प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार निवासबाटै इजलास गठन गर्नुभएको छ ।
न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गर्नुभएको हो । उहाँले १० इजलासमा २७९ मुद्दाको पेसी तोक्नुभएको छ । तर प्रधानन्यायाधीश जबराले मंगलबार भने आफूलाई इजलासमा राख्नुभएको छैन ।
जबराको राजीनामा माग्दै नेपाल बार २३ दिनदेखि निरन्तर आन्दोलनमा छ । जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बारले धर्ना दिदै आएको छ । तर प्रधानन्यायाधीश जबरा धर्नालाई छलेर आइतबार र सोमबार कार्यालय प्रवेश गर्नुभएको थियो
सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान गर्न आह्वान गर्नुभएको थियो । तर त्यसलाई बारले अस्वीकार गरेको छ। उसले जबरासँग कुनै शर्तमा वार्ता नगर्ने बताएको छ ।

