जनकपुरधाम । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशीहरुले देश दौडहालाई तीव्र बनाएका छन् ।
सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि गृह जिल्ला धनुषामा असन्तुष्टिलाई न्यून गर्न १३ दिन बिताएर सोमवार राजधानी काठमाण्डु फर्केका छन् । उनी असोज २० गते जनकपुरधाम आएका थिए । सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले धनुषामा लगातार १३ दिन समय खर्चेपनि असन्तुष्टहरुलाई मिलाउन सकेनन् । नेता निधिले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राख्न लगाएर सहभागी भएपनि त्यो उपलब्धिमूलक हुन सकेन् । पछिल्लो पटक धनुषाधाममा आयोजित शुभकामना आदानप्रदानमा त्यस क्षेत्रका प्रभावशाली नेता आनन्दप्रसाद ढुंगाना नै अनुपस्थित रहे । काँग्रेस नेताहरुका अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा निधि पक्षधर प्रतिनिधि ४ जना आउने संभावना समेत रहेको छैन् । ढुंगानामा मिलेर आउने बाहेक निधि पक्षमा लागेकाहरुलाई महाधिवेशन प्रतिनिधिमा आउन नदिने तयारी भएको छ । क्षेत्र नम्बर २ मा पनि निधि पक्ष अत्यन्त कमजोर छ । पालिका प्रतिनिधिमा निधि पक्षधर नेताहरु आउने संभावना न्यून छ । उनको आफ्नो निर्वाचन क्षेत्र नम्बर ३ मापनि आन्तरिक बिबाद चुलिएको छ । क्षेत्रीय अध्यक्ष कन्हैया कर्णलाई हटाएर नेता निधिले आफ्नै भाई श्याम निधिलाई ल्याउने बताइसकेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ को शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेन्द्र यादवले गृहमन्त्री बालकृष्ण खाँडको पक्षमा बोल्दै सभापतिका पुनःप्रत्याशी रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका लागि भोट मागेका थिए । तर निधिको पक्षमा भोट माग्ने उनी बाहेकका नेता खुल्न् चाहेनन् । धनुषामा यति कमजोर निधि पहिलो पटक देखिएको बताइन्छ । ४ वटै क्षेत्रमा निधिसँगै रहेका रामकृष्ण यादव रामचन्द्र पौडेल खेमाका हुन् । उनी निधिसँगै रहेर पौडेलका लागि काम गरेका थिए । १३ दिन सम्म धनुषा नछाडेका निधिले भने जिल्लाका सबै देवी देउताका मठमन्दिर हरुमा दर्शनपूजा गर्न भ्याए । प्रारम्भमा पुग्न नसकेका निधिले दुर्गाको मुर्ती सेलाईसकेपनि पुगेको बताइन्छ ।जिल्लाका नेताहरुलाई सभापतिमा सघाउन उनले पटक पटक आग्रह गरेपनि समय आएपछि ‘हेरौंला’भन्ने जवाफ फर्काएका थिए । काठमाण्डुमा आफ्नो घरबाट निधिले निकालेका महोत्तरी जिल्लाका प्रभावशाली नेता चिरञ्जिवी हमालको घरमा नबोलाएपनि पुगेको घटना काँग्रेसवृत्तमा व्यापक चर्चित रह्यो । नेता निधिको चुनाव सम्पर्क कार्यालयको उद्घाटनमा सहभागी नभएका हमाल अर्को दिन निधिलाई भेटन उनको घरमै पुगेका थिए । तर निधिले उनलाई अपमानित गर्दै घरबाट निकालेका थिए । बर्दिबासस्थित हमालको घरमा पुगेका निधिलाई सम्मानपूर्वक चिया खुवाइएको थियो । घरमा आउन हमालले भने उनलाई निम्तो गरेका थिएनन् । तर दलबल सहित हमाल निवास पुगेका निधिलाई चिया खुवाएर राजनीतिक संस्कार देखाए ।
‘निधिजिसँग आएका सबैलाई यथासंभव सम्मान गरेँ’ उनले भने, चिया समेत नखुवाएको सरासर गलत हो। डेढ सय कप चिया खर्च भएको थियो ।’ सभापतिका अर्का प्रत्याशी प्रकाशमान सिंह नेता निधि फर्केको २४ घण्टा भित्रै धनुषा र महोत्तरीमा चुनावी प्रचारप्रसारका लागि आउन लागेका हुन् । नेता सिंह मंगलवार विहान आएर धनुषाका नेता कार्यकर्ताहरुसित भेटघाटगरी सहिद सरोज कोइरालाको स्मृति दिवसमा महोत्तरी जिल्लाको कञ्चनवनमा आयोजित कार्यक्रममा सहभागी भएर नेताहरुसित छलफल गर्ने बताइएको छ । नेता सिंह मंगलवार दिनभरि नै धनुषा र महोत्तरीका नेताहरुसित भेटघाटगरी राती काठमाण्डु फर्कने छन् । सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि पहिलो पटक काठमाण्डु बाहिर जनकपुरधामबाट प्रचारप्रसारको अभियान सुरु गरेका छन् । धनुषामा नेता सिंहको पक्ष अत्यन्त कमजोर रहेपनि महोत्तरीमा स्थिति सन्तोषजनक रहने बताइन्छ ।


