२०७८ कार्तिक ३०, मंगलवार ०७:०२

जनकपुरधाम ।प्रदेश २ सरकारको अति महत्वांकाक्षी योजना ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगतको साईकल खरिद प्रकरणमा अनियमितता देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ कार्यालय बर्दिबासले जनाएको छ ।

अख्तियार दिवसको अवसरमा सोमवार प्रदेश प्रमुखलाई प्रादेशिक कार्यालय बर्दिबासले प्रतिवेदन बुझाउने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा साईकल खरिद प्रकृयाको प्रारम्भिक चरणमा ‘कैफियत’ देखिएको प्रमुख कृष्ण प्रसाद सापकोटाले जनाए । ‘मुख्यमन्त्री कार्यालयले साईकल खरिद गर्ने प्रकृयामा कैफियत देखिएकोछ’ प्रमुख सापकोटाले भने, प्रारम्भिक चरणबाट अनुसन्धान अगाडि बढिसकेको छ । अनुसन्धानको थप प्रकृयाहरु पुरा गर्न विज्ञ अनुसन्धान अधिकृत तोकिएको उनले बताए । ‘अनुसन्धानको प्रकृया पुरा भएपछि विशेष अदालतमा मुद्दा दायर गरिनेछ’ उनले भने, तर अहिले अनुसन्धानको क्रममा केही समय लाग्नेछ । गत असोज १३ गते अख्तियारको बर्दिबासस्थित कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको थियो ।अख्तियारको उक्त कार्यको मुख्यमन्त्री लालबाबु राउत समेत सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)ले समेत चर्को विरोध गरेको थियो । अख्तियार विरुद्ध जसपाले सडक संघर्ष नै गरेको थियो । जसपाका नेताहरुले सडकमा मसाल बालेर अख्तियारको कार्वाहीलाई पूर्वाग्रही भनेका थिए । अख्तियारको प्रादेशिक कार्यालय बर्दिबासले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट साईकल खरिद प्रकृया सम्बन्धी कागजातहरु लगेको छ ।साईकल खरिदमा अनियमितता भएको आरोप विभिन्न निकायहरुले लगाउँदै आएका थिए ।

तर मुख्यमन्त्री राउतले भने अख्तियारको कार्वाही दवाव र प्रभावमा भएको आरोप लगाए । जनकपुर टुडेसितको संक्षिप्त प्रतिकृयामा अख्यितारका प्रादेशिक प्रमुख सापकोटाले भने, प्रकृया पुरा नभए सम्म दोषीहरु ठहर गर्न सकिदैन् ।मुख्यमन्त्री राउतको संलग्नता सम्बन्धी जिज्ञासामा उनले भने, त्यो अनुसन्धानको प्रकृया पुरा भएपछि मात्र थाहा हुनेछ । यसैबीच प्रदेश २ सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले साइकल वितरणसम्बन्धी प्रसंगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष भन्दै पूर्वधारणा र दुराग्रह अभिव्यक्त हुनेगरी मातहतका तर अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक रहेको टिप्पणी गरेका छन् । प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा प्रारम्भिक चरणको अनुसन्धानबाट भ्रष्टाचार भएको देखिएको आयोगका बर्दिवास प्रमुख सापकोटाले दिएको अभिव्यक्तिप्रति यस्तो टिप्पणी गरेका हुन् । ‘कुनै पनि विषयमा आयोगले अनुसन्धान गर्ने विधि तथा अभियोजन गर्ने प्रक्रिया ऐनकानुनबाट निर्देशित रहेको हुन्छ’ मन्त्री साहले भने, अभियोजनपछि विशेष अदालतले मात्र भन्न सक्ने कुरा अख्तियारका एकाइ प्रमुखबाट आउनु दुर्भाग्यपूर्ण हो । साइकल खरिद सम्बन्धी विषयमा कसैसँग सोधपुछ वा बयानसम्म नभइसकेको अवस्थामा आयोगका बर्दिवास प्रमुखको भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष सम्बन्धी धारणाले सम्मानित अदालतको अधिकारक्षेत्र प्रभावित गरेको भन्दै मन्त्री साहले आपति जनाए । सरकारको छवि धमिल्याउन अख्तियार प्रमुखको अभिव्यक्ति खेदजन्य रहेको साहले सार्वजनिक गरेको प्रतिकृयामा उल्लेख गरेका छन् ।

अनुसन्धानपछि अभियोजन गर्ने वा नगर्ने अधिकार आयोग अर्थात् प्रमुख आयुक्तसहित आयुक्तहरूको हुने हुँदा बर्दिवास प्रमुखका कथित भनाइ आपत्तिजनक र आफ्नै संस्थाको मान्यताविरुद्धमा रहेको प्रदेश सरकारको ठहर रहेको प्रवक्ता साहले बताउँदै सरकारलाई नियोजित रुपमा बदनाम गर्ने कार्य भइरहेकोप्रति आपति जनाए । अख्तियारको बर्दिवास प्रमुखको अभिव्यक्तिबारे जानकारी प्राप्त गरी त्यस विषयममा आवश्यक सचेतताका लागि मातहतका कार्यालयलाई निर्देशन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण साहले गराएका छन् । प्रदेश २ को सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच फेरी द्वन्द चर्किएकोछ ।अख्तियारले थालेको अनुसन्धानमा मुख्यमन्त्री राउत समेत दोषी देखिने आशंका सरकारका सहयोगी दलका नेताहरुको छ । अख्तियारले मंसिर महिना भित्र नै अनुसन्धान टुंगो लगाएर मुद्दा दर्ता गर्ने अड्कलपनि गरिदैछ ।प्रादेशिक प्रमुख सापकोटालेपनि अनुसन्धानको प्रकृयालाई चाँडै टुंगो लगाइने संकेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News