गरुडा । रौतहटको देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभा सोमवार सम्पन्न भएको छ । नगर कार्यपालिकाको कार्यालय गोनाहीको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न भएको हो ।
सबै पालिकाले असास मसान्त भित्रमै नगर परिषद गरिसक्नुपर्छ तर जनप्रतिनिधिहरुबीच बजेट भागबण्डामा कुरा नमिल्दा अनिश्चित बनेको देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभा साढे दुई महिना ढिलो गरी सोमवार मात्र सम्पन्न भएको हो । मेयरले ६० र उपमेयरले ४० प्रतिशित बजेट चलाउन पाउँने गरी दुवै जनाबीच सहमति भएपछि साढे दुई महिनादेखि ओझेलमा परेको नगरसभा सोमबार सम्पन्न भएको हो । नगरसभा हुन ढिलाई हुँदा विकास निर्माण लगाएतको कामकाज प्रभावित हुँदै आएको थियो तर सोमबार नगरपरिषद भएपछि नगरमा अब विकास निर्माण लगायतको कार्य तिव्रता लिने विश्वास गरिएको छ ।
नगर प्रमुख धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ४९ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकास एवं नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभाबाट ४९ करोड ८६ लाख १५ हजार रुपैयाँ बजेट पारित गरेको छ । कार्यक्रममा नगर प्रमुख पटेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेका थिए । आन्तरिक आयको १ करोड, वित्तिय समानीकरणको १० करोड ८८ लाख, केन्द्र तथा प्रदेश सरकारबाट प्रदान गरिने राजश्व बाँडफाँडको ७ करोड ६० लाख ६२ हजार, केन्द्र तथा प्रदेश सरकारबाट प्रदान सर्शत अनुदानको १७ करोड ४५ लाख, केन्द्र सरकारबाट प्राप्त हुने विशेष अनुदान २ करोड २४ लाख एवं प्रदेश सरकारबाट प्राप्त हुने समपुरक तथा विशेष अनुदानको ५० लाख रुपैया गरी सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख पटेलले बताए ।
कुल बजेट ४९ करोड ८६ लाख १५ हजार मध्ये चालु खर्च तर्फ २५ करोड ५६ लाख २ हजार, पुँजिगत खर्च तर्फ १५ करोड ३५ लाख ५७ हजार, समाजिक सुरक्षाभत्ता तर्फ ९ करोड ४० लाख ३१ हजार र गरिव सँग विशेष कार्यक्रम तर्फ ४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको उनले बताए । संघीयताको कार्यान्वयन गर्दै नगरवासीलाई स्थानीय सरकारको प्रत्याभुति दिलाउने, प्रकोप व्यवस्थापन गर्ने, विकास सुशासनको प्रत्याभुति दिलाउने, कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा विशेष लगानी गर्ने, रोजगारीको अवसर श्रृजना गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने, पर्यटन प्रवद्र्धनका आयोजनाहरुको पहिचान र कार्यान्वयनमा तिव्रता दिने, सडक एवं अन्य भौतिक पूर्वाधार निर्माण कार्यको स्तरउन्नती गर्ने लगाएत कार्यलाई नगरपालिकाले आफना निती तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको उल्लेख छ ।
कार्यक्रममा नगर उपप्रमुख परनिया देवी पटेल, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र चन्द्रावन्सु, नगरका सबै वडाका वडाध्यक्षहरु, सदस्यहरु, स्थानीय भद्रभलादमी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो


