नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय राय यादवले मधेश आन्दोलन लगायत विभिन्न संघर्षको बलमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि संकट कायम रहेको बताएका छन् ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका–६ माधोपुर बजारमा जनता समाजवादी पार्टी नेपाल नगर कार्य समितिले आयोजना गरेको १४ औ अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांगहरुलाई सम्मान तथा सामग्री वितरण कार्यक्रममा मन्त्री यादवले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको प्रति सचेत र सजग रहनु पर्ने अहिलेको आवश्यकता रहेको बताए । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलन , माओवादी जनयुद्ध ,आदिवासि, थारु आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाइ समाप्त पार्ने उदेश्यले दुइ पटक संसद विघटन गरेको उल्लेख गर्दै नेपालमा संघीयतालाई जोगाउने कार्य पांच दलीय गठबन्धनले गरेको जिकिर गरे । मन्त्री यादवले बढ्दै गएको तापक्रमको कारण जलवायु परिवर्तनले मानव अस्तित्वमाथि खतरा रहेकोले वातावरण जोगाउन वृक्षारोपण गर्नु पर्नेमा जोड दिए । जलवायु परिवर्तनको विषयलाइ लिएर संसार भरिका देश चिन्तित रहेको बताउंदै विकसित मुलुकले अविकसित मुलुकलाइ सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको जानकारी गराए । उनले विगतमा भएको अतिवृष्टिको कारण किसानहरुलाई थुप्रै क्षति भएको उल्लेख गर्दै चुरे समरक्षण गर्न सरकार गम्भीर रहेको बताए । आम नागरिकलाई सहज रुपमा काठ उपलव्ध गराउने उदेश्यले २०५१ को नियमावली संशोधन गर्ने तयारी गरिएको जानकारी समेत गराए । नियमावली संशोधन भएमा आम नेपाली जनताले सहज रुपमा घरमा प्रयोग गर्ने काठ पाउन सक्ने उनको भनाइ थियो । युगौं देखि शासन गर्दै आएका नेपाली कांग्रेस नेकपा एमालेले मधेशी जनता ,आदिवासि , दलित ,महिला , अपाङ्ग , मुस्लिम , अल्पसंख्यक वर्ग समुदायलाई अधिकारबाट बञ्चित गरी मतको लागि प्रयोग मात्र गर्ने गरेकोले जनता समाजवादी पार्टी नेपाललाइ आगामी निर्वाचनमा पूर्ण रुपमा सहयोग गर्न अपिल समेत गरे ।
प्रदेश सरकारका कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले नेपाली कांग्रेस , नेकपा एमाले र माओवादीले मधेश र मधेशी समुदाय संग विभेद गर्दै आएकोले त्यसलाई सहयोग नगर्न आग्रह गरे । विकास र अधिकारको लागि जनता समाजवादी पार्टी नेपाल एक मात्र विकल्प रहेको दाबी समेत गरे । प्रदेश सरकारका विकास समितिका सभापति एवं प्रदेश सांसद अब्बुल कलम आजद फुलबाबूले प्रदेश सरकारले गर्दै आएकों लोकप्रीय कार्यलाइ देखेर विपक्षी पार्टीका नेताहरुले प्रदेश सरकारलाइ बदनाम गराउने षड्यन्त्र गरेको आरोप लगाए । बेटी पढाउ ,बेटी बचाउ कार्यक्रमलाई बद्नाम गराउने उदेश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छापामारी गराउने कार्य गरिएको सांसद आजादले तर्क गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राम निवास यादव , रेवन्त झा , चुल्हाई राय यादव , गौर नगरपालिकाका उपप्रमुख किरण कुमारी ठाकुर , विन्देश्वर यादव , केन्द्रीय सल्लाहकार समितिका सदस्य राघोराय यादव , प्रदेश सदस्य एवं माधवनारायण नगरपालिकाका प्रमुख वीरेन्द्र प्रसाद यादव लगायतकाले आ– आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अपांग हरुलाई ट्राई साइकल , सांकेतिक स्टिक , बैशाखी ,कम्बल सहितका सामग्री वितरण गरिएको थियो ।
वितरणमा विभेद भएको भन्दै अपांगहरुले नारावाजी गर्दै विरोध समेत गरेका थिए । यस अघि वन तथा वातावरण मन्त्री यादवले सोही वडामा निर्माण हुने रामजानकी मन्दिरको शिलान्यास समेत गरेका छन् ।


