अपडेट 
२०७८ आश्विन २६, मंगलवार ०७:०४

हामीले अहिले भोगीरहेको गणतन्त्र र संघीयता त्यसै आएको छैन । यो नेपाली जनताको अथक संघर्ष, त्याग–तपस्या, बलिदानको परिणाम हो । यद्यपि वर्तमानमा श्रमजीविवर्ग र उत्पीडित समुदायहरु उपेक्षित छन् तथा पुरानो र नव धनाढ्यवर्गको हितमा सत्ता र कानून लाभदायी देखिन्छ । त्यसले देशमा विविध जनसंघर्षहरुबाट प्राप्त उपलब्धिहरु अधूरै छन् भन्ने प्रष्ट छ । गणतन्त्र होस वा संघीयता, दुबैअर्थमा सत्ताको चरित्र सर्वहारावर्गीय बनाउन थप संघर्षको आवश्यकता सहजै अनुभूत हुन्छ । नेपाली जनताले गरेका हरेक राजनीतिक आन्दोलनहरुमा देशका अन्य भाग जस्तै जनकपुरले पनि सक्रिय भूमिका निर्वाह र शहादतको कोटा चुक्ता गर्दै आएको छ । त्यो चाहे ०१७ सालमा राजा महेन्द्रले निरञ्कुश पञ्चायती राजतन्त्र लादेको विरोधमा जनकपुरमा राजामाथी बम प्रहार गरेर शहादत वरण गर्ने शहीद दुर्गानन्द होउन अथवा पञ्चायतीसरकारले खटाएको हत्याराबाट भारत बिहारको मधुबनीमा मारिएका सरोज कोइराला होउन, अथा संघीयताको अधिकारको निम्ती भएका मधेश आन्दोलनमा सरकारी गोलीबाट मारिएका शहिदहरु होउन; जनकपुरले नेपालको सबै राजनीतिक आन्दोलनमा आफ्नो कोटा चुक्ता गरेको छ । तर जनकपुरमा शहादतको एउटा अर्को प्रसङ्गको चर्चा हुनेगर्दैन र त्यो हो जनकपुरले माओवादी जनयुद्धमा कोटा चुक्ता गरेका शहिदहरुको प्रसङ्ग ।

यथार्थ के हो भने जनयुद्धको इतिहासको चर्चा गरिएन भने न त नेपालको राजनैतिक इतिहास र न त जनकपुरको जनसंघर्षको इतिहास नै पूरा हुन्छ । तपाँई जनकपुर धामको वडा नम्बर १० देवीचौकमा आउनु भयो भने त्यहाँ देवीमन्दिरको सामुन्ने एउटा स्मारक जस्तो अधूरो संरचना पाउनु हुनेछ । यो शहीदहरुको स्मारकको अधूरो संरचना हो । जनकपुर र यस वरिपरीका सातजना युवाहरु, जस्ले जनयुद्धमा शहादत वरण गरेका थिए, उनिहरुको स्मरणमा यो स्मारक बनाउन शुरु गरिएको थियो । तर गरीब र शोषणको सबैभन्दा तल्लोवर्गको निम्ती राज्यव्यवस्था स्थापनाको उद्देश्य सहित शुरु गरिएको जनयुद्धको लक्ष्य जसरी अधूरो छ, त्यसरी नै यो स्मारकपनि अधूरो र उपेक्षित ठडिएको छ । गणतन्त्रको आगमनपछि माओवादीको एउटा ठूलो हिस्सा प्रायः सत्तामा रहने गरेको छ, तर कसैको ध्यान यस अधूरो शहिद स्मारकतिर गएको छैन । हुन त जुन शहिदको स्मारक छ, उनिहरुको राजनीतिक स्वप्नको कस्ले कदर गरेको छ र ? यस्तोमा घोषितरुपमै मजदूर र किसान तथा उत्पीडित समुदायको पक्षमा संघर्ष गर्नेहरुको उपेक्षा, दलाल पूँजीपतिहरु हावीरहेको राजनीतिक व्यवस्थामा अस्वाभाविक होइन । जनयुद्धका लक्ष्यहरु ने उपेक्षित छ भने यसका शहिदहरुको उपेक्षा देखेर आश्चर्यको कुरा होइन । तर विचारधारात्मक रुपमा समाजवादी होस वा साम्यवादी वा आफूलाई लोकतान्त्रिक भनोस वा जनवादी, यदि ऊ जनताको हितको पक्षमा ईमान्दार छ भने उसले आफ्ना पुस्ताहरुको संघर्ष र बलिदानको इतिहासबारे जानकार हुनैपर्छ । यो अधूरो स्मारक यस्तै शहादतको प्रतिक हो ।

०५२ सालदेखी शुरुभएको माओवादी जनयुद्धमा ०६० साउन २७ गतेदेखी भदौ १ गतेको बीचमा नेपालगञ्ज र दाङ्गको हापुरेमा गरी माओवादी र सरकारबीच पहिलो र दोस्रो चरणको वार्ताभएको थियो । तर भदौ ३२ गते काभ्रे जिल्लाको दोरम्बामा तत्कालीन नेपाली सेनाले निहत्था माओवादी कार्यकर्ता, कलाकार तथा सर्वसाधारण गरी १६जनाको हत्या गरेपछि वार्ता सरकारको माओवादी अल्झाउने र सखाप गर्ने नीतिमात्र भएको प्रष्ट भयो । परिणामतः माओवादीले भदौ १० गते वार्ता भङ्ग भएको घोषणा ग¥यो । यस्को करीब डेढमहिना पछि जनकपुरमा माओवादीका सातजना युवा कार्यकर्ताहरु गिरफ्तार भएका थिए । यस क्रममा ०६० असौज २१ गते जनकपुरको कटैया चौरीबाट तत्कालीन नेकपा (माओवादी)का वाइसीएल नगर संयोजक दुर्गेश लाभ (जनकपुरधाम–१०), वाईसीएल नगर सचिव संजीव कुमार लाभ दीपू (जनकपुरधाम– १०), तथा वाइसीएल सदस्यहरु जीतेन्द्र झा मछली (जनकपुरधाम, मुरली चौक, हाल विद्यापति चौक), प्रमोद मण्डल (जनकपुरधाम, कुर्था) र शैलेन्द्र यादव (स्थायी ठेगाना दुहबी कर्माही) लगायत पाँचजनालाई प्रहरी र सेनाको संयुक्त कमान्डले गिरफ्तार ग¥यो । यसरी नै ०६० असौज २५गते नेकपा (माओवादी) का धनुषाजिल्ला संगठन समितिका सचिवालय सदस्य तथा एरिया इन्चार्ज मनोज दत्त कन्हैया जनकपुरधाम–९ रामानन्द चौक स्थित आफ्नै घरबाट गिरफ्तार भए । उनिसंग पार्टी सदस्य रामचन्द्र लाल (नगराइन नगरपालिका)पनि पक्राउ परेका थिए । यी सातैजनालाई गिरफ्तार हुनेबेला देखी नै निर्मम किसिमले कुटपीट गरिएको तथा यातना दिइएको कुरा प्रत्यक्षदर्शीहरुले बताएका थिए । राज्यले लामो समयसम्म यिनीहरुलाई गिरफ्तार गरेको नै स्वीकारेन ।

त्यतिबेला अप्रत्यक्ष स्रोतबाट यिनीहरुलाई गोली हानेर हत्यागरिएको र गोदारको कुनै खेतमा गाडिएको जानकारी प्राप्त भएपनि सेना र प्रहरी दुबैले प्रत्यक्षरुपमा यिनीहरुलाई गिरफ्तार गरेको समेत स्वीकारेन । फलस्वरुप यी सातैजना गणतन्त्र आउन्जेलसम्मपनि बेपत्ताकै श्रेणीमा थिए । पछि, गणतन्त्र आएपछि शहिद मध्येको संजीवकुमार लाभ दीपूको पिता अधिवक्ता जयकिशोर लाभको अथक प्रयत्न र विविध राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको दबाब र प्रयासले गोदारमा शंका लागेको ठाउँमा उत्खनन गर्दा पाँचजनाको शवको अस्थिपञ्जर फेला परेको थियो, जुन परिवारजनलाई बुझाइएको थियो । छोरा दीपू लगायत पाँचजनाको खोजीबारे एउटा पिताको रुपमा अधिवक्ता जयकिशोर लाभको अथक प्रयत्नको छुट्टै कारुणिक र हृदयस्पर्शी कथा छ । शहिद पिता अधिवक्ता लाभले छोरा कहाँ, कुन अवस्थामा छ, त्यसको बारे खोजी गरिदिन तत्कालीन प्रहरी अधिकारीहरु, सेनाका अधिकारीहरु, सीडियो तथा नेताहरु हुँदै जेनेभामा संयुक्त राष्ट्रसंघको मानवाधिकार संगठन सम्म पुगेर हारगुहार गरेका थिए । त्यसैको फलस्वरुप ०६० असौज २१ गते बेपत्ता पारिएका पाँचजनाको शवको अस्थिपञ्जर उत्खनन गरिएपछि उनिहरुको हत्या गरिएको साबित भएको थियो । बाँकी दुईजना ०६० असौज २५ गते बेपत्ता पारिएको विषयमा वैधानिकरुपमा अहिलेपनि बेपत्ताकै स्थिति छ । यद्यपि मानवाधिकार संगठनहरुले ती पाँच जनासंगै यी दुईजनाकोपनि हत्या भैसकेको जानकारी परिवारजनलाई दिएको स्थिति छ । यी सातैजना शहिदहरुलाई दिउँसै जनता सामू प्रहरी र सेनाको संयुक्त कमान्डले गिरफ्तार गरेको प्रष्ट हो । तरपनि यी हत्याहरुको जिम्मेवारी कस्को हो भन्ने प्रष्ट भएन ।

प्रहरीले सेनालाई तथा सेनाले प्रहरीको टाउकोमा जिम्मेवारी थोपरी रह्यो । त्यतिबेला अंचल प्रहरी उपरिक्षक डा. चुडा बहादुर श्रेष्ठ थिए भने सशस्त्र प्रहरीका प्रमुख कुबेरसिंह राणा थिए । डां श्रेष्ठको निधन भैसकेको छ । यी युवाहरुको हत्यामा जनपद प्रहरी, सशस्त्र प्रहरी र सेनाका तत्कालीन अधिकारीहरु जिम्मेवार थिए भन्ने प्रष्ट छ । अधिवक्ता लाभले उच्च अदालतमा दायर गरेको रीटमा भएको आदेशले समेत तत्कालीन अधिकारीहरुलाई जिम्मेवार ठहर गरेको थियो । तरकसैलाईपनि सजाय भएन । बरु डा. बाबूराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा मानवाधिकार संगठनहरुको विरोधको बावजूद कुबेरसिंह राणा महानिरिक्षक पदमा नियुक्त गरिए । शहिद दीपूका पिता अधिवक्ता लाभको केही वर्ष पहिले निधन भैसकेको छ । माओवादी जनयुद्ध वर्तमान नेपाली राजनीतिक इतिहासमा जनसंघर्षको सबैभन्दा उज्यालो र इमान्दार पृष्ठ भएपनि क्रमशः उपेक्षित हुँदैगएको छ । यतिमात्र होइन, समाजवाद र साम्यवाद विरोधीशक्तिहरुले यसलाई निरुद्देश्य र आपराधिक हिंसा भनेर बदनाम गरेर यसका शहादत तथा जनसंघर्षलाई निरर्थक साबित गर्न चाहन्छन् । निश्चय नै यो हतियारमाथी टिेकेको विभेदकारी र अन्यायीसत्ताका विरुद्ध बाध्यात्मक हिंसात्मक जनसंघर्ष थियो । यस द्विपक्षीय संघर्षमा सत्तापक्षीय र विद्रोही पक्षीय दुबैको ज्यान गयो । यस द्वन्दमा केही कुनै पक्षमा नलागेकाहरुको पनि ज्यान गयो । तर यस्को अन्तिम सत्य के हो भने यो तत्कालीन सत्ताले बाध्य पारेपछि मुक्तिको निम्ति गरिएको क्रान्ति थियो । अफसोस, यो अधूरै टुङ्गियो । अहिले यस गणतन्त्रमा सबैले सत्तास्वार्थ पुरा गरिरहेका छन् । तर यथार्थ के हो भने जतिबेला माओवादीहरु राजतन्त्रका विरुद्ध र जनवादी गणतन्त्रको निम्ती जीवन मरणको संघर्ष गरिरहेका थिए, माओवादी बाहेकका सबै राजनीतिक शक्तिहरु राजाको सिंहासन बचाउने प्रयत्नमा माओवादी विरुद्ध लागेका थिए । बहुदलिय राजतन्त्रमा सामेल दलहरुले आफ्नो गद्दी बचाउन सक्दैनन्, भन्ने लागेपछि तत्कालीन राजा ज्ञानेन्द्रले संसदिय राजनीतिकशक्तिहरुलाई लखेटेर गद्दीमाथी एकलौटी कब्जा जमाएपछि मात्र नेपाली काँग्रेस र एमाले लगायतका राजनीतिक दलहरु माओवादीसंग मिल्न आएको यथार्थले जनयुद्धको सान्दर्भिकता साबित गर्छ ।

अफसोस के छ भने आफूलाई लोकतान्त्रिक भन्ने पूँजीवादी पार्टीहरुले समाजवाद स्वीकारेपनि यसका मूल प्रस्तावक जनयुद्धकारीशक्तिको योगदान समेतलाई किनारा लगाउन चाहन्छन् । जनयुद्धको मूल वैचारिक आधार मजदूर र किसान लगायत सर्वहारावर्गीय विषयहरुको समानान्तर जाति, क्षेत्र, लगायत पहिचानका विषयहरु उभ्याउनु र श्रमजीविवर्गका सरोकारका विषयहरु ओझेलमा पर्दै जानू यसैको परिणाम हो । तर जस्ले सर्वहारा, श्रम, समाजवाद र समानताको पक्षमा वकालत गर्छ, इतिहासमा नेपाली जनताले गरेको योगदान र बलिदानलाई स्मरण गर्नु र शहादतमा गर्वगर्नु उनिहरुको सैद्धान्तिक दायित्वभित्र पर्छ, त्यो चाहे दुर्गानन्द होओस वा सरोज कोइराला, वा झपसी मन्डल वा सूर्यनाथ रान वा रामवृक्ष यादव वा मनोज दत्त, दुर्गेश लाभ र संजीवकुमार लाभ लगायतको शहादत होस ।जनताको हितमा शहादत दिनेहरु सबै, सबै जनताका शहिद हुन्, साझा गर्व हुन् । जनयुद्धमा जनकपुरका यी युवाहरुले शहादत दिएर जनकपुरको जनपक्षीय गर्व बढाएका छन् । कुनै दिन जनकपुरको देवी चौकमा अधूरो शहिद स्मारक मुनि उभिनु होला, निश्चय नै तपाँइभित्र आफ्नो संघर्षशील पुस्ताप्रति गर्वको अनुभूति हुनेछ । शहिदहरुलाई श्रद्धान्जली ।

Comment


Related News

Latest News

Trending News