सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न भएको छ ।
तिलकोत्सवमा २ सय ५१ जना पाहुरसहित जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिर पुगेका थिए । राम मन्दिरको प्रांगनमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासबिच सम्धी मिलन गरिएको छ ।
त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै जनकपुरधाममा विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ । मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, शनिबार फूलबारी लीला, आइतबार धनुष यज्ञ र आज तिलकोत्सव विधि मनाइएको छ । त्यस्तै, मंगलबार मटकोर, बुधबार स्वयंवर तथा विवाह र बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिने भएको छ ।
https://www.youtube.com/watch?v=HgBk08Dtmng


