सप्तरी । आवश्यक जानकारी र ज्ञानको अभावमा बजार अनुमगनको क्रममा अनावश्यक दुःख व्यहोर्नु परिरहेको भन्दै जिल्लाका उद्योगी व्यवसायीहरुले अनुमगन पूर्व जागरुकता अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।
आवश्यक जानकारी र ज्ञानको लागि जनचेतनामूलक कार्यक्रममा उद्योगीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । बिहीबार ७ औं उद्योग दिवस २०७८ को अवसरमा घरेलु तथा साना उद्योग कार्यालयले उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लालुप्रसाद अग्रवालले जिल्लाका ८० प्रतिशत व्यापारी स–साना र मझौला खालका रहेको र ती मध्ये अधिकांशलाई नयाँ कर प्रणाली, पसल र उद्योग दर्ता नवीकरण, ढक तराजुको नवीकरण सहितका प्रक्रिया बारे जानकारी नरहंदा अनावश्यक दुःख भोग्ने वातावरणको अन्त्य हुन जरुरी रहेको बताए । अध्यक्ष अग्रवालले यस्ता समस्याको निराकरण गर्न स्थानीय प्रशासन, सरोकारवाला र उद्योग बाणिज्य संघको संयुक्त पहलमा अनुमगन पूर्व व्यवसायीहरुमा सचेतना फैलाउन अभियान चलाउनु पर्नेमा जोड दिए । अभियान सकिएको केही अन्तरालपछि अनुमगन गर्दा आवश्यक कानूनी प्रक्रिया पूरा नगर्ने व्यापारीहरुलाई कारवाही गरे आफूहरुको कुनै आपत्ति नरहने उनले प्रष्ट पारे । उनले किसान, उद्योगी र व्यवसायी सबल नभएसम्म मुलुक सबल नहुने तर्क प्रस्तुत गर्दै यसका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारसँग माग पनि गरे ।
संघका नवनिर्वाचित महासचिव अमृत संचेतीले बजारमा अनुगमन टोली पुग्दा आवश्यक ज्ञानको अभावमा त्रसित भई केही पसलेहरु सटर बन्द गरी हिड्ने गरेकोले यस्तो अवस्था आउन नदिन उनीहरुलाई आवश्यक तालिम र ज्ञान दिई जागरुक बनाउनु पर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष साह, उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव शत्रुघन देव, नागरिक संजालका अध्यक्ष सुखराम यादव, वडा अध्यक्ष जयनारायण मण्डल लगायतले आ–आप्mनो धारणा राखेका थिए ।


