अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै डा। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी कार्यालय जनकपुरधामका प्रमुखलाई राजेश्वर कुशवाहालाई कुपीट तथा कालोमोसो दल्दै नगर परिक्रमा गराएका छन् ।
दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेता कार्यकर्ताहरुले गुण्डाशैलीमा नेपाल खानेपानी कार्यालय जनकपुरधामका प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन् । लाठी, भाठा सहित कार्यालय पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले प्रमुखलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरुले कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा कुटपीट गर्दै घुमाएका थिए ।
कुशवाहालाईलाई अर्धनग्न बनाएर गुण्डा शैलीमा कुटपीट गरी नगर परिक्रमा गराई रहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेको थियो । जनमत पार्टीका नेता कार्यकर्ताहरुले साइकल चोर देश छोड्, भ्रष्ट मेयर चाहिदैन लगायतका नाराहरु समेत लगाएका थिए ।
यता, धनुषा प्रहरीले जनकपुरको कदम चौकबाट विजय यादव, कैलाश मण्डल सहित १० कार्यकर्तालाई पक्राउ गरेको छ ।


