अपडेट 
२०७८ मंसिर १९, आईतवार ०८:०८

नेपालको तराई मधेशका जनचाहना विपरीत जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) फेरि पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) को मार्गमा फर्कन थालेको छ ।

विभाजित हुने क्रममा लोसपाका नेताहरुमा देखिएको जोश, जाँगर अहिले हराएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी जिल्लाको आफ्नो निर्वाचन क्षेत्रमा अत्यन्त सकृय देखिन्छन् । उनी हरेक महिना केही शिलान्यास र केही उद्घाटन कार्यक्रमहरुमा देखिन्छन् । समग्रमा पार्टीको अवस्थाबारे उनी चिन्तित देखिएका छैनन् । विभाजन पछि जसपामा संगठनात्मक रुपमा भएको प्रगति र यथास्थितिमा रहेको लोसपाबीचको फरक अत्यन्त फराकिलो हुन थालेको छ । लोसपाका अध्यक्ष ठाकुर आफ्नो निर्वाचन क्षेत्रमा सीमित भएका छन् । एकजना वरिष्ठ नेता राजेन्द्र महतो संगठनका लागि सक्रिय देखिए पनि एक्लो वृहस्पति झुठो जस्तै भएको छ । अर्का वरिष्ठ अध्यक्ष शरतसिंह भण्डारी पनि निष्कृय जस्तै छन् । त्यसपछिको वरियतामा परेका अनिल कुमार झा निष्कृय नै भइसकेका छन् । लोसपा बनेको ६ महिनामा संसदीय दलको नेता चयन हुन सकेको छैन् । जिल्लाहरुमा संगठनको गतिविधि शून्य छ । वडा कमिटी देखि कुनै पनि निकाय लोकतान्त्रिक विधि अनुसार चयन हुन सकेको छैन् । प्रदेश २ को प्रदेश सभामा संसदीय दलको नेता चयन गर्न बाहेक अन्य संगठनात्मक गतिविधि भएको छैन् । त्यसमा पनि ठाकुरले आफ्ना निकटका जितेन्द्र सोनललाई नेता बनाए । पार्टीको निकायमा ठाकुरको वर्चश्व छ । अन्य नेताहरु मिलेर उनलाई धक्का दिन सक्ने अवस्था छैन् । न, त उनलाई संगठनमा सक्रिय बनाउने स्थिति छ । ठाकुरलाई पद चाहिएको छ । उनले आफू पदमा रहेर आसेपासेबाट गुणगान सुन्न मन पराउँछन् । जसपामा हुँदा र त्यहाँबाट हटेपछि पनि उनको घेराबन्दीहरु गर्नेहरु यथावत छन् । ठाकुरलाई घेराबन्दी गर्नेहरुको पनि आफ्नै स्वार्थ छ । उनीहरुको भन्दा चरम स्वार्थी ठाकुर स्वयं नै रहेका छन् । ठाकुरलाई रुचाउने भन्दा जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सित असन्तुष्ट रहेकाहरुको आश्रय लोसपा भएको छ ।

राजनीति दलहरुले अपनाउनु पर्ने कुनै पनि प्रक्रिया ठाकुर नेतृत्वको लोसपाले अपनाएको छैन् । कानूनी रुपमा निर्वाचन आयोगमा दलको मान्यता पाएको लोसपाले संगठन सम्बन्धी गतिविधिलाई पूणर््ा वेबास्ता गरेको छ । त्यसको तीन कारण ठाकुरको उमेर, स्वास्थ्य र परनिर्भरता हो । ठाकुरमा निर्णय लिने क्षमता अत्यन्त कमजोर छ । वरिपरिका चाप्लुसहरुको चाहनामा निर्णय लिने गरेको ठाकुरको दृष्टिकोण पनि प्रष्ट छैन् । जसपाबाट लोसपा किन छुटिए ? त्यसबाट मधेशी जनताले विशेष के प्राप्ति गर्ने छन् ? जसपाका नेताहरुबाट असन्तुष्टिको कारण पद बाहेक अन्य पनि केही थियो ? विभाजित भएपछि संगठनात्मक संरचना किन तयार हुन सकेको छैन् ? यी र यस्ता थुप्रै प्रश्नको जवाफ लोसपाका नेताहरुले दिन सकेका छैनन् । एकजूट भएर चुनावमा जाँदा तराई÷मधेशमा अत्यधिक स्थानमा कब्जा गर्न सक्ने प्रबल संभावनालाई अस्वीकार गर्दै लोसपा बनाएका ठाकुरले त्यसको गन्तव्य समेत निर्धारण गर्न सकेका छैन् । मधेश आन्दोलन सत्तारुढ दलहरुसितको सम्झौतामा टुंगिएपछि नेपाली कांग्रेस पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका थिए । तमलोपा देखि लोसपा सम्म आईपुग्दा पनि ठाकुरले देशमा संगठन गर्न सकेका छैनन् । उनले नेतृत्व गरेका दलले पछिल्लो चुनावमा तराई मधेशमा राम्रै सफलता पाए पनि त्यो संगठनात्मक संरचना भएर होइन् । उनले पाएको सफलता तराई मधेशको भावनात्मक परिणाम हो । लोसपालाई संगठनात्मक संरचनामा लान नसक्नु नेतृत्व कै अक्षमता मान्नु पर्छ । लोसपामा संगठनात्मक संरचना बनाउन ठाकुरले नेतृत्व हस्तांतरण गर्नै पर्छ । जसपाबाट ठाकुर समूह अलग्गिए पछि भएको क्षतिलाई अध्यक्ष उपेन्द्र यादवले भरपाई गरिरहेका छन् । पार्टीको हरेक निकायको बैठक नियमित र व्यवस्थित रुपमा भइरहेको छ । तराई मधेशका जिल्लाहरुमा जसपाको सभा र प्रवेश कार्यक्रम निरन्तर चलिरहेको छ । त्यसको सम्पूर्ण श्रेय अध्यक्ष यादवलाई नै जान्छ ।

प्रारम्भिक चरणको दौडमा नै ठाकुर धेरै पछाडि धकेलिएका छन् । लोसपा खल्तीको दल बन्न लागेको छ । संगठन कर्ता महतोलाई अवसर कम गरिएको छ । लोसपामा संगठन गर्ने सामथ्र्य महतोमा छ । भण्डारी र झाको दायरा सीमित छ । संकुचित भावना भएका ठाकुरले पार्टी माथि पूर्ण नियन्त्रण कायम गर्न असफल छैनन् । लोसपा पूर्णतः ठाकुरको नियन्त्रणमा छ । जसपामा पनि ठाकुरलाई कम्ती सम्मान दिएको थिएन् । उनलाई वरियतामा सबै भन्दा माथि राखिएको थियो । उनकै चाहना अनुसार कार्यकारिणी समितिमा पनि वरियता कायम गरिएको थियो । तैपनि उनले पार्टीलाई फुटाए । जसपा फुटेपछि ठाकुर एकल अध्यक्ष वाहेकको उपलब्धि के ? कुशल संगठन कर्ता महतोको बराबरीमा भण्डारीलाई राखेर शक्ति सन्तुलनको प्रयास गरिएको छ । महतो अगाडि बढन खोजे भण्डारीलाई उचालेर ठाकुर सुरक्षित रहने प्रयास समान्य सोचको साथ भएको छैन् । ठाकुरलाई सुरक्षित राख्न उनका आसेपासेले गरेका प्रयासहरु त्यति बेला मात्र सार्थक हुनेछ, जति बेला लोसपा दलको संरचना निर्माण गर्न सक्छ । स्थायी अध्यक्षको रुपमा रहिरहने असीमित चाहना भएका ठाकुरको वरिपरिका नेताहरुको जनधार देखिएको छैनन् । जनतामाझ राजनीति गर्न नसक्ने नेताहरुको बीचमा रहेका ठाकुर ‘महन्थ’ जस्तै देखिएका छन् । देशका अन्य राजनीतिक दलहरु जस्तो गतिशील लोसपा छैन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशन गरेको छ । लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छानिएको छ । तर ठाकुर कहिले लोकतान्त्रिक विधिबाट अध्यक्ष भएका छैनन् । तल्लो निकायमा अलोकतान्त्रिक विधिबाट महाधिवेशनमा गएको नेकपा एमालेले महाधिवेशनको नेतृत्व चयनमा लोकतान्त्रिक प्रक्रियालाई अपनाए । त्यसमा संस्थापन पक्षले धाँधली गरेको अथवा अन्य ढंगले फरक धारणा राख्नेलाई नेतृत्वमा पुग्न दिएन् भने आरोप छ । त्यो आरोपको असर पार्टी भित्र मात्र पर्ने हो । नेपाली कांग्रेसमा त वडा देखि नै घमासान हुँदै प्रदेश स्तरीय नेतृत्व चयनको चरण सम्म पुगेको छ । पूर्ण लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन गरिरहेको नेकांको संगठन अहिले देशैभरि गतिशील भएको छ । नेतृत्वको पङ्गतिमा युवाहरु स्थापित भएका छन् । नेकपा माओवादी केन्द्र पनि नेतृत्व चयनका लागि लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाइसकेको छ ।

जसपा पनि समायोजनको क्रममा छ । तर लोसपाको नेतृत्वले महाधिवेशनमा जान चासो देखाएको छैन् । महन्थ ठाकुरलाई उनका निकटवर्तीहरुले निर्विकल्प अध्यक्षका रुपमा देखेका छन् । त्यसको परिणाम उनी निष्कृय भएका छन् । संगठनको धरातलीय अवस्था कमजोर हुन थालेको छ । उपेन्द्र यादवको विकल्पको रुपमा उनलाई स्थापित गराउने चाहना भएकाहरु निराश भएको हुनुपर्छ । विषम परिस्थितिमा समेत कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नेले मात्र उपेन्द्र यादवका लागि चुनौती बन्न सक्छन् । ठाकुरमा त्यो कला छैन् । नेपालमा मधेशी नेताको रुपमा दुवै जना उदाएका होइनन् । विभिन्न राजनीतिक घटनाक्रमले दुबै जनालाई मधेशी कित्तामा उभ्याएको हो । मधेशी कित्तामा उभिएका यादवले पूर्ण सफलता पाउन नसकेपनि कयौं पटक आन्दोलनको सफलापूर्वक नेतृत्व गरी सुरक्षित अवतरण गराएका छन् । ठाकुर त्यसमा धेरै पछाडि छन् । ठाकुरको अघिपछि गर्नेहरु मध्येका केहिले उनलाई छिमेकीको विश्वास पात्र बनाउन भने सफल छन् । राजनीतिमा को कहिले कहाँ पुग्छन् ? त्यसको निर्धारण समयले नै गर्छ । लोसपालाई चुनाव सम्म संगठनको संरचनामा ल्याउन जिम्मेवारी हस्तान्तरण आवश्यक छ । अधिकार र जिम्मेवारी ठाकुर स्वयंले महतोलाई हस्तान्तरण गर्न अब ढिला पनि गर्नु हुँदैन् । समयमै निर्णय लिन नसके लोसपा पतनोन्मुख मार्गमा जान सक्छ । पदमा रहेर प्रतिष्ठा बढ्छ भने अपेक्षित फल प्राप्ति गर्न नसके पतन पनि हुन्छ । लोसपाले एमालेसित तालमेल गरेर चुनावमा जानु मात्र बुद्धिमानी भने होइन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसितको सहकार्य गर्ने ठाकुरको हठले जसपा विभाजित भएको हो । एमालेको महाधिवेशनको उद्घाटन समारोहमा ठाकुरले दिएको भाषणले फेरि त्यही संकेत गरेको छ । एमालेमै ओलीको तेजमा क्षय हुन थालेको छ । ओलीरुपी प्रकाश धमिलो पर्न थालेको छ ।

लोसपमाथि समेत ग्रहण लाग्न थालेको छ । नेतृत्वले नीति बनाएर अगाडि बढने अथवा परम्परागत रुपमा फल खाने द्विविधाबाट मुक्त हुन सकेन भने ठाकुरको तेलमालिश गरिएको छवि धूमिल हुन सक्छ ।

Comment


Related News

Latest News

Trending News