अपडेट 
२०७८ कार्तिक १३, शनिबार ०८:११

उपभोक्ताहरु भारत बिहारको सीमावर्ती क्षेत्रमा किनमेल गर्ने क्रम बृद्धिले गर्दा जनकपुरधामका किराना व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन ।

जनकपुरधामका किराना पसलहरुमा एक्का दुक्का ग्राहक मात्रै देखिने गरेको छ भने बिहारको मधवापुर ,भिठ्ठामोड लगायतका सीमामा अवस्थित किराना पसलहरुमा यस क्षेत्रकै ग्राहकहरुको मारामारको अवस्था देखिएको छ । भारतमा तेल ,चिनी , मैदा ,सुपारी लगायतको केही सामान मात्रै सस्तोमा उपलब्ध हुने गरेको भएतापनि अन्य सामानहरुको मुल्य एकैनास रहेको जनकपुरधामका व्यवसायहरु बताउँछन । व्यवसायीहरुका अनुसार हामी कहाँ सुनसान छ भने सीमापारीका किराना पसलहरुमा जनकपुरधाम क्षेत्रका उपभोक्ताहरुकै घुँईचो लाग्ने गरेको छ । व्यवसायीहरु सन्तोष गोयनका र शेखर साहले उपभोक्ताहरुमा उल्लेखित जनचेतना अभावका कारण जनकपुरधामका किराना व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताए । खुला सीमा नाकामा भन्सार समेत नबुझाई समान भित्रियाउन प्रशासनले छूट दिएकै कारणले व्यापारीहरुको पलायनको अवस्था सृजना भएको उद्योग वाणिज्य संघ जनकपुरधामका बरिष्ठ उपाध्यक्ष मनिष रमण साह प्रष्ट गर्छन् । उनले भने ,‘एकातर्फ नेपालका व्यापारीहरु मर्कामा छन् भने भन्सार मार्फत उठ्ने राजश्वको करोडौ रकम घाटा हुने गरेको छ ।’ सीमा नाकामा एक आध किलो बाहेक कुनै पनि समान ल्याउन नदिन प्रशासनले कडाई नगरे सम्म किराना व्यवसायीहरुको समस्या समाधान नहुने उपाध्यक्ष साहले बताए । भन्सार राजश्व बुझाई ल्याउने प्रणाली निर्माण गर्न सकिए वारि पारी जहाँ पनि एकैनासको दर रेटमै किराना सामान उपलब्ध हुने निश्चित रहेकोले यस प्रति प्रशासन गंभिर हुन जरुरी रहेको बाबा स्टोर्स (किराना डिलर) का संचालक गोयनकाको भनाई छ । सरकारले खाने तेल र चिनीको मूल्यलाई भारतीय बजार सरहको मूल्य कायम गर्न सकेमा ग्राहकहरुलाई जनकपुरधाममै रोकेर व्यवसायी पलायनको अवस्थालाई नियन्त्रण गर्न सकिने व्यवसायीहरुको कथन रहेको छ ।

तिहारको पुर्व सन्ध्यामा पनि ग्राहक नहुँदा टाईमपास गर्न फिल्म हेरिरहेको दुखेसो किराना पसले राजकुमारसाहले पोखे । त्यति मात्र होइन जनकपुरधामकै पेठियागाछीका किराना व्यवसायीहरुले तश्कर मार्फत चोरी पैठारीका समानहरु किनेर सस्तो भाउदरमा बेची राजश्व तिरेर व्यवसाय चलाउनेलाई समस्यामा पारेको गुनासो समेत व्यापारीहरुको रहेको छ । चिनी र खानेतेलकै भाउको कारणले चाड पर्वमा व्यवसाय बढ्नुको साटो झनै घटेको व्यवसायी रामजानकी चौधरीले बताए । केही दिन पहिला सम्म सरकारले चिनी कारखानाहरुलाई अनुदान दिएर भाउलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो र सो बेलामा यहाँ पनि चिनीको विक्री ह्वातै बढेको उदाहरण दिँदै चिनीको भाउमा नेपाल र भारतमा धेरै नै फरक भएपछि उपभोक्ताहरु चिनी र तेल किन्न मात्रै उता जाने गरेको र साथ साथै अन्य सामानको किनमेल गर्ने गरेको हुँदा यहाँको व्यवसाय चौपट्ट भएको व्यापारी प्रभाकर साहको कथन छ । दैनिक उपभोग्य चिनी खानेतेल जस्तो सामानको दरभाउमा फरकले भारतमा गई किनमेल गर्नु आवश्यकता हुन सक्छ तर नेपालको सामान नै गुणस्तरहीन छ भनेर देशकै उत्कृष्ट चियापती पनि नकिनी भारतकै टाटा चियापती नै किन्ने प्रवृति भने दुर्भाग्यपूर्ण रहेको किराना व्यवसाय छाडि फोटो स्टुडियो संचालन गर्न थालेका व्यवसायी सन्तोष चौधरीले बताए । किरानाकै हर्लिक्स ,चकलेट ,काजु ,किसमिस लगायतका दर्जनौ समानहरु भारतको तुलनामा नेपालमै सस्तो पर्ने गरेको व्यवसायीहरुको दावी छ ।

भारतमै राम्रो पाईन्छ भन्ने मानसिकता उपभोक्ताहरुमा जडो गाडेकोले यहाँको व्यवसाय बर्बाद भएको व्यवसायी चौधरीको कथन छ । कोठाको चर्को भाडा र ऋणको भार खेप्न नसकी यहाँका दर्जनौ व्यवसायीहरु पलायन भईसकेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य निर्मल चौधरीले जानकारी दिए । खानेतेल तर चिनीको मूल्यमा जनकपुरधामका व्यवसायीहरुले मनोमानी तरीकाले मुल्य लिएको गुनासो समेत उपभोक्ताहरुको रहेको छ ।

Comment


Related News

Latest News

Trending News