जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको पौने दुइ लाख भन्दा माथिको लत्ता,कपडा नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनौजी गाउंपालिका–४ सडकखण्डबाट भन्सार छलेर ल्याइएको पांच पोका सुती साडी तथा बच्चाले लगाउने कपडा सहितका १ लाख ८९ हजार २ सय ५० मूल्य बराबरको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो । ज. ९ प.७२६९ नम्बरको मोटरसाइकलमा ल्याइएको सामानहरु वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । त्यसैगरी सोमबार जनकपुरधाम उपमहानगरपालिका–२३ बेलापुलबाट भन्सार छलेर ल्याएको लह्ठी चुरा लगायतको १३ हजार ९ सय ५० मूल्यको सामानहरु जिप्रका धनुषाबाट खटेको टोलीले नियन्त्रणमा लिएको छ । त्यस्तै कदम चोकबाट ३ हजार मूल्यको किरानाका सामानहरु नियन्त्रणमा लिएको जिप्रका धनुषाले जनाएको छ । नियन्त्रणमा लिइएको सामानहरु आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ । धनुषा जिल्लाको विभिन्न नाका भई अहिले दैनिक रुपमा तस्करी बढेको छ । प्रहरी प्रशासनको लापरवाहीका कारण अहिले भन्सार बुझाएर सरसामान ल्याउने भन्दा बढी तस्करीकै बाटो अपनाउनेहरु बढी भएका छन् ।
प्रहरीको सेटिङ्गमै उनीहरु भारतवाट सामानहरु ल्याउने गरेको छ । प्रहरीले साना व्यवसायीहरुको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाउने गरेको भएपनि मध्य रातमा ठूला तस्करहरुको तस्करीको लाइन खुल्ने गरेका छन् । भन्सार सम्म जोडिएको बाटोमा ठूला देखि साना सवारीसाधनमा सामान ल्याउनेहरुको कमी छैन् ।


