जनकपुरधाम । धनुषाको धनौजीको बैलौती पुल प्रयोगमा आउन सकेको छैन् । नेपाल–भारत जोड्ने बेलौती नदीको पुलबाट आवतजावतमा सुरक्षाकर्मीले रोक लगाएका छन् ।
नेकपा एमालेकी सांसद एवम् पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठले उक्त पुलको उद्घाटन गरेकी थिइन् । उद्घाटन भएको महिनौ बितिसक्दा पनि पुल संचालनमा आउन सकेको छैन् । कोरोनाका कारण बन्द गरिएको पुल अझै सञ्चालन हुन सकेको छैन् । सशस्त्र प्रहरीले भारतीय बजार हरिने जान निर्माण भएको बेलौती पुलमा सवारी साधन आवतजावत गर्न दिएको छैन् । पुलबाट पैदल आवतजावत गर्न दिएपनि सवार ीसाधन चल्न दिएको छैन् । पुलबाट सवारीसाधन आवतजावत गर्न नदिंदा सर्वसधारणलाई सास्ती भएको छ । सवारीसाधन आवतजावतमा रोक लगाउँदा भन्सार कार्यालयको राजश्व संकलनमा समेत असर परेको छ । सीमावर्ती बजार हरिनेबाट दैनिक उपभोग्य सामान खरिद गर्न जानेहरु पुल वारी सवारीसाधन राख्न बाध्य छन् । हरिने बजारबाट सहज रुपमा किनमेल गर्न सक्ने भएपनि सर्वसाधारण टाउकोमा सामान बोक्न बाध्य छन् । पुलमा आवतजावत खोल्न छलफल भइरहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए । आवतजावतका लागि भन्सारको कुनै अवरोध नरहेको जनकपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत प्रमोद दासले बताए ।
पुल सञ्चालनमा नआउँदा भारत तर्फबाट आउने सवारी साधनलाई जटही नाकामा पठाइने गरिएको छ । धनुषामा ६ वटा छोटी भन्सार मध्ये जटही, धनौजी र इनर्वा मात्रै सञ्चालनमा छन् । भौतिक संरचना अभाव, कर्मचारी र सुरक्षाको कारण देखाउदै तीन छोटी भन्सार बन्द अवस्थामा छ । छोटी भन्सारहरु बन्द हुँदा सीमा क्षेत्रमा प्रहरीकै मिलोमतोमा तस्करी मौलाएको छ ।


