२०७८ कार्तिक १३, शनिबार ०७:३७

जनकपुरधाम । नेपाल र भारतको खुला सीमानाकाबाट भइरहेको तस्करी लगायतका अबैध धन्धाहरु रोक्नु पर्ने भारतीय जनता पार्टी(भाजपा)का सांसद अशोक यादवले बताएका छन् ।

‘नेपालबाट मदिरा लगायतका अबैध समानहरु भारतमा तस्करी भएर आइरहेको छ ’उनले भने, भारतबाट पनि औषधी लगायत कतिपय अबैध समानहरु नेपाल जाने गरेको छ । जनकपुर टुडेसितको संक्षिप्त वार्तामा सांसद यादवले भने, सीमा क्षेत्रमा भइरहेको तस्करी रोकिनु आवश्यक छ । तस्करी नरोकिए सम्म दुबै देशमा अपराधिक गतिबिधि बढने उनको चिन्ता छ । बिहार राज्यको मधुवनी क्षेत्रबाट सांसद बनेका यादव तीन पटक बिधान सभामा निर्वाचित भएका थिए । केन्द्रीय राजनीतिमा समेत पहिचान बनाउन सफल सांसद यादवले नेपाल र भारतको सीमा क्षेत्रको विकासका लागि दुवै देशको ‘कनेक्टिभीटी’ बढाउनु पर्नेमा जोड दिए । सीमा क्षेत्रका सडकहरु भारतमा राम्रो भइरहेपनि नेपाली क्षेत्रमा समेत सुधारको खाँचो रहेको उनले बताए । ‘नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, भाषिक, समाजिक, राजनीतिक सम्बन्ध अत्यन्त पुरानो रहेकाले नेपालको विकासमा भारत हरसंभव सहयोग गर्दै आएकोछ’ उनले भने, नेपालमा शिक्षा, स्वास्थ्य, सडक लगायतको क्षेत्रमा भारतले ठूलो लगानी गरिरहेकोछ । ‘नेपाल र भारतको सीमावर्ती क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर संभावना रहेको छ ’सांसद यादवले भने, भारतीय सवारी साधनहरुको नेपाल प्रवेशलाई सहज बनाउन सके पर्यटकहरुको आवागमनमा उल्लेख्य बृद्धि हुनेछ । नेपालमा भारतीय सवारी साधनको प्रवेशमा शुल्क लाग्ने, अनेक समस्याहरु खडा गरिने त्रासका कारणपनि भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न डराउन थालेको गुनासाहरु आइरहेको उनले बताए ।

नेपाल र भारतको सीमावर्ती क्षेत्रहरुमा रहेका धार्मिक, पर्यटकीय स्थलहरु सम्म दुवै देशका नागरिकहरुको पहुँच सहज र सुविधायुक्त हुनुपर्नेमा उनले जोड दिए । भारतमा नेपाली सवारी साधनलाई नजिकको रेलवे स्टेशन सम्म आउन कुनै समस्या नरहेको उल्लेख गर्दै भित्र प्रवेश गर्न भारतीय वाणिज्य दूतावास अथवा भारतीय राजदूतावासको पत्र लिएर यात्रा गर्न कुनै समस्या नभएको उनले खुलाए । नेपालीहरुलाई भारतमा आफूले सक्दो सहयोग गर्दै आएको उल्लेख गर्दै उनले भने, शिक्षा र स्वास्थ्यका लागि नयाँदिल्ली आउने नेपाली नागरिकहरुलाई आवश्यक सहयोग गर्दै आएको छु । सांसद यादवका पिता हुकुमदेव नारायण यादव पूर्वमन्त्री हुन् । उनी भारतमा राष्ट्रवादी नेताको रुपमा प्रतिष्ठित छन् ।

Comment


Related News

Latest News

Trending News