२०७८ मंसिर १, बुधबार ०६:३१

गरुडा । रौतहट सहित तराई मधेशका जिल्लाहरुमा अहिले समा–चकेवा पर्वको रौनकता छाएको छ ।

प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि अर्थात पारणको दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म हर्षोल्लासपूर्वक महिलाहरुले यो पर्व मनाउने गर्दछन् । ‘गामके अधिकारी हमर बरका भइया हो, सामचको सामचको अइहाहो अइहाहो’जस्ता मैथिली लोक गीतसंगीतमा रमाउंदै समाचकेवाको रौनक देखिएकोछ । यो पर्वमा माटोबाट बनाईएको सामा र चकेवाका साथै विभिन्न चराको मूर्ति, दियो, चुगिला आदि एउटा सानो बासको डाला ( बाँसको सामान ) राखेर टाउको माथि राखी दिदीबहिनीहरु विशेषगरी रातको समयमा गीत गाउने यो पर्वको विशेषता रहेको छ । भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामा–चकेवा पर्व सहरी क्षेत्रमा लोप हुन थाले पनि ग्रामीण क्षेत्रमा अझै जीवन्तता कायम रहेको देखिएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकका रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानव लगायतका मूर्ति बनाएर पूजा अर्चना गरी मनाईने परम्परा रहिआएकोछ । अहिले तराईका अधिकांश गाउँमा र केही सहरमा पनि अबेर साँझ बालिका, किशोरी, युवती र महिलाहरू समूह–समूहमा बसेर विभिन्न भाईप्रति प्रेम,स्नेह झल्काउने किसिमको गीत गाउंदै सामा खेल्न व्यस्त हुने गरेको भेटिन्छ ।

दिदी बहिनीहरुले सामामा रमाउंदै दाजुभाइको दीघार्यूको कामना गर्ने गर्दछन् । खासगरी दाजुभाइसित सम्बन्धित यो पर्वमा माटोको कलात्मक मूर्तिहरु बनाइने गरिन्छ । मूर्ति बनाउन भाइटीकाकै दिन माटो ल्याएर यो पर्वको शुभारम्भ गरिन्छ । छठ पर्वको खरनादेखि मूर्ति बनाउने कार्य शुरु गरी कात्तिक पूर्णिमाको मध्यरात यो पर्व सम्पन्न हुने गरेको विशुनपूर्वा मानपुरकी मेनका यादवको भनाइ छ । माटोबाट बनाइएका मानव, पशु र चराको मूर्तिहरु काँचो अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु एवम मङ्गल कामना गर्ने यो पर्वले एक आपसमा सम्बन्ध प्रगाढ हुने धार्मिक एवम् सांस्कृतिक मान्यता रहि आएको छ ।

Comment


Related News

Latest News

Trending News