अपडेट 
२०७८ मंसिर १८, शनिबार ०८:०६

अहिले मुलुकमा महाधिवेशनको माहौल छ । प्रतिनिधिसभाको सबभन्दा ठुलो दल नेकपा एमाले चितवनमा आफ्नो १० औं महाधिवेशन सकेर केन्द्रिय पदाधिकारीसहित केन्द्रिय समिति गठन गरी सकेको छ । नेपाली कांग्रेस १४ महाधिवेशनको अन्तिम तयारीमा छ । आधा अधुरा भएपनि पार्टी महाधिवेशनको औपचारिकता निर्वाह गर्न पार्टीका नेता कार्यकर्ताहरु लामवद्ध देखिएका छन् । यसै महिनाको अन्तिम साता काठमाण्डौमा नेकाको महाधिवेशन आयोजन हुदैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन काठमाण्डौमा चल्दैछ । नेतृत्व चयन गर्ने अन्तिम अभ्यास हुदैछ । यस बीच इलेक्शन होईन , सेलेक्शन मार्फत जनता समाजवादी पार्टीले प्रदेश २ कमिटी चयन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी अनुसार भगवान रामको पवित्र जन्मस्थान ठोरी नजिक चितवनको नारायणी किनारमा सम्पन्न १०औं महाधिवेशनमा लाखौंको सहभागिता रहेको दृश्य हामीले देख्यौं । सुकिला मुकिलाहरु तारे होटलमा लञ्च र डिनर गर्दै गरेका तथा मधेसबाट बसमा लोड भई मेला भर्न गएका आमआदमी भुंइमा पलेटी कसेर च्युरा, दालमोट खाएको दृश्यहरुपनि देखियो । अध्यक्षका उम्मेदवार डा.भीम रावलका समर्थकहरुलाई महाधिवेशन स्थलमा पर्चा पम्पलेट बाड्न नदिएको तथा अर्का उम्मेदवार ओली समर्थकहरु रावल र घनश्याम भुसालसहितका पार्टी भित्रका लोकतन्त्रवादीहरुलाई भोट नहाल्ने सार्वजनिक अपिल गरेको पर्चा पम्पलेट भन्ने यत्रतत्र सर्वत्र छरिएको छरप्रष्ट देख्यौं । लोकतान्त्रिक र जिवन्त पार्टीमा अन्तरविरोध स्वाभाविक हो । यस्तो भएन भने पार्टी एमाललेमा परिणत हुन्छ । जहाँ अध्यक्ष भगवान हुन्छन् । जसको महानवाणी अकाट्य हुन्छ । महानवाणीको प्रतिपक्षमा उभिनेहरुको दशा दिसा यात माधव नेपाल र झलनाथ खनाल जस्तो हुन्छ वा भीम रावल र घनश्याम भुसालहरु जस्तो । कुनै वेला माधव नेपालहरुलाई पार्टी फुटाल्न उक्साएका र पछि ओलीको शरणागत भएका अष्टलक्षमी शाक्य र सुरेन्द्र कार्कीसहितका ८ भाईको चमत्कारिक विजय यात्रा नेतालाई भगवान मान्ने पार्टीको विशेषता हो । नेपाली कांग्रेसको महाधिवेशन हुन अचेल एक साता बांकी छ । आन्तरिक विवादको कारण प्रदेश २का एउटै जिल्लामा जिल्ला अधिवेशन हुन सकेको छैन । प्रदेश २ अधिवेशनको घोषित तालिका अनुसार शुक्रवार प्रतिनिधि दर्ता गराउनु पर्ने थियो । शनिवार उम्मेदवारी दर्ता तथा आइतवार नेतृत्व चयन हुनु पर्ने थियो तर प्रदेश अधिवेशन कहिले सम्पन्न होला ? भन्न गाह्रो छ । काग्रेस महाधिवेशनको तिथि जति जति नजिकिदैछ त्यति त्यति पार्टीभित्रको अन्तरकलह छताछुल्ल हुदैंछ । उपसभापति विमलेन्द्र निधीले पार्टीको सभापतिमा उम्मेदवारी दिने घोषणा गरे यता समावेशी, समानुपातिक तथा वहुलवादको वकालत गर्ने गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप गिरी जस्ता नेताहरुको लागी निल्नु र उक्लिनु भएको होला ।

भएको छैन भने उनिहरु समावेशी , समानुपातिकताको ढोंग गरि रहनु भएको हो । भोंटको हिसावले मधेसलाई गोरहा खेत भन्ने मुलुकको सबभन्दा पुरानो पार्टी र यसका शीर्ष नेताहरु अचेल कठिन परिक्षाको घडिबाट गुज्री रहेका होलान् । गोरहा खेतको वासमती खाएर सत्ता सुख भोग्दै आएका कांग्रेसका शिर्ष नेताहरुलाई यस पाली नूनको गुण लगाउनु पर्ने अवस्था सृजना भएको छ । अध्येताहरुलाई थाहा होला , भारतको बनारसमा जन्मेको नेपाली कांग्रेसको संस्थापक संयोजक विशेश्वर प्रसाद कोइराला र अध्यक्ष सुब्बा देवीप्रसाद सापकोटा अध्यक्ष थिए । विसं २००५ मा दरभंगामा सम्पन्न महाधिवेशनबाट मातृकाप्रसाद कोइराला सभापति चयन भए । भारत पछि नेपाल भूमिमा नेकाको महाधिवेशन गराउने आंट,क्षमता र लगन जनकपुरवाहेक अन्यन्त्र कहि थिएन । स्वर्गीय महेन्द्र नारायण निधी, शरोज प्रसाद कोइराला, बोध दादालगायतका नेताहरुको पहलमा २००९ सालमा काग्रेसको महाधिवेशन जनकपुरमा सम्पन्न भएको थियो । जसमा विशेश्वर प्रसाद कोइराला सभापति चयन भएका थिए । जनकपुरपछि २०१२ मा विरगंजमा र २०१४ मा विराटनगरमा कांग्रेस महाधिवेशन सम्पन्न भएको थियो । त्यसपछि वल्ल काठमाण्डौ,झापा,पोखरालगायतका स्थानमा कांग्रेसको महाधिवेशन सम्पन्न भएको हो । सुवर्ण शमशेर जवरा,कृष्णप्रसाद भट्टराई,गिरीजाप्रसाद कोइराला,शुशील कोइराला तथा शेरबहादुर देउवा कालक्रमेण कांग्रेस सभापति भएका थिए । २००५ सालदेखि कांग्रेसलाई पालन पोषण गरेको , भोंट दिएर सत्तामा पुर्याएको , प्रारम्भका वर्षहरुमा महाधिवेशन आयोजन गरिदिएर पार्टीलाई जोगाएको मधेसले के पायो ? १४ औं महाधिवेशनमा विमलेन्द्र निधी सभापतिको उम्मेदवार भई रह्दा मलाई सोध्न मन लागेको छ । राणा विरुद्ध सशस्त्र क्रान्ति घोषणा काग्रेस लडाकाहरुले पहिलो कब्जा गरेको शहर विरगंज हो । विरगंज कब्जा गर्न मधेसको बन्दुक,मधेसकै सामल र मधेसी लडाकाहरु नै थिए । कमाण्डर जो सुकै भएपनि । १४ औं महाधिवेशनमा मधेस कांग्रेस र कांग्रेसका शिर्ष नेताहरुसंग पार्टीलाई सिंचित गर्न मधेस र मधेसी जनताले वगाएको पसिनाको मोल खोज्दै छ । कांग्रेसको गोरहा खेत यस पाली वासमाती चामलको मूल्य खोज्दैछ । मधेसी जनता अरुलाई नेता बनाउनलाई मात्र जन्मेका होइनन् उनिहरु आफै पनि नेतृत्व गर्न सक्छन भन्ने सम्झाउन खोज्दैछ । कांग्रेसले यस सवालको सम्यक जवाफ दिन सकेन भन्ने मधेसी जनता कांग्रेसलाई पत्याउने कारण के ?

मधेसी चाणक्य हुन सक्छन् । चन्द्रगुप्त किन बन्न सक्दैनन ?? खस आर्य बहुल पार्टीहरुको समान मनोविज्ञान हुन्छ । मधेसी राम्रा कार्यकर्ता , सुयोग्य विचारक , पार्टी चलाउन करोडौ सहयोग गर्ने चन्दादाता तथा भोंट बैंक हुन सक्छन तर पार्टीको नेता हुन सक्दैन । कमोवेश यही मनोविज्ञान कांग्रेस , एमाले , माओवादी केन्द्र , राप्रपा लगायतका पार्टीहरुको छ । समावेशीता–समानुपातिकताको रट्ट लगाउने यी पार्टीहरु आजसम्म एक थान मधेसीलाई पार्टी सभापति वा प्रधानमन्त्री किन बनाउन सकेनन् ? एमालेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको लिष्ट हेर्नोस् – रघुवीर महासेठ वाहेक अर्को नाम हेर्न पाउनु हुने छैन । ओलीका प्रिय पात्र मानिएका महासेठ अन्तिम नम्बरका सचिव हुन् । एमाले भित्रका मधेसी नेताहरुसंग सोध्न मन लागेको छ – एमालेले मधेससंग गरेको व्यावहारबाट तपाईहरु खुसी हुनु हुन्छ ? हालै जनता समाजवादी पार्टीले प्रदेश २ कमिटी चयन गरेको छ । जसमा अध्यक्ष मुख्यसचिव र कोषाध्यक्ष एउटै जातिबाट छन् । ११ सदस्यीय प्रदेश कमिटीमा झण्डै आधा एउटै जातीय क्लष्टरका छन् । एक जना दलित,एक जना मुसलिम र एकजना महिलालाई प्रनिधित्व गराएर कानूनलाई झांसा दिन सकिन्छ । जनतालाई होईन । जसपाका शिर्ष नेताहरुलाई प्रदेश २ को जातीय क्लष्टरबारे जानकारी छैन जस्तो लागेन । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय पदाधिकारी तथा कार्यकारिणीको नामावली हेर्दा जातीय माईजन,देवान जस्ता देखिन्छ । म यसरी खस आर्य नेतृत्वको पार्टी होस् कि मधेसीले नेतृत्व गरेको पार्टी सब सबका असमावेशी छन् । असमावेशी पार्टीहरुसंग समावेशी समाजको निर्माण होला जस्तो लागेन ।

Comment


Related News

Latest News

Trending News