अपडेट 
२०७८ मंसिर १२, आईतवार ०७:३८

नेपाली कांग्रेसको राजनीतिमा विमलेन्द्र निधि सुपरिचित पात्र हुन् । विद्यार्थी राजनीतिदेखि लागेका निधिको योगदानको विषयमा कतै कसैले औला ठड् याउने अवस्था छैन् । कांग्रेसको संगठन निर्माणमा पनि उनी कम्ति योगदान गरेका होइनन् । पार्टी संगठनमा निधिको पहुँच देशको ७७ वटै जिल्लामा छ । उनी अहिले कांग्रेस पार्टीको उपसभापति हुन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पछि वरियतामा तेस्रो हुन् । उनले हालसम्म संगठन अथवा सरकारमा पाएको जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गरेका छन् ।

पार्टीको दोस्रो सर्वाधिक उच्च र सरकारको दोस्रो वरियतासम्म पुगिसकेका निधिका लागि अब पार्टीमा सभापति र सरकारमा प्रधानमन्त्री बन्न मात्र बाँकी छ । संयोगले अहिले सरकारको नेतृत्व कांग्रेस पार्टीकै सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । सरकारको प्रधानमन्त्रीमा यो कार्यकालसम्म निधिको दाबी प्राविधिक कारणले पुग्दैन् । उनले सभापतिका लागि गरेको दावेदारीमा कुनै कमी कमजोरी कसैले झिक्न सहज छैन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको रुपमा निधि काम गर्ने अवसर शेरबहादुर देउवा पछि नै पाएका थिए । अहिले पनि सभापति देउवा पछि उनी दाबी गरेका छन् । कांग्रेस पार्टीमा देउवाले चलाएको गुटलाई सशक्त बनाउने काम निधिले नै गरे । देउवालाई प्रधानमन्त्री र पार्टी सभापति बनाउन निधिको भूमिका अत्यन्त महत्वपूर्ण थियो । देउवालाई दुबै जिम्मेवारीमा पु¥याउन निधिले ठूलो गुण नै लगाएका हुन् । हुनत कांग्रेस पार्टीका नेताहरु बैगुणी नै हुन् । प्रधानमन्त्रीको पदलाई ठाडो अस्वीकार गर्ने कांग्रेस पार्टीका सर्वोच्च नेता गणेशमान सिंहसित नेताहरुले गरेका व्यवहार धेरैले देखेकै छन् । कृष्णप्रसाद भट्टराईको त्यागको देशले मूल्यांकन गरे पनि कांग्रेसका नेताहरुले मानमर्दन नै गरे । अहिले कांग्रेस पार्टीमा निधि एक्लो वृहस्पति बनेका छन् । सभापतिका लागि चाहिने सम्पूर्ण योग्यता भए पनि उनी खेदिदै छन् । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा निधि लगायत सभापतिका प्रत्याशी अन्य कयौं नेताहरु छन् । सभापति देउवा पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । देउवा भन्दा फरक पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिमा उम्मेदवारी दिन समूह निर्माणमा जुटेका छन् ।

पौडेल समूहबाट नै उम्मेदवारी दिन डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला पनि उम्मेदवारको रुपमा प्रस्तुत भइरहेका छन् । सभापतिका प्रत्याशी सबैले प्यानल सहित उम्मेदवारी दिने दाबी गरेका छन् । निधिले पनि त्यो दाबी गरेका छन् । तर उनको प्यानलमा बस्ने नेताहरुले अन्य प्यानलहरुमा स्थान नपाएका मात्र हुनेछन् । निधिलाई प्यानल बनाउन पनि ठूलै चुनौती छ । उनीसित सहकार्य गर्न नेताहरु सहमत छैनन् । १३ औं महाधिवेशन सम्म देउवा गुट हाँक्ने निधि अहिले एक्लिएका छन् । उनीसित कोही नेता खुलेका छैनन् । खुल्न चाहेका पनि छैनन् । त्यसको प्रमुख कारण नेता निधि मधेशी हुन् । निधिका पिता महेन्द्रनारायण निधिले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेका योगदान अतुलनीय छ । तर उनको तस्वीर धनुषा जिल्ला कै कांग्रेसका विभिन्न निकायका पोष्टरहरुमा देखिएन् । गणेशमान सिंह, कृष्णप्रसाद भटट्राई, गिरिजा प्रसाद कोइराला लगायतका तस्वीर राखेर प्रदेश २ का जिल्लाहरुमा विभिन्न तहको अधिवेशन गरिएको छ । देशभरिकै अधिवेशनहरुमा स्व. निधिको तस्वीर हुनु पथ्र्यो । तर प्रदेश २ मा मात्र नभै धनुषामा समेत उनको तस्वीर अंकित पोष्टर देखिएन् । २०४६ सालको माघ पहिलो हप्ता गणेमान सिंहको काठमाण्डु चाक्सीबारीस्थित निवासमा भएको सम्मेलनमा नेपाली कांग्रेसको नेतृत्वमा ७ वामको सहभागिता गराइएको थियो । तर गजेन्द्रनारायण सिंह नेतृत्वको तत्कालीन सद्भावना परिषदलाई सहभागिताबाट स्व. निधिले नै रोकेका थिए । सद् भावनाको सहभागिताले सम्प्रदायिक तत्वको प्रवेश हुने उनको कथन थियो । कांग्रेस उपसभापति निधि संविधान जारी हुने दोस्रो संविधान सभामा सभासद थिए । उनले चाहेको भए मधेशको अधिकार समेत समेटिएर संविधान जारी हुन सक्थ्यो । कांग्रेस पार्टीका प्रभावशाली तत्कालीन नेता निधिको निर्णयलाई एमाले, माओवादी लगायतका मधेशी नेताहरुले कुरिरहेका थिए ।

मधेशी दलका नेताहरु त संविधान सभाको बैठक नै बहिष्कार गरी बाहिर निस्केका थिए । तत्कालीन अवस्थामा नेता निधिले मधेशको अधिकारलाई संविधानमा सम्वोधन गर्नु पर्ने अडान लिएको भए वर्तमान संविधानमा त्यो हुन्थ्यो । हुनत प्रारम्भमा उनी पनि मधेशको हक अधिकार संविधानमा सुनिश्चित हुनुपर्ने पक्षमा थिए । तर अन्तिम समयमा उनले मधेश विरोधी खेमालाई नै खुलेर सघाए । परिणाम स्वरुप मधेशीको हक अधिकार खोसिएको संविधान जारी भयो । नेता निधिले मधेशी विरोधी जुन भूमिका निर्वाह गरे, त्यसको प्रतिफल अहिले उनले भोग्नु परिरहेको छ । कांग्रेस पार्टीमा अब्बल रहे पनि उनी मधेशी भएकै कारण चौतर्फी आक्रमणमा परेका हुन् । निधिलाई प्रदेश २ मात्र नभै उनको गृह जिल्ला धनुषामै कमजोर बनाउन सबै नेता लागेका छन् । त्यसको परिणाम देखिएको पनि छ । निधि स्वयंले पनि प्रदेश २ मा मलाई कमजोर बनाउन सबै भन्दा बढी आक्रमण भएको अभिव्यक्ति दिएर प्रष्ट गरिसकेका छन् । सभापतिमा निधिले सर्वाधिक मत प्रदेश २ बाट पाउने विश्वास गरेका थिए । तर उनको त्यो विश्वास अहिले नै डगमगिएको छ । दशकौं देखि राजनीतिमा सहयोगी रहेका निधिका कयौं महत्वपूर्ण नेताहरुले खेमा परिवर्तन गरिसकेका छन् । निधिलाई तल्लो निकायमै कमजोर बनाएर सभापतिको दौडमा सम्मानजनक अवस्था समेत रहन नदिने परिस्थिति सृजना गरिएको छ । लोकतान्त्रिक पद्धतिमा चुनावलाई सामान्य प्रकृया मानिन्छ । हारजीतलाई पनि सहज रुपमा स्वीकार गरिन्छ । नेता निधिले पनि त्यो आदर्शलाई आत्मसात गर्ने नै छन् । सम्पूर्ण जीवन नै कांग्रेस पार्टीमा लगाएका निधिलेपनि मधेशी भएको पीडाबोध अब गरिरहेका होलान् । उनी भन्दा केही वर्ष पूर्व नै महन्थ ठाकुर लगायतका नेताहरुले त्यो उपेक्षाको अनुभूति गरिसकेका थिए । मधेशको सबालमा कांग्रेस, एमाले, माओवादीमा कुनै भिन्नता नरहेको निधिले पक्कै पनि नबुझेका छैनन् होला ।

कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुमा मधेशप्रतिको बुझाईमा समानता छ । उनीहरु मधेश र मधेशी नेताहरुलाई अनुकूल समयमा उपयुक्त ढंगले उपयोग गर्न जानेका छन् । मधेशी नेताहरु पनि त्यसमा रमाएकै कारण मधेशी नागरिक पीडामा छन् । मधेशको पीडा मधेशी नेताहरुको कारण नै घटिरहेको छैन् । मधेश केन्द्रित राजनीति गर्ने दलहरुको अवस्था कमजोर हुनुमा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुमा रहेका मधेशी नेताहरु नै प्रमुख हुन् । कांग्रेस पार्टीमा विमलेन्द्र निधि भन्दा वरिष्ठ र जानकार नेताहरुको संख्या एक हातको औंला भन्दा पनि कम छ । तर पनि उनलाई अवसरबाट वञ्चित गरिदैछ । देउवालाई अगाडि बढाउन सदैव लागेका निधिलाई अहिले देउवाले दुधको झिंगा झै फालेका छन् । कांग्रेस पार्टीमा निधिले आफ्नो राजनीतिक जीवनको अत्यन्त महत्वपूर्ण तर कठिन घडीमा छन् । उनी सभापतिको चुनावमा सम्मानजनक मत ल्याउने अवस्था पनि कमजोर हुँदै गइरहेको छ । कांग्रेस पार्टीलाई देशको नम्बर १ बनाउन सक्ने सामथ्र्य निधिमा छ । तर उनी मधेशी छन् । त्यो अवसर उनले पाउन सक्दैनन् । नेता निधि सभापति हुन नसके केन्द्रीय सदस्य भएर वस्नु पर्ने बाहेक विकल्प छैन् । अन्य नेताहरु जस्तो उनको देशव्यापी गुट पनि बन्न सक्दैन् । समयमै निधिले चेतेको भए आज उनले मधेशी भएको पीडा भोग्नु पर्ने थिएन् । कांग्रेस पार्टीले उनको महत्व र आवश्यकतालाई स्वीकार गर्न बाध्य हुनुपथ्र्यो । तराई मधेशमा कांग्रेसले गुमाएको साखलाई निधिले फर्काउन सक्थे । तर उनी समयमा चुकेको कारण कांग्रेस भित्र समेत उपेक्षित हुनु परेको छ ।

देउवाको प्रमुख सहयोगीको भूमिकामा रहँदा निधिका वरिपरि रहने गरेका नेताहरु अहिले दूरदृष्टिले हेर्दा पनि देखिदैन् । त्यसको जिम्मेवार उनी स्वयं हुन् । अन्य दलमा रहेका अथवा कांग्रेसमै रहेका मधेशी नेताहरुले निधिको स्थितिबाट पाठ सिक्नु पर्ने अवस्था छ । तराई मधेशमा मधेशवादी दलहरु बलियो नभएसम्म अन्य दलहरुमा रहेका मधेशी नेताहरुको मूल्यांकन र सम्मान हुने छैन् । यो यथार्थ हो ।

https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=11s

Comment


Related News

Latest News

Trending News