जनकपुरधाम । नेपाली कांग्रेसले जनकपुरधाम उप– महानगरपालिकाको १७ वडा कमिटीको सर्वसम्मतिले चयन गरेको छ ।
नेकांका नगर सभापति मनोज साहका अनुसार वडा १० र २३ मा विवादको कारण अधिवेशन स्थगित गरिएको छ । त्यस्तै वडा नम्बर २० मा प्रशासनले निषेधाज्ञा जारी गरेको कारण अधिवेशन हुन नसकेको छैन । बाँकी रहेका ८,९,१६,२२ र २४ वडाहरुमा अधिवेशन आइतबार नै सम्पन्न भई सोमबार निर्वाचन हुने भएको छ । वडा नम्बर ८ मा सभापतिमा सुखचन्द्र मिश्र (मालिकभाई) तथा सुरेन्द्र शर्मा प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी ९ को सभापतिमा ज्ञानु मण्डल तथा कमलेश सिंहले सभापतिमा उम्मेदवारी दिएका छन । त्यस्तै १६ मा विगुल यादव र शिवेन्द्र प्यानल बीच प्रतिस्पर्धा हुने बताईएको छ । त्यस्तै २२ मा कमरुद्धिन र जोगी पासवान प्यानल बीच, २४ मा विश्वेश्वर शर्मा तथा भुषण सहनी प्यानल बीच प्रतिस्पर्धा हुने सभापति साहले बताए । यता जउनपा १ मा देवु यादवको सभापतित्वमा कमिटी गठन गरिएको छ । २ मा रामलोचन यादव, ३ मा बुद्धिराम ठाकूर, ४ मा दीपक साह, ६ मा दिनेश साह, ७ मा श्याम साह, ११ मा संजय साह, १२ मा शत्रुधन यादव, १४ मा ब्रह्मदेव मिश्र, १३ मा जितु राउत, १५ मा नन्दलाल साह ,१७ मा बालबोध यादव, १८ मा जासिम नदाफ, १९ मा विजय यादव, २१ मा महेन्द्र महतो तथा २२ मा बिलट मण्डलको सभापतित्वमा वडा कमिटीहरु गठन भएको छ ।
प्रत्येक वडामा सभापति, दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव, २५ जना सदस्य तथा १५ जना क्षेत्रीय प्रतिनिधिको चयन गरिएको छ । यता विवादित वडाहरुमा सोमबार अधिवेशन हुने भएको छ भने देवपुरा रुपैठा क्षेत्रमा पर्ने वडा नम्बर २० को निषेधित क्षेत्र बाहिर कार्यक्रम गरी अधिवेशन गर्ने नगर सभापति साहले जानकारी दिए । यसै बीच जउनपा–२ मा रामलोचन यादवको सभापतित्वमा ३२ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपसभापतिमा आनन्द मिश्र तथा रामनारायण शीतललाई चयन गरिएको छ । त्यस्तै सचिवद्वयमा काशी यादव तथा गणेश साह चयन गरिएका छन । यसैगरी सह–सचिवमा गोविन्द राउत साह तथा छेदी राउत चयन गरिएका छन । त्यस्तै भेलाले गणेश झा, गणेश तिवारी, प्रदीप चौधरी, हरिप्रसाद राउत, विनोद लुईंटेल, सत्यनारायण मण्डल, शैलेन्द्र झा सहितकालाई क्षेत्रीय प्रतिनिधिमा चयन गरिएको छ ।


