२०७८ मंसिर १५, बुधबार ०७:३५

जयनगर–कुर्था रेल संचालनको लागि आवश्यक कानून निर्माणको कार्य छिट्टै थालनी हुने भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मंगलबार जनकपुर जयनगर रेल्वे ट्रयाक निरीक्षण गर्ने क्रममा संचारकर्मीसंग उक्त जानकारी गराउंदै आवश्यक कानून निर्माणको प्रक्रिया सात दिन भित्रै पूरा गरिने प्रष्ट गरिन् । उनले भनिन्,‘ कानून बन्न अब धेरै समय लाग्दैन,म आजै काठमाण्डु गइ प्रक्रियागत कागजपत्रमा हस्ताक्षर गर्छु ,अध्यादेशको कार्य करिब–करिब पूरा भइसकेको छ।’ विभिन्न प्रकारको समस्याको कारण रेल सेवा ठप्प भइ संचालनमा आउन नसकेको बताउंदै मन्त्री यादवले भौतिक पूर्वाधार मन्त्रालय र रेल्वे विभागसंग समन्वय गरी आइतबार नै मन्त्रालयमा अध्यादेशको लागि पेश गरेको जानकारी दिइन् । आज नै काठमाण्डुबाट आफूलाई कानूनी प्रक्रियाका कागजपत्रमा हस्ताक्षर गर्नको लागि खबर आएपछि तराइ मधेशको दुई दिने भ्रमण स्थगित गरी आजै काठमाण्डु जान लागेको बताइन् । जनताको चाहना अनुरुप चांडै रेल संचालनमा ल्याउने योजना रहेको बताउंदै उनले ३५ किलोमिटर रेल सञ्चालनका लागि गृहकार्य गरिरहेको र सोको लागि कर्मचारीको व्यवस्थापनको प्रक्रिया समेत अघि बढाएको उनले जानकारी दिइन् ।

नेपाल र भारतको मित्रतावद्ध प्रतिवद्धताले रेल संचालन छिट्टै हुनेमा आफू विश्वस्त रहेको चर्चा गर्दै उनले भनिन्,‘नेपालमा रेल संचालनको लागि भारत अति नै इच्छुक रहेको छ । तपाईहरु रेल चलाउनुस हामीले सहयोग गर्छौ।’ मन्त्री यादवले यसै पटक रेल चलिहाल्यो भने हाम्रो सौभाग्य हुने बताउंदै यस पछि हामीले निजगढ,बर्दिवास र त्यहाँबाट काठमाण्डु सम्म लग्ने हाम्रो सपना पूरा हुने विश्वास प्रकट गरिन् ।पूर्वाधार निर्माणदेखि रेल संचालनमा बजेट लगायतका समस्या देखिएको स्वीकार गर्दै उनले महाप्रबन्धकलाई कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिइन् । यसैबीच धनुषा र सिरहा जोड्ने हुलाकी सडक खण्ड अन्तर्गतको कमला नदीमा रहेको भत्केको पुल समेत मन्त्री यादव सहितका टोलीले निरीक्षण गरेकी छिन् ।

Comment


Related News

Latest News

Trending News