियो । सेवाग्राहीहरुका लागि सेवा सहज बनाउन आलोपालो प्रणाली हटाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जनाए ।‘ पालिकाको आधारमा आलोपालो प्रणाली लागु गरिएको थियो’ उनले भने, तर कोरोना भाइरसको संक्रमणमा निकै कमी आएकाले सो प्रणालीलाई हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले आलोपालो प्रणाली हटाएसँगै अन्य कार्यालयहरुबाट समेत सो प्रणाली हटाइने उनले बताए । आलोपालो प्रणाली हटेपनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्नुपर्ने बाँस्तोलाले बताए । मेला, हाटबजारमा समेत स्वास्थ्य सम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्न गराउन उनले आग्रह गरे । आलोपालो प्रणालीका कारण नापी र मालपोतमा अवैध असुलीमा भारी बृद्धि भएको थियो ।नापी कार्यालय धनुषाका प्रमुखले सोझै दलालहरु मार्फत रकम लिने गरेका थिए । हप्तामा १÷२ दिन मात्र पालो आउने भएकाले सेवाग्राही दलाल मार्फत प्रमुखलाई घुस दिएर आलोपालो प्रणालीलाई मिच्दै सेवा लिईरहेका थिए । सरकारी कार्यालयहरुले सेवा नियमित गरेपनि प्रदेश २ मा छठ सम्म अधिकांश विदाको दिन परेकाले सेवाग्राहीहरुको चाप कमै रहनेछ । जिल्ला प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय, यातायात कार्यालय लगायतमा सेवाग्राहीहरुको चाप बढि रहने गरेको छ ।आलोपालो प्रणालीको कारण मालपोत, नापी, यातायातमा घुसखोरी व्यापक बढेको सेवाग्राहीहरुको गुनासो छ ।
तर त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरुले चासो देखाएको छैन् । आलोपालो प्रणाली हटेसँगै घुसखोरीमा समेत केहि कमी आउने विश्वास गरिएको छ ।हरेक दिन सबै पालिकाका सेवाग्राहीले सेवा लिन सक्ने भएकाले अतिरिक्त रकम दिनु पर्ने छैन् । जिप्रका धनुषाका अनुसार सबै कर्मचारीहरुलाई नियमित रुपमा कार्यालयमा हाजिर भै सेवाग्राहीलाई सेवा प्रदान गर्न निर्देशन दिइएको छ ।नियमित सेवा उपलब्ध नभएको कारण हाल कार्यालयहरुमा भीड बढेकोछ । प्रदेश नम्बर २ मा सोमवार गरिएको पीसीआर र एन्टिजेन विधिबाट १ सय १ जनाको परीक्षण गरिएकोमा ७ जनामा कोरोना भाइरस(कोभीड–१९)को संक्रमण देखिएको छ ।प्रादेशिक स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाए अनुसार संक्रमितहरु मध्ये २ जना अन्य प्रदेशका बासिन्दा हुन् । निर्देशनालयका अनुसार प्रदेश २ मा कोभीड–१९ बाट सोमवार मृत्यु पुष्टि भएको छैन् ।निरन्तर रुपमा कोरोना भाइरसको संक्रमणमा कमी आएको निर्देशनालयको तथ्यांकबाट देखिन्छ । निर्देशनालयले जनाए अनुसार एन्टिजेन विधि र पीसीआर दुबै विधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण नियमित भइरहेको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएको बेला प्रदेश २ मा अन्य प्रदेशहरुको तुलनामा कम नै देखिएको थियो । तर प्रारम्भिक चरणमा प्रदेश २ लाई कोरोना भाइरस संक्रमणको हटस्पट मानिएको थियो । कोभिड–१९ को कारण प्रदेश २ मा हाल सम्म १ हजार ३९ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । त्यसैगरी हाल सम्म प्रदेश २ मा ३८ हजार ३ सय ८५ कोभिड–१९ को संक्रमित रहेको निर्देशनालयले जनाएको छ । सो अवधिमा संक्रमण मुक्त हुनेको संख्या ३७ हजार २ सय ४५ रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । कोरोना भाइरसको संक्रमण घटेसँगै जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर लगायत प्रदेशभरिका सम्पूर्ण मठमन्दिरहरु पूर्ण रुपमा खुल्ला गरिएको छ । देवी मन्दिरहरुमा श्रद्धालुहरुको अत्यधिक भीड देखिन्छ ।
तर स्वास्थ्य सम्बन्धी निर्देशनको पालना भइरहेको छैन् । कोरोना भाइरस संक्रमणको कारण गत वर्ष मठमन्दिरहरुमा दर्शनपूजामा रोक लगाइएको थियो । बलि प्रदानमा समेत रोक लगाइएकाले राजदेवी मन्दिरमा त्यसको व्यापक प्रभाव परेको थियो । राजदेवी मन्दिरमा अष्टमीको राति मात्र हजारौ बोकाको बलि दिइन्छ ।


