२०७८ मंसिर ८, बुधबार ०७:२०

रौतहट । शान्तिका लागि साझा अभियानको सहयोग र साथसाथ सिकाई संजालको आयोजनामा रौतहट जिल्लामा बाल विबाहको अवस्था र हाम्रो दायित्व विषयमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगाहपुरमा मंगलवार सम्पन्न भएको छ ।

रौतहट जिल्लामा पछिल्लो समय देखि बढ्दै गएको बाल विबाह न्यूनीकरण गर्ने विषयमा सरोकारवाला बीच छलफल गरी कार्य योजना बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले रौतहटमा ३७ प्रतिशत बालविवाहको तथ्यांक रहेको बताउदै यसको नियन्त्रण गर्न आवश्यक रहेको जोड दिए । सचेतना तथा शिक्षाको कमीले समाजमा बाल विबाहको घटना बढ्दै गएकोले चेतनामूलक कार्यक्रम संचालन गरी नियन्त्रण गर्नु पर्ने सुझाव दिए । विहे होइन पढ्न पाउ भन्ने नाराका साथ विद्यालयमा अध्ययन गर्ने बाल वालिका , शिक्षक ,शिक्षिका ,अभिभावकहरु वीच अन्तरक्रिया गरी बाल विवाह गर्नु कानुनी अपराध रहेको विषयमा जानकारी गराउनु पर्ने धारणा व्यक्त गरे । शान्तिका लागि साझा अभियानका प्रदेश सचिव देवकी नेपाल बाल विवाह गर्नु सामाजिक अपराध रहेकोले बाल विवाह नगर्न सवै सित आग्रह गरे । सानो उमेरमा विवाह गर्दा मानसिक र शारीरिक रुपमा असर पर्नुको साथै कानुनी कारवाही हुने भएकोले छोरा छोरीको २० वर्ष पछि विवाह गर्नु पर्ने सुझाव दिए । शारीरिक विकास पूर्ण रुपमा नभएको कारण कम उमेरमा विवाह गर्दा बाल मृत्यु दर बढ्ने, महिलाको मृत्यु हुने खतरा समेत रहेको प्रस्ट पारे ।

उनले बाल विवाह गर्नेको विरुद्ध प्रहरीलाई उजुरी समेत गर्न आग्रह गरिन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहले बाल विवाह कानुनी अपराध अन्तर्गत पर्ने भएकोले यस्तो कार्य गर्ने गराउने समेतलाई दण्ड सजाय जरिवाना हुने बताए । इलाका प्रहरी कार्यालयमा अहिले सम्म एउटा पनि बाल विवाह सम्वन्धी मुद्दा दर्ता नभएको जानकारी दिदै यस्ता घटना समाजमा नै दबाउने गरेको बताए । जनचेतनाको कमीको कारण बाल विवाहको घटना बढ्दै गएको निष्कर्ष उनको रहेको छ । बाल विवाह गर्दा ३ बर्ष कैद र ३० हजार जरिवाना हुने कानुनी प्रावधान रहेको जानकारी समेत गराए । कमला ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागी भएका महिला अधिकारकर्मी ,संचारकर्मीहरुले बाल विवाहबाट उत्पन्न हुने समस्या , पर्ने असर र नियन्त्रण गर्न गर्नु पर्ने क्रियाकलाप बारे आ–आफ्नो सुझाव दिएका थिए ।

Comment


Related News

Latest News

Trending News