जनकपुरधाम । धनुषा र सिरहाको सीमामा अवस्थित पवित्र नदी कमला किनारमा लाग्ने भूत मेला पूर्णिमा स्नान गरी सम्पन्न भएको छ ।
कार्तिक पुर्णिमाको अवसरमा प्रत्येक वर्ष भूतमेला लाग्ने गरेको छ । कार्तिक पूर्णिमाको दिन कमला नदीमा नुहाउंदा तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास रहेको छ । यस अवसरमा प्रत्येक वर्ष हजारौ संख्यामा श्रद्धालु भक्तजनहरु कमला नदीको किनारमा प्रत्येक वर्ष घुंइचो नै लाग्ने गरेको छ । त्यस्तै,‘ भूतप्रेत’ बाट पिरोलिएकाहरूले नाचगान गर्दै कमलामा स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ भाग्ने र स्वस्थ्य हुने लोक मान्यता रहेको छ । शुक्रबार बिहान २ वजेदेखि नै श्रद्धालुभक्तजनहरु कमला नदीमा नुहाएका छन् । बिहीबार देखि नै कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, पुल, सिक्रौन, चतरी, बेलहा, बटेर्वा, बसबिट्टा र सीमावर्ती भारत जयनगरको कमला ब्यारेजमा स्नान गर्न गाउँ– गाउँ धामी झाँक्रीसँगै आएकाहरू हजारौँको संख्यामा भिड देखिएको छ ।
बिहीबार मेला भर्न पुगेका श्रद्धालुभक्तजनहरुले करताल लगायतका बाजागाजाको साथ रात्री जागरण गर्ने गरेका छन । मेलामा धनुषा सहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन् । शुक्रबार श्रद्धालुभक्तजनहरुले जनकपुरधाम पुगी पवित्र जलाशय गंगासागरमा स्नान गर्दै जानकी मन्दिरमा दर्शन गरेका छन । शुक्रबार भूत मेलाबाट घर फर्किने क्रममा जानकी मन्दिरमा दर्शन गर्ने श्रद्धालुभक्तजनहरुको भीड लागेको थियो ।


