अपडेट 
२०७८ मंसिर २१, मंगलवार ०७:२७

राम जानकी विवाह प्रसंग मिथिला क्षेत्रमा धार्मिक एवं सांस्कृतिक परम्परामा प्रमुख स्थान पाएका छ ।

रामचन्द्र मर्यादा पुरुषोत्तमको रुपमा आदर्श पुरुष हुनुहुन्छ भने महारानी सती सीता आदर्श नारीको रुपमा पूजिछिन । मैथिल संस्कृतिमा चाहे त्यो धार्मिक अनुष्ठान होस वा सांस्कृतिक अवसर रामजानकीको चर्चा स्वाभाविक रुपमा हुन्छ नै । जहाँसम्म राम जानकी विवाह प्रसंगको कुरा छ मैथिल क्षेत्रमा रामतीला मंडलीको अतिरिक्त यस्ता कैयौं मंडलीहरु छन जो धार्मिक अनुष्ठानहरु एकाह (एकदिने अनुष्ठान), नवाह –नउदिने अनुष्ठान), भागवत कथा परायण, रामकथा वाचन आदिको अन्तिम दिन रामजानकी विवाहको आयोजन गरी धार्मिक वातावरणलाई अझ भक्ति सरस सिक्त गरी बढी आनन्द प्रदान गर्दछन । यस्ता मंडलीहरुको संख्या विस्तारै ह्रासोन्मुख रहे पनि विगतमा खास गरी नेपालको मैथिल क्षेत्रमा महोत्तरीको धवौलीको मंडली, धनुषाको बैदेही, भगवानपट्टी र अकौराको मंडली आदि अनेकौं मंडलीहरु यस्ता आयोजनहरु गर्न गरेको देखिन्थ्यो । यसमा राम (बेहुला) र जानकी (बेहुली) बनाइ मैथिल संस्कृति अनुसार विवाह प्रकरणको झाँकी प्रस्तुत गरिन्थ्यो । कुनै केटालाई राम र कुनैलाई जानकीको स्वरुपमा सजाएर मैथिल संस्कृति अनुसार सम्पूर्ण वैवाहिक विधिहरु संपन्न गरिन्थ्यो । यसमा विधिहरुका गीतहरु ढ़ोल, हारमोनियम मजीरा आदि बाजाहरुका साथ भक्तहरु गीत गाउँदै विवाह प्रसंगलाई सम्पन्न गर्ने परम्परा थियो । यो परम्परा केही अंशमा भएपनि आज पनि जीवित छ ।

यसमा जन्ती पनि हुन्छ, केटा पट्टीको मानिसहरु हुन्छन भने केटी पट्टीको मानिसहरु पनि हुन्छन जसले यस वैवाहिक प्रसंगले वातावरणलाई नै अत्यन्त सजीव एवं सरस तुल्याई दिन्छ । यस्ता झाँकीहरुमा केटाहरुलाई नै महिला वस्त्र धारण गराएर सीता की सखीहरु र अन्य महिलाहरुको भूमिका गराईन्छ । अयोध्याबाट जनकपुरमा जन्ती आएको छ भनी मैथिल विधि अनुसार उनीहरुको परीक्षण (परिछन) गरी वैवाहिक विधि प्रारम्भ गरिन्छ । जन्ती सम्बन्धी एउटा गीतमा छ–

“रतन पलकिया चढि़ अएला दुल्हा चार हे
बाजा–गाजा सँग लएला कइएक हजार हे
कतेक बराती सँग, पावे केओ ने पार हे
जेहने कुमारि सभ तेहने कुमार हे”

अर्था दशरथका चारै पुत्रहरु रत्नको पालकीमा चढ़ेर आउनु भएको छ कइयौं हजार बाजाहरु छन, जन्तीको संख्या के हो त्यो पता लगाउन गाह्रो छ । जस्ती सुन्दर बेहुलीहरु छिन त्यस्तै बेहुालहरु पनि छन । जन्ती आएको कुरा सुनेर गाउँ नगरका वासीहरु हेर्न आउँछन, जन्तीलाई परिछन गरी जनवासा अर्थात जन्तीलाई बस्न निश्चित गरिएको स्थानमा ल्याइन्छ । जनक महाराजको घरमा मात्रिका पूजा गरिन्छ । बेहुलाहरुलाई महाराजको जनकको आङ्गनमा बनेका मण्डप नजीक ल्याइन्छ । त्यउसपछि मण्डप (मरबा) परिक्रमा गराइन्छ, कन्या निरीक्षण विधि हुन्छ । अन्य विधिहरु गरिन्छ । सबै विधिहरुको लागि गीतहरु म्ैथिल युवतीहरुद्वारा गाइन्छन । मण्डप (मरबा) मा आएपछि सखीहरु गीत गाउँछिन–

“देखू दुल्हीन सिया दुल्हा श्रीराम हे
मणिमण्डप बैसल एक ठाम हे
दुल्हाक छवि नील मणिसन श्याम हे
दुल्हीन छवि शशि सन अभिराम हे”

अर्थात दुल्हा श्रीराम र दुल्हीन सीताजी मणिमण्डपमा एकै ठाउँमा बसी रहनु भएको छ । दुल्हा श्रीरामको छवि नील मणि सदृश श्याम छ भने दुल्हीन सीताको छथि चन्द्रमा सदृश सुन्दर छ । सिन्दुरदान विधि वैवाहिक विधिहरु मध्ये सबभन्दा महत्वपूर्ण विधि हुन्छ । यस विधि सम्बन्धी गीतको एउटा अंश छ –

“कोन नगरके सिन्दुरिया सिन्दुर वेचय आएल हे
आगे माइ कोन नगरके कुमारि धिया सिन्दुर
वेसाहल हे
अवध नगरके सिन्दुरिया सिन्दुर वेचय आएल हे
मिथिला नगरके कुमारि धिया सिन्दुर वेसाहल हे”

अर्थात कुन नगरबाट सिन्दुर वेचने आएको छ ? र कुन नगरको यो सिन्दुर खरिद गर्ने कुमारि कन्या छिन ? अयोध्याबाट सिन्दुर वेचने आएको छ भने मिथिला नगरकी सिन्दुर खरिद गर्ने छोरी छिन । अब परिहासको बेला आउँछ र बेहुला रामसँग ससुरालीमा परिहास एवं व्यंग्यको कुरा प्रारम्भ हुन्छ । रामसँग परिहास गर्ने सम्बन्ध भएकी महिलाहरु गीत गाउँछिन–

रामलखन सन सुन्दर बरके
जनि केओ पढि़अनु गारि हे
केवल हास विनोदक पुछिअनु
उचित कथा दुइ चारि हे
प्रथम कथा ई प्ुछिअनु सजनी
कहता कनेक विचारि हे
गोरे दशरथ गोरे कौशिल्या
भरत राम किए कारी ह

अर्थात रामलखन जस्ता सुन्दर बेहुलाहरुलाई गाली न गरौ मात्र हास्य व्यंग्यको लागि दुइ चार वटा कुरा सोधौं । पहिला यो सोधौं जसको जवाफ विचार गरेर दिनु हुन्छ । प्रश्न छ राजा दशरथ र महारानी कौशिल्या गौर वर्ण हुनुहुन्छ तर भरत र राम किन कालो हुनुभयो ? यो त राम जानकी विवाहको झाँकीको कुरा भो । तर मैथिल समाजमा विवाह हुने प्रत्येक बेहुला रामको रुप हुन्छ भने प्रत्येक बेहुली सीता हुन्छिन । प्रत्येक आमाबाबु सोही रुपमा विवाह संस्कार संचना गर्दछन । प्रत्येक बेहुलाको पिता दशरथ हुन्छ भने प्रत्येक बेहुलीको पिता जनक त्यस्तै प्रत्येक बेहुला की आमा कौशिल्या हुन्छिन भने प्रत्येक बेहुलीकी आमा सुनयना । जब कुनै छोरीलाई उसको विहेको कुरो छिनको थाहा हुन्छ उसलाई आफनो मैती छाड्ने सम्भावित घटनाले उसको हृदयलाई विदीर्ण तुल्याइ दिन्छ । आफनो वाल्यावस्थाको अनुपम बेला, आमा बाबुको अविरल न्यानो माया मायाले परिपूर्ण सामाजिक परिवेश सबै छुटने आशंका मात्रले उसको मनमा आँधीबेरी उठन थाल्छ र आफना पितालाई सोधछिन–

“बाबा कओने नगर जुआ खेलि अएलौं
हमरो के हारि अएलौं ना ।
बेटी, अयोध्या नगर जुा खेलि अएलौं
तोहरोके हारि अएलौं ना ।
बाबा बेटा पुतहु अहाँ हारि लित हुँ
हमरो बचवि तहु ना ।”

अर्थात पिताज्यू कुन नगरमा जुआ खेलेर मलाई हारेर आउनु भयो ? छोरी अयोध्यानगरमा जूआ खेलेर तिमीलाई हारेको हो । पिताज्यू, छोर ा–बुहारी हारे हुन्थ्यो । मलाई बचाई दिनु हुन्थ्यो । यसरी विवाहको प्रारम्भिक गीत– लगन गीतको रुपमा मैथिल ललनाहरु द्वारा गाउने चलन छ । छोरा विवाहको लागि प्रस्थान अनि यस बेला छोरालाई प्रस्थान गराउने गाइन्छ । एउटा यस्तो गीतमा छ ।

”अपनहि रामचन्द्र चलला वियाहन हे शुभ
बाजन बाजे
मुख शों भे पाकल पान हे शुभ वाजन बाजे
कएलाख साजल हाथीओ घोडा हे शुभ बाजन बाजे
कएलाख साजल वरियात हे शुभ बाजन बाजे
नौलाख साजल हाथीओ घोडा
तीसलाख साजल बरियात हे शुभ बाजन बाजे
सब वरियतिया जनकपुर पहुँचल हे शुभ बाजन बाजे
सीताके होएत विवाह हे शुभ बाजन बाजे ”

अर्थात रामचन्द्र विवाहको लागि प्रस्थान गर्नुभयो र मुखमा पान सुशोभित छ । मंगलमय बाजा बज्दैछ । कती लाख हाथी र घोडा जन्तीको लागि तैयार गरिएका छन त ? कती लाख जन्ती छन ? नौलाख हाथी र घोडा छन भने तीस लाख जन्ती सजाइएका छन र मंगलमय बाजाहरु बजदैछ । सब जन्तीहरु ज्नकपुर पुगे अनि सीताको विवाह हुँदैछ, मंगलमय बाजाहरु बज्दैछन । बेहुलाले बेहुलीको सिउदोमा सिन्दुर लगाए पछि बेहुली बेहुलाको अर्धागिनी हुन्छिन । यस सिन्दुर लगाउने विधिलाई मैथिल संस्कृतिमा सिन्दुरदान भनिन्छ । यस विधिका एउटा गीतमा छ

“सोन सिनुर दुल्हा धीरेस उठाउ हे दशरथ के बौआ
धीरेधीरे लली के लगाउ हे दशरथ के बौआ ।

आर्थात ओ दशरथका प्रिय छोरा राम सिन्दुर विस्तारै हाथमा लिनुस र विस्तारै प्रिय पुत्री सीतालाई लगाउनुस । यसै क्रममा कन्यादान सम्बन्धी एउटा लोक गीतमा छ–

“आज शुभ दिन मंगल, मंगल गाउ हे
जानकी होएत विवाह जनकपुर आउ हे
धनुष तोड़ल रधुनाथ मेदिनी हहराएल हे
जयमाला सीता हाथ राम पहिराएल हे
सीता आगुर धरए कोबर घर जाउ हे । ”

अर्थात आज शुभ मंगल गीत गाउनुपर्छ । आज जानकीको विवाह जनकपुरमा हुनेछ । सबै जना जनकपुर आउनुपछ । रधुनाथ राम धनुष भंग गर्नु भएकोले पृथ्वी नै क.पाय मान भयो अनि सीता रामलाई जयमाला लगाई दिनुभयो । सीतालाइृ अंगुला समातेर कोबर घर लग्नुपर्छ । मैथिल संस्कृतिमा विहेको रातीको चार रात पछि “चतुर्थी” विधि हुन्छ जसमा पुनः दोश्रो पटक सिन्दुरदान हुन्छ । यसमा अन्य कतिपय विधिहरु प्नि गरिन्छन । यसमा पनि एउटा गीतमा राम विवाहको चर्चा यस प्रकार छ–

“मुदित जनकपुर आज जतेक युवती गण हे
आहे रामजी चतुर्थी आज सकल जन हर्षित हे”

अर्थात जनकपुर की सम्पूर्ण युवतीहरु अत्यन्त हर्षित छिन किनकि राम जानकीको चतुर्थी आज हुनेछ । छोरीको विवाहको अन्तिम विधि उसको मैतीबाट प्रस्थान (विदाई) हुन्छ । छोरीको विदाइको बखत आमा, बाबु, साथी, समाज सबैको हृदय छोरीको क्रन्दन–रुदनबाट विदीर्ण भै हाल्छ र आँसुको धारा स्वतः वग्न थाल्छ । यस्तो गीत छ –

”जनक भवनमे जनमलि सीता रामलेता अंगुरी धराय
आगू आगू राम तकर पाछु लक्षुमन बीचमे
सिया सुकमारि
कथी विनू सुन भेलै बाबाके हबेलिया कथी
विनू अमुआँ के डारि
धिया विनु सुन भेलै बाबाके हवेलिया कोइली
विनु अमुआ के डारि
राजा रोवथि रंगमहल रानी रोवथि निवास
रनेबने रोवथि सखी हेसहेलिया
जोडिस बेजोडी कएने जाय

अर्थात राजा जनक धरमा सीताको जन्म भयो तर राम सीतालाई अंगुला समातेर लगी रहनु भएको छ । अगाडी राम हुनुहन्छ त्यसपछि लक्ष्मण र बीचमा सुकुमारी सीतालाई राखिएको छ । केले पिता ज्यूको महल शून्य भएको छ र केले आँपको हाँगा शून्य भएको छ ? छोरी विना शून्य छ राजाको महल भने कोयली बिना आँपको हाँगा शून्य भएको छ । अर्थात कोयली जस्तै राजमहल लाई छोरीको मधुर आवाजले आनन्द प्राप्त हुन्थ्यो । राजा आफनो रंगमहलमा रोइरहनु भएको छ भने रानी र निवासमा रोइरहनु भएको छ । तर बन जंगल, जताततै संगी साथीहरु रोइ रहेकी छिन किनकि अब देखि उनीहरु विजोर हुनेछिन । इस किसिमले मैथिल संस्कृतिमा हुने विवाह संस्कारमा राम जानकीकको प्रतीकात्मक रुपमा गीत गाउने परम्परा छ । मैथिली लोकगीतमा रामजानकीको विवाह प्रसंग विषद् रुपमा प्रयोग भएको पाइन्छ । परम्परा अनुसार प्रचलित प्रत्येक विधि गीतमा राम जानकी प्रतीक रुपमा सरस ढंगले चर्चा गरिएको पाइन्छ ।

Comment


Related News

Latest News

Trending News