२०७८ मंसिर ४, शनिबार १५:००

नेकपा एमाले महोत्तरीको महाधिवेशन प्रतिनिधि चयन अझै निष्कर्ष पुग्न सकेको छैन ।

अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लागि सक्दा पनि महोत्तरीमा भने महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षाहरूबीच विवाद लम्बिदै गएको छ । यसअघि एमालेको एक पक्षले प्रतिनिधि छनोट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ । तर, अर्को पक्षले भने असन्तुष्ट जनाउँदै आएको  छ । महोत्तरीमा एमालेका १७ हजार सात सय सदस्य छन् । चारवटै क्षेत्रबाट सदस्य संख्याको आधारमा ३० जनासम्म प्रतिनिधि चयन गर्नुपर्ने एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीको भनाइ छ ।

यता, नेकपा एमाले प्रदेश इन्चार्ज रघुवीर महासेठले प्रतिनिधि चयनमा कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले महोत्तरीको पनि सर्वसम्मत नाम आइसकेको जिकिर गरे । तर, एक पक्षीय ढंगले आफूखुसी नाम राखेर प्रदेशमा पठाएको अर्को पक्षको आरोप छ । महाधिवेशन नजिकिँदै गर्दा महोत्तरीमा के गर्ने भन्ने अन्यौल बढेको छ । इन्चार्ज महासेठले यदि विवाद भएको भए पुनरावलोकन गर्न सकिने पनि बताए ।

नेकपा एमालेले २७ कातिक भित्र देशैभरिबाट महाधिवेशनमा प्रतिनिधि चयन गरिसक्न निर्देशन दिएको थियो ।

Comment


Related News

Latest News

Trending News