जनकपुरधाम । कर्मचारीको तलब नदिएको भन्दै विद्यार्थीहरुले याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठ मटिहानीमा तालाबन्दी गरेका छन् ।
तालाबन्दीका कारण प्रशासनिक कामकाज ठप्प भएको छ भने पठनपाठन अवरुद्ध भएको छ । सर्वेश झासहित ६ जनालाई गत वर्ष कार्यालय सहयोगीमा नियुक्त गरिएको थियो । सो मध्ये पाँच जनाले तलब भत्ता पाएको तर चालु आर्थिक वर्षको असोजदेखि हालसम्म तलब नपाएको भन्दै क्याम्पसमा तालाबन्दी गरिएको हो । झा क्याम्पसमा अवस्थित मन्दिरको पुजारी पनि छन् । उनी सोही क्याम्पसमा अध्ययनरत थिए । त्यसै गरी प्राध्यापक अभावको कारण पठनपाठन प्रभावित भएको भन्दै यथाशीघ्र प्राध्यापक नियुक्त गर्नुपर्ने, शौचालयको व्यवस्थापन, क्याम्पसमा नियमित सरसफाई हुनु पर्ने सहितका मांग समेत बिद्यार्थीहरुले अघि सारेका छन् । छात्रवृत्ति र पोशाकको लागि प्रदान गरिने रकममा अनियमितता हुँदै आएको आरोप समेत विद्यार्थीहरुले लगाएका छन् । विद्यार्थीहरुले पटक–पटक प्राचार्य वीरेन्द्र लाल कर्णलाई ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गर्नु परेको उनीहरुले बताए । हाल क्याम्पसमा २० जना प्राध्यापक कार्यरत रहेको तर अझै प्राध्यापकको दरबन्दी खाली नै रहेको प्राचार्य कर्णले जानकारी दिए ।
उनले ६ जनाकै नियुक्ति अवैधानिक रहेको भन्दै १० देखि ५ बजेकै समयमा दुईटा सुविधा दिन नमिल्ने बताए । यता गुठी संस्थान तथा क्याम्पसबाट प्रदान गरिने छात्रवृत्तिको लागि फरक – फरक सुविधा रहेकोले कसैले पोशाक पाएको कसैले नपाएको कारणले विद्यार्थीहरुमा अनियमितताको भ्रम भएको क्याम्पस प्रमुख कर्णले स्पष्ट पारे ।


