जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ ।
अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया भने अनिश्चित छ । प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो । अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले शुक्रबारसम्म जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने जानकारी पाएको बताए । शुक्रबार जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भए शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने उनले बताए । शनिबार मतदाता नामावली प्रकाशन, त्यसमाथिको दाबी विरोध, उम्मेदबारी दर्ता र त्यसमाथिको दाबी बिरोधका कार्यक्रम निर्धारण गरिएको रिजालले बताए । त्यसपछि आइतबार निर्वाचन गराइने उनले जानकारी दिए । ‘शुक्रबारसम्म बाँकी रहेका जिल्लामा क्षेत्रीय अधिवेशन हुनेमा विश्वस्त छु’ उनले भने, ‘यदि हुन सकेन भने त्यस अनुसारको प्रक्रिया अगाडि बढाउँछौं ।’
प्रदेश सभापतिमा चार जनाको आकांक्षी
पहिलो पटक हुन गइरहेको कांग्रेसको प्रादेशिक अधिवेशनमा नेतृत्वका लागि संस्थापन र संस्थापन इतरका एक भन्दा बढी नेताले आकांक्षा देखाएका छन् । धनुषाका पूर्वसभापति रामसरोज यादव, महोत्तरीका महेन्द्र राय, सप्तरीका सभापति दिनेश यादव र रौतहटका कृष्णा यादवले प्रदेश समितिको सभापतिमा आकांक्षा राखेका छन् । धनुषाका पूर्वसभापति रामसरोज प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री समेत हुन् । उनी यसअघि जिल्ला विकास समितिको सभापति र संविधानसभा सदस्य पनि भइसकेका छन् । सप्तरीका सभापति यादव पनि जिल्ला विकास समितिका सभापति भइसकेका छन् । उनी अहिले दोस्रो पटक जिल्लाको सभापतिमा छन् । महोत्तरीका सभापति महेन्द्र राय चार पटक जिल्ला सभापति भइसकेका नेता हुन् । उनी २०५६ सालमा महोत्तरी क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री पनि बनेका थिए । रौतहटका कृष्णा यादव पनि दोस्रो पटक सभापति भइसकेका व्यक्ति हुन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा उनी संविधानसभा सदस्य थिए । प्रदेश सभापतिका लागि आकांक्षी देखिएका यी चारै जना पार्टी सभापति देउवा पक्षका भएपनि प्रदेश मन्त्री रामसरोज र सप्तरी सभापति दिनेश यादव उपसभापति विमलेन्द्र निधि निकट मानिन्छन् । बिहीबार शुरु भएको अधिवेशनको पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमले उद्घाटन गरे । यसपछि पार्टी उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
कांग्रेसका १६ जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपछि हुने
नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीवार बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार गर्ने निर्णय गरेको छ । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरि सकेको छ भने १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् । पार्टीको क्रियाशील सदस्यतालगायतको विवादका कारण सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर (बर्दघाट सुस्तापूर्व), बाँके, अछाम, कैलाली, तथा प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ । यसबाहेक कांग्रेसले महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ । साथै देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश नं २ को अधिवेशन जनकपुरधाममा, वाग्मती प्रदेशको अधिवेशन हेटौँडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा भई रहेको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश अधिवेशनले सातवटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ ।
https://www.youtube.com/watch?v=xNBK3xiGYD4


