गरुडा । मुसा मार्ने औषधि खाएर दुई नाबालकको मृत्यु भएको विषयलाई लिएर रौतहटको गरुडामा विरोध प्रदर्शन गरिएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका–५ टिकुलियाका संजय मुखियाका ५ वर्षीय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखियाको गत आइतबार मृत्यु भएको थियो । पुरानो रिसिवी साध्न सोही गाउँकै व्यक्तिले बालकहरुलाई विष खुवाई हत्या गरेको भन्दै पीडित परिवार र स्थानीयवासीहरुले दोषीलाई कारवाहीको माग गर्दै शव सहित प्रदर्शन गरेका हुन् । प्रदर्शनको कारण केही बेर गरुडा चन्द्रनिगाहपुर सडक खण्ड अवरुद्ध भएको थियो । यसै बीच प्रहरी र प्रदर्शनकारीबीच ईलाका प्रहरी कार्यालय गरुडामा भएको छलफलमा घटनाको अनुसन्धानगरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सहमति भएपछि प्रदर्शनकारीहरुले आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख श्रीराम भण्डारीले घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । वैदेशिक रोजगारीमा सउदीमा कार्यरत संजय मुखियाको दुबै छोराले शनिबार बिहान ८ बजेको समयमा आफनै घरको छेउमा खेल्दै गरेको अवस्थामा मुसा मार्ने औषधि खाएको थियो ।
औषधि खाएका दुबै नाबालकको अवस्था गंभीर भएपछि उपचारका लागि शिवनगर स्थित संजीवनी अस्पतालमा लगिएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि गरुडामा रहेको अनामिका अस्पतालमा रेफर गरिएको थियो । त्यहाँ पनि उपचार हुन नसक्दा वीरगञ्ज पु¥याइएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको परिवारजनले जनाएको छ । सहमति पछि परिवारजनले शव बुझेका छन् ।


