अपडेट 
२०७८ मंसिर २१, मंगलवार ०७:१६

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापा पार्टी महाधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई संकेत गरेर आफूहरु राजतन्त्तवादी भएको र बाध्य पारिए आफूपनि बन्दूक बोक्न सक्ने (उनको भनाईमा उनी सिपाहीको छोरो भएकोले बच्चैदेखी बन्दूक चलाउन जानेको) चेतावनी दिएको रोचक र दिक्दार दुबै थियो ।

यो बेग्लै कुरो हो कि महाधिवेशनमा अध्यक्ष पदमा पराजयपछि उनी पूर्व राजा ज्ञानेन्द्रलगायत (निर्मल निवास)माथी चलखेल गरेर आफूलाई हराएको भन्दै विरक्त भावमा ट्वीटरमा अरुणा लामाको गीत गाएर बिलौना गर्दैछन् —‘यो पाली त मनै फाट्यो, के ले सिउने, के ले टाल्ने हो ।’ राप्रपा नेपालको गणतान्त्रिक व्यवस्थामा राजतन्त्रको अवशेष हो, जस्ले वर्तमान सम्विधानको अराजक लोकतान्त्रिक सुविधाको फाइदा उठाएर आफूलाई पुनः जीवित गर्ने प्रयास गरिरहेको छ । ०६४सालमा अन्तरिम सम्विधानसभाले नेपाललाई धर्मनिरपेक्ष गणतन्त्र घोषित गरिरहेको बेला राप्रपाका चारजना सांसदहरु यस्को विरोधमा उभिएपनि उनिहरुले जनमत र सम्विधानको सम्मान गर्ने भनेका थिए ।समयसंगै उसको स्वर ठूलो हुँदैगएको छ । यसपालीको महाधिवेशनमा राप्रपाका नेताहरु आफूलाई जसरी खुलेआम राजतन्त्रप्रति प्रतिबद्ध र गणतन्त्रप्रति प्रतिक्रान्तिकारी व्यक्त गरिरहेका थिए, गणतन्त्रतान्त्रिक र जनतान्त्रिकशक्तिहरुको निम्ती दिक्दारपूर्ण स्थिति हो । र यो सारा ड्रामा अहिलेको गणतन्त्रका प्रमुख सञ्चालक सत्ताधारी पार्टीका नेताहरुका उपस्थितिमा भैरहेको थियो । गणतान्त्रिक वातावरणमा राजतन्त्रवादीको रहलपहल घिस्सिँदै समाप्त हुनुपर्ने अथवा समयसंगै गणतान्त्रिक सम्विधान अनुकूल रुप फेर्नु पथ्र्यो । यो अहिलेको सत्ताधारी दलहरुको गैर जनवादिता र सत्तालिप्सा नै हो कि राजतन्त्रवादीहरु खुलेआम सम्विधानको मूल प्रस्तावना विरुद्ध गतिविधि गरिरहेका छन् । आफ्ना राजतन्त्रकालीन कूकृत्यहरुको निम्ती जनता सामू दण्डित हुनुपर्ने कमल थापा, लोकेन्द्र बहादुर चन्द र प्रकाशचन्द लोहनी लगायत राजतन्त्रका हर्ताकर्ताहरु अहिले गर्विलो अनुहार लिएर देशको अभिभावकको रुपमा राजाको आवश्यकता जस्तो प्रतिगामी तर्क गरिरहेका छन् । यस्को तात्पर्य के हो भने देशमा गणतन्त्रको रुपमा भएका राजनैतिक परिवर्तन उपरी मात्र भएको छ ।

सामाजिक धरातलमा परिवर्तन यथोचित छैन । सम्विधानले जसरी आम जनतालाई देशको मालिकको रुपमा स्वीकारेको छ, सामाजिकस्तरमा समेत उत्पादन र उत्पादनको साधनहरुमाथी उनिहरुको स्वामित्व कायम हुनूपथ्र्यो, जनताको हित विपरीत उभिनेहरु दण्डित हुनूपथ्र्यो, युगौँ युगदेखी सत्ताको शोषणको शिकार विविध जातिय, धार्मिक र साम्प्रदायिक संकीर्णतामा विभाजित जनसमुदाय बहुसंख्यकको आर्थिक र सामाजिक हितको आधारमा एकीकृत हुनूपथ्र्यो र गैरगणतान्त्रिक र गैरजनतान्त्रिकशक्तिहरु हतोत्साहित हुँदैजानू पथ्र्यो । जसरी सामन्तवादी व्यवस्थाले कबिलाई सामाजिकता तथा चिन्तन पद्धतिलाई विस्थापित गरेर सामन्ती जीवनशैलीलाई स्थापित ग¥यो, त्यसरी नै राजनैतिक व्यवस्थाको रुपमा मात्र होइन, सामाजिक सम्बन्ध र चिन्तनमा समेत सम्विधानले भनेजस्तो समाजवादोन्मुख गणतान्त्रिकताले आफ्नो श्रेष्ठता स्थापित गर्न सक्नुपथ्र्यो । तर जसरी हाम्रो पारम्परिक सामाजिकतालाई पूँजीवाद र निजीकरणले वैयक्तिक बनाउँदै लगरिहेको छ र एक–अर्काप्रति सम्वेदनशील हुने समाजलाई असम्वेदनशील भीडमा बदल्दै लगिरहेको छ ; र अर्कोतिर देश खाएर शेष भएका पुरातनपन्थीहरु अस्तित्व जोगाउन राजनीतिक दलहरुभित्र पसेर जातिय, क्षेत्रीय र धार्मिक संकीर्णता कायम राख्न चाहन्छन्, त्यसले गणतान्त्रिकशक्तिहरु लाई स्खलित र विभाजित गर्दै लगेकोछ । यसबाट प्रतिगामीशक्तिहरु प्रोत्साहित हुनू स्वाभाविक नै हो । गणतन्त्रस्थापनाको पन्द्रवर्ष पछि राप्रपाको महाधिवेशनमा यस पाली देखिएको राजतन्त्रवादीहरुको ठूलो स्वर त्यसैको परिणति हो । मिडियाको नाफामुखी व्यावसायिकताको कारण राप्रपाको महाधिवेशनले चर्चा पाएपनि राजतन्त्रको वापसी सम्भव देखिँदैन । हजारौँको बलिदानपछि प्राप्त गणतन्त्र र स्वतन्त्रता विपरीत नेपाली जनताले स्वीकार्दैन भन्नेपनि निश्चित नै छ ।

तर राजतन्त्रको राजनीतिसंगै राप्रपाले जसरी संकीर्ण धार्मिकता तथा गोर्खाली राष्ट्रवादलाई एक ठाउँमा गाँसेर प्रस्तुत गरिरहेको छ, त्यसले समाजमा धार्मिक उन्माद बढाउँदै लगिरहेको छ र धरातलिय स्तरमा यस्ले खतरनाक सामाजिक विभाजन सिर्जना गरिरहेको छ । यिनै पुरातनतालाई हटाएर धार्मिक, जातिय र साँस्कृतिक सहिष्णुता कायम गर्न सम्विधानमा धर्मनिरपेक्षता तथा संघीयताको अवधारणा अवलम्बन गरिएको हो । धर्मनिरपेक्षताले राज्यसत्ता कुनैपनि धर्मको पक्षधर नभएको, उसको निम्ती सबै धर्महरु समान हुने र धर्म जनताको निजी आस्थाको विषय हुने भनेर ल्याइएको हो । त्यसरी नै परम्परागत् रुपमा नेपालमा पहाडिया उच्चजातिय हिन्दू ब्राह्मण खस अहकारवादीले शासन गर्दै आएकोमा वर्तमान सत्तामा सबै समुदाय र क्षेत्रले स्वामित्व अनुभूत गर्न पाउन भनेर संघीयताको अवधारणा ल्याइएको हो । राप्रपा घुमाई फिराई तिनै परम्परागत् शासनको वकालत गरिरहेका छ । राप्रपा र उसको उद्देश्यको वापसी सम्भव छैन । तरपनि राप्रपाले फैलाइ रहेको संकीर्ण धार्मिकता तथा गोर्खाली राष्ट्रवादको उन्माद राजनीतिक रोग जसरी फैलाइ रहेको छ, देशको राजनीतिक स्वास्थ्यको निम्ती यो खतरनाक छ । हाम्रा दक्षिणी छिमेकी भारतमा धार्मिक दक्षिणपन्थीशक्ति भारतीय जनता पार्टीले राष्ट्रवादलाई हिन्दुत्वसंग जोडेर देशव्यापी उन्माद जन्माएर जसरी शून्यबाट सत्ताशीर्षमा पुग्न सफल भएको छ, त्यसले अन्यदेशमा दक्षिणपन्थी तत्वहरुको निम्ती मोडेलको काम गरेको छ भन्नु अनुपयुक्त हुँदैन । यसले राप्रपा जस्तो दक्षिणपन्थीशक्ति मात्र होइन, आफूलाई वामपन्थी, प्रजातान्त्रिक समाजवादी र समाजवादी भन्ने पार्टीहरुलाई समेत आकर्षित गरिरहेको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीका वक्तव्यहरुको समिक्षा गर्ने हो भने भलै उनी राजतन्त्रको पक्षमा देखिँदैनन्, रामको जन्म चितवनको अयोध्यापुरीमा भएको गफ पसारेर तथा बेलाबेलामा संघियताविरोधी मनसाय प्रकट गरेर पुनरोत्थानवादी अनुहार देखाएकै छन् । नेपाली काँग्रेसभित्र हिन्दुधर्म र राजतन्त्रको वकालत गर्ने बजाफ्ते गूट नै छ ; र माओवादीकेन्द्रका नेताहरुले वचनमा आफूलाई भौतिकवादी भनेपनि पूजापाठमा र रामरामी पछ्यौरामा बेरिएर कर्ममा भोटको निम्ती आवश्यक परे प्रतिगामीशक्तिहरुसंग समेत गठबन्धन गर्न सम्भावनालाई बल नै पु¥याई रहेका छन् । राप्रपाको उद्घाटन कार्यक्रममा, गणतन्त्रवादी नेताहरुको सामुन्ने थापा र लिङ्गदेनहरु ‘को बढी राजतन्त्रवादी ?’ भनेर प्रतिस्पर्धा गरीरहेका थिए र त्यसै कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपालाई आगामी निर्वाचनमा सहकार्य गर्न निम्तो दिँदै थिए भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विचार फरक भएपनि देशभक्तिको स्तरमा थापा र आफू समान रहेको फुलबुट्टा भर्दै थिए । विचार गर्ने हो भने यो सबै आगामी निर्वाचनमा राप्रपा र ऊ समर्थित मतदाताहरुलाई आफूतिर आकर्षित गर्ने दाउमात्र थिए यी चर्तीकलाहरु । वर्गीयरुपमा होस वा राजनैतिकरुपमा राप्रपा पूर्व सामन्तवादीहरुको पार्टी हो । विगतमा जाति र धर्म र यसै आधारमा ईश्वरांशको रुपमा राजा तथा उनका पुर्खाहरुको गौरवगान आदिको औचित्यतामा आधारान उनीहरुले राजनैतिक अभ्यास गर्दै आएका हुन् । भनौँ उनिहरुको वैचारिक स्कूल नै त्यो हो । उनिहरुले प्रजातन्त्र, राष्ट्रियता र उदारवादको व्याख्याले पनि यही साबित गर्छ । त्यसैले उनिहरुले अस्तित्व जोगाउन तिनै पुरातन दक्षिणपन्थी फासीवादी तरिका तथा विरासतको प्रयोग गर्नु स्वाभाविक नै छ । तर जुन राजनीतिक दलहरुले जीवनभरी धर्मनिरपेक्षता, समानता, स्वतन्त्रता, लोकतन्त्र, समाजवाद, मानवीयता तथा विश्वबन्धुत्वको निम्ती संघर्ष र त्याग तपस्या गरे, बलिदान दिए, ती दलहरु पुरातन संकीर्णतामा पतन हुँदै जानू दुर्भाग्यपूर्ण छ ।

हाम्रो दक्षिणी छिमेकी भारतको दक्षिणपन्थी राजनीति फासीवादी विचारहरुको उत्पादन कारखाना बनेको छ र नेपालका दक्षिणपन्थीशक्तिहरुको सम्बन्ध उनीहरुसित रहेको लुकेको छैन । भारत उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने पुनरोत्थानवादी नारा, नेपाली जनताले दशकौँको संघर्षपछि पद्च्युत गरेका ज्ञानेन्द्र शाहलाई प्रयागमा राजाको रुपमा अभिनन्दन गर्नु तथा राप्रपा लगायत विभिन्न पार्टीभित्रका दक्षिणपन्थीतत्वहरुलाई प्रोत्साहित गर्नु लुकेको छैन । देशमा गणतान्त्रिकशक्ति बलियो भएको भए सरकारीस्तरमा यस्ता गणतन्त्रविरोधी कार्यको कडाईपूर्वक विरोध गरिन्थ्यो । देशभित्रै यस्ता तत्वहरुलाई निरुत्साहित गरिन्थ्यो । यसबाट के देखिन्छ भने नेपाली गणतन्त्रमा राजनीतिक लफ्फाजी जस्तोसुकै भएपनि दिशाभने ठिक छैन । हुँदाहुँदा त स्थिति कस्तो छ भने पुनरोत्थानवादीहरुले राजतन्त्र र धर्मनिरपेक्षता दुबैमा जनमतसंग्रहका कुतर्क गर्ने दुस्साहससमेत गर्दैछन् । ००७देखी ०६३÷०६४ गणतन्त्रसम्म प्रजातान्त्रिकशक्ति र कम्युनिस्टशक्तिहरुले गरेका राजनीतिक संघर्षहरुमा उठेको धर्मनिरपेक्षता, राजतन्त्रविरोध, गणतन्त्र र संघीयताका नाराहरु, राजनैतिक दस्तावेजहरु र यस्को समर्थनमा उत्रेका जनताहरु, हजारौँ शहिदहरु जनमत होइनन् ? विपी,, पुष्पलाल, मदनभण्डारी र माओवादी जनयुद्धका वक्तव्य र राजनीतिक दस्तावेजहरु धर्मनिरपेक्षता, गणतन्त्रको निम्ती जनपक्षधरताको प्रमाण होइनन ? जतिबेला नेपाली जनता लोकतन्त्र र गणतन्त्रको निम्ती लडदै थियो, नृसंशतापूर्वक गोली चलाएर हजारौँको हत्या गराउने मध्ये यिनै कमल थापा, चन्द, लोहनी, आदि राप्रपाका नेताहरु होइनन् ? पञ्चायतकालमा देशका प्राचीन मूर्तिचोरी गरेर विदेशमा बेच्ने कार्यमा ज्ञानेन्द्रलगायत तत्कालीन राजदरबारका सदस्यहरु र उनका निकटका भारदारहरु भएको समाचार प्रकाशित गरेवापत पद्म ठकुराठीमाथी गोली प्रहार गरिएको होइन ?(यसको निम्ती ज्ञानेन्द्र शाहमाथी ठकुराठीले तथ्य सहित दोष लगाएको लामो इन्टरभ्यू अहिलेपनि यूट्यूबमा उपलब्ध छ ।) यस बारे राप्रपा बोल्दैन । प्रष्ट छ ती पुरातन राजतन्त्रवादीशक्तिहरु आफ्नो वर्गअस्तिव जोगाउन वर्तमान सम्विधानको अराजक उदारताको फाइदा उठाउँदै गणतन्त्रको जग कमजोर गरिरहेका छन् ।

हुनूपर्ने के हो भने गणतन्त्र आउँदा राजतन्त्रका अनुयायीहरु संग यी सबै पापको हिसाब सोध्नु पथ्र्यो, तर कसैले सोधेन । बरु उदार लोकतन्त्रले बहुदलिय उदारतामा यी राजावादीहरुलाई समेत ठाउँ दियो । तर यिनीहरुले वर्तमान गणतन्त्रको सत्ता सञ्चालकहरुको सत्तालिप्सा तथा चारित्रिक विचलनको फाइदा उठाउँदै छन् । पञ्चतन्त्रको एउटा कथा छ ः एउटा कुकुर खोला तर्न खोज्दै थियो । त्यसै बेला खोला किनारमा एउटा बिच्छीले आफूलाईपनि खोला पार गराई दिन कुकुरसंग अनुरोध ग¥यो । ‘तिम्रो त टोक्ने बानी छ’ —कुकुरले भन्यो । ‘त्यस्तो हुँदैन’ भनेर बिच्छीले आश्वस्त पारेपछि कुकुरले उसलाई आफ्नो टाउकोमा बसालेर खोला तर्न थाल्यो । बिच खोलामा पुगपछि बिच्छीले कुकुरलाई टोक्यो । ‘तैँले त टोक्दिन भन्थिस’ भनेर कुकुरले सोध्यो । ‘के गर्नु, आफ्नो त बानी नै यस्तै’ भनेर बिच्छीले जवाफ दियो । यसैगरी राप्रपाको त बानी नै राजतन्त्रवादी छ, लोकतान्त्रिक गणतन्त्रवादीहरुले नै विचार गर्नुपर्ने हो । विचार गरिएन भने राप्रपाको निहुँमा अन्य पार्टीमा विकसित भैरहेका पुरातन र दक्षिणपन्थी तत्वहरुले वर्तमान गणतन्त्रलाई फासीवादी पुनरोत्थानमा बदल्न सक्छन् । सत्ता लिप्सामा चुर्लुम्म डुबेका सत्ताधारीहरुको स्थिति ‘आफै त शिव उत्तानो, कसलाई दिनु वर’ जस्तो छ ।फासीवादी सम्भावनाहरुका विरुद्ध विभिन्न पार्टीभित्रका गणतन्त्रवादी तथा संघीयतापक्षधर शक्तिहरु भने सचेत हुन आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News