जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेश विरोधी गतिविधि बढ्दै गएको बताएका छन् ।
मधेशी बुद्धिजीवी समाज जनकपुरधामले दीपावली तथा छठ पर्वको अवसरमा बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा नेता महतोले संघीय सरकारले १२ प्रतिशत मात्र मधेशलाई सहयोग गरेको बताए । मुलुकमा एक पटक फेरी राष्ट्रिय मुक्ती आन्दोलनको आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि फुटेर आन्दोलन नगरी जुटेर गर्नुपर्ने बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले मधेशका नेताहरुको नियत नीति र नेतृत्वको कारण लक्ष्य प्राप्तिमा ढिलाई भएको बताउदै यसको दायरा बढाउनु पर्ने आवश्यकता औंल्याए । कार्यक्रममा लोसपा कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले प्रदेश २ सरकारले आफनो चार वर्षे कार्यकालमा एउटा पनि ठोस कार्यक्रम ल्याउन नसकेको बताए । शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साहले मधेशले अधिकार नपाएको सम्वन्धमा कुरा उठाउनु जायज रहेको बताउदै सम्पुर्ण मधेशी शक्ति एक नभएसम्म मधेशले अधिकार पाउन नसक्ने बताए । चुनावको समयमा आफु पनि मधेशी हो भनेर भोट माग्ने अनि अधिकारको बेलामा केन्द्रीय पार्टीको पाउमा लम्पसार हुने पद्धतिले मधेश र मधेशीले आफनो अधिकार पाउनबाट बञ्चित बनेको वताए ।


