जिल्लामा वडा, गाउं र नगरको अधिवेशन सकिएपछि अहिले प्रदेशसभा क्षेत्रीय अधिवेशन र कार्य समिति छनौट गर्ने क्रम जारीरहेको छ ।
सप्तरीको ४ नं. क्षेत्र बाहेक सबै क्षेत्रमा सोमबार सम्ममा वडा, गाउं, नगर र प्रदेशसभा क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भइसकेको छ । कतै सर्वसम्मत र कतै निर्वाचनबाट नेतृत्वको टुङ्गो लगाइएको छ । पछिल्लो पटक सप्तरीको क्षेत्र नं. २ को क को प्रदेशसभा क्षेत्रीय कार्य समितिको चयन गरिएको छ । यहां सहमति हुन नसक्दा निर्वाचन प्रणालीद्वारा नयां कार्यसमिति चयन गरिएको कांग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जनाए । सोमबार विहान घोषित मतगणना परिणाम अनुसार प्रदेशसभा क्षेत्रीय क को सभापतिमा संस्थापन पक्षका महेन्द्र यादव समूहसहित निर्वाचित भएका छन् । यादवले १ सय ६८ मत पाउंदा निकटतम प्रतिद्वन्दी संस्थापन इतर पक्षका ऐनेश्वर दासले ९२ मत मात्र प्राप्त गरे । कूल ८ प्रदेश सभा क्षेत्रीय कार्यसमिति रहेको जिल्लामा हालसम्म ६ वटाको अधिवेशन सम्पन्न भएको छ । सो मध्ये संस्थापन पक्षका ४ र संस्थापन इतर पक्षीय २ जना सभापतिले जित हात पारेका छन् । सप्तरीको ४ नं. प्रदेशसभा क्षेत्रको क र ख मा भने विवादका कारण अहिलेसम्म अधिवेशन हुन सकेको छैन् ।
संस्थापन पक्षका जिल्ला सभापति समेत रहेका दिनेश यादव र संस्थापन इतर पक्ष भनिएका संघीय सांसद तेजुलाल चौधरीबीच प्रतिष्ठाको लडाई देखिएका कारण अधिवेशन स्थगित भएको हो । सभापति यादव पक्षले हालै सम्पन्न वडा, गाउं र नगर अधिवेशन कै आधारमा प्रदेश क्षेत्रीय अधिवेशन गर्नु पर्ने भन्दै आएका छन् भने चौधरी पक्षले केही ठाउंको अधिवेशन पुनः गराएर मात्र प्रदेशसभा क्षेत्रीय अधिवेशन गराउनु पर्ने अडान राखेका छन् । जिल्ला निर्वाचन अधिकारी डा. रुद्र प्रसाद शर्माले विवाद समाधान गरी एक दुई दिनमै त्यस क्षेत्रको पनि अधिवेशन सम्पन्न गराउन प्रयासरत रहेको बताए ।


