चितवन । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । ओली कूल खसेको दुई हजार ९६ मध्ये एक हजार आठ सय ४० मत प्राप्त गरी निर्वाचित भएका छन् । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । यही मंसिर १० गतेदेखि चितवनको सौराहामा सुरु भएको महाधिवेशनमा सोमवार राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गरे । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदानका कारण गणना छिटै भएको हो । निर्वाचनमा कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको देखिएको छ । अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनको बन्दसत्रको पहिलो दिन मंसिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिइएका थिए । अध्यक्ष ओलीले विभिन्न नेताहरूसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको थियो ।
निर्वाचन परिणाम स्वीकार छु : नेता रावल
नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा सम्पन्न एमालेको दशौँ महाधिवेशनमा मंगलवार निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि उनले सो प्रतिक्रिया दिएका हुन । निर्वाचन परिणाम जे आए पनि तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ छ । रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेर आपूm पराजित भए पनि स्वीकार भएको बताए । प्रतिस्पर्धामा पराजित भए पनि आफू केन्द्रीय समितिमा नरहने उनले घोषणा गरेका छन् । अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३ सय १ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो । उनले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको पनि प्रष्ट पारे । एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रूपमा राखिएको थियो । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पारे । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताए ।
महासेठको मत सबै भन्दा कम
नेकपा (एमाले)ले मधेशीलाई समेत यस पटक पदाधिकारीमा मौका दिएका रघुवीर महासेठले सबै भन्दा कम १५ सय मत ल्याएर विजयी भएका छन् । महासेठ संग सचिवमा उम्मेदवारी दिएका गोकर्ण विष्ट सर्वाधिक १९ सय ७४ मत ल्याएका छन् भने योगेश भट्टराई १९ सय ६०, टोपवहादुर रायमाझी १८ सय ४, छविलाल विश्वकर्मा १८ सय ३, पद्यमा अर्याल १७ सय ९९ मत ल्याएर विजयी भएका छन् । महासेठ विजयी भएकाहरु मध्ये सवै भन्दा कम १५ सय मत ल्याएका छन् भने अध्यक्षमा केप ीओली संग पराजित भएका डा. रावलका उम्मेदवार भीम आचार्यले ७ सय ८८ र टंक कार्की ५ सय ५९ मत ल्याएका छन् । महासेठ बिजयी अध्यक्ष केपी ओली प्यानलवाट उम्मेदवार थिए ।
महाधिवेशनले पारित गरे १७ प्रस्ताव
नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १० गते सुरु भएको एमाले १० औं महाधिवेशन मंसिर १४ गते सम्पन्न गर्ने क्रममा उक्त प्रस्ताव पारित गरेको हो । चितवनको नारायणी नदी किनारमा १० गते उद्घाटन भएर ११ गतेबाट सौराहामा बन्दसत्र चलेको थियो । उक्त बन्दसत्रले नयाँ नेतृत्व चयन गरेको छ ।
दम्भ र अहंकार नदेखाउन नवनिर्वाचित सदस्यलाई ओलीको निर्देशन
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनशील हुन, दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिएका छन् । पार्टीको दशौं महाधिवेशन अन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै ओलीले सो निर्देशन दिएका हुन् । पुराना नेताले असल तौर तरिकाका साथ नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए । उनले नवनिर्वाचित सबैलाई चनाखो ढंगले अध्ययन गर्न, परिस्थिति र विषयलाई विश्लेषण गर्ने क्षमताको विकास गर्न सुझाव पनि दिए । ‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलीबचन अपनाउने भनेर अरु पार्टीका मानिसले अनुशरण गर्ने खालको हुनुपर्छ,’ उनले भने, ‘हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुनु हुँदैन । अहंकारी मान्छे नेता हुँदैन, नेता भएपछि अहंकारी हुनु हुँदैन ।’ नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले पार्टीमा अनुशासन उल्लंघन सह्य नहुने बताएका छन् । उनले अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई विशेष निर्देशन दिँदै यस्तो बताएका हुन् । ‘पार्टीभित्र अनुशासनको स्थिति के छ, अनुशासन उल्लंघन भएमा तिनलाई हटाउन के कस्ता उपाय अपनाउने, अनुशासन उल्लंघन हुन लाग्दा पनि सचेत गराउने काम दृढताका साथ गर्नुपर्छ,’ उनले भने । पार्टीमा अनुशासन कायम गर्ने कुरामा दृढताका साथ कदम चाल्न निर्देशन दिँदै उनले भने, ‘अनुशासन उल्लंघन सह्य हुन सक्दैन । अनुशासन बिनाको पार्टी बजारमात्र हुन्छ, पार्टी हुँदैन ।’ उनले अब तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने पनि जानकारी दिए । त्यो एकीकरण पार्टी–पार्टीबीच नभई कार्यकर्ता एकीकरणको अभियान हुने उनले प्रस्ट पारे । उनले भने, ‘विभिन्न पार्टीबाट कार्यकर्ता ल्याउनुपर्छ र पार्टीमा प्रवेश गराएर यो पार्टीलाई माथि उठाउनु पर्छ ।’


