२०७८ मंसिर २१, मंगलवार ०७:३७

विजयपुर नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शन गरिएको छ ।

सबै खाले भ्रष्टाचार र अनियमितता विरुद्ध सोमवार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुका साथै स्थानीयवासीहरुले नगरपालिका कार्यालय घेराउ, नारावाजीका साथै विरोध प्रदर्शन गरेका छन् । नगरपालिकाको शिक्षा क्षेत्रमा करोडौं भ्रष्टाचार भएको भन्दै उनीहरुले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने लगाएतका माग राखेर विरोध प्रदर्शन गरेका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको छानविन गर, भ्रष्टाचारीलाई कारवाही गर, भ्रष्टाचार गर्न पाइदैन, नगरपालिकाको सम्पूर्ण हिसाव किताव सार्वजनिक गर, प्रहरी दमन बन्द गर लगायतका नारावाजी गर्दै उनीहरु नगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । भ्रष्टाचार रहित नगरपालिका हाम्रो चाहाना, सुशासन समृद्ध नगरपालिका सबैको कामना भन्ने नाराका साथ उनीहरुले प्रदर्शन गरेका हुन् । यसैबीच नगरपालिकामा भइरहेको भ्रष्टाचारको विरोध गर्दा आइतवार इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख निरीक्षक बिष्णु बिश्वकर्माले नेकपा माओवादीका मेयरका प्रत्याशी सुरेन्द्र यादवलाई ४ घण्टा थुनामा राखेका थिए । भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा प्रहरी निरीक्षक विश्वकर्माले मेयर प्रत्याशी यादवलाई नियन्त्रणमा लिएर ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरुले प्रहरी प्रशासन विरुद्ध समेत चर्को नारावाजी गरेका थिए । फतुवा विजयपुर नगर शिक्षा संयोजक हरेन्द्र यादव संग शिक्षा सम्बन्धी विभिन्न शीर्षकमा आएको लाखौं रुपैयाँको बेतिथि बारे सोधपुछ गर्दा प्रहरीले आफू र भाई नवलकिशोर यादव लाई बिनाकारण थुनेर बेईजती गरेको मेयर प्रत्याशी यादवले गुनासो गरे ।

कार्यालयमा गइ शिक्षा संयोजक हरेन्द्र यादवलाई हातपात भएको सूचनाको आधारमा तत्काल शान्ति सुरक्षाको लागि मेयर प्रत्याशी सुरेन्द्र यादव र उनका भाई नवलकिशोर यादव लाई केही समयको लागि मात्र नियन्त्रणमा लिएको र पछि छोडिएको निरीक्षक विश्वकर्माले जानकारी दिए । शिक्षा संयोजक यादवले गत आर्थिक वर्षमा विद्यार्थी लाई भर्चुअल शिक्षा दिने नाउँमा नगरपालिका बाट २९ लाख रुपैयाँ पेश्की स्वरुप निकासा गरेको त्यसको हालसम्म फर्छौट गर्न नसकेको मेयर प्रत्याशी यादवले बताए । त्यसैगरी बालिकाहरुलाई सेनिटरी प्याड वितरण गर्न गत आर्थिक वर्षमा झन्डै १७ लाख रुपैया निकासा भएको थियो । तर, हालसम्म कुनै विद्यालयको बालिकालाई सेनिटरी प्याड बितरण नभएको र उक्त रकम नगर शिक्षा संयोजक, मेयर गोपाल यादव र एकजना पूर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानविन हुनुपर्ने उनले माग गरेका छन् । फतुवा बिजयपुर नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले गत आर्थिक बर्षमा नगरपालिका बाट भर्चुअल शिक्षा र सेनिटरी प्याड वितरणको लागि वर्तमान शिक्षा संयोजक यादव र यस अघिका संयोजक बुनिलाल यादवले लिएको पेश्की हालसम्म फर्छौट नभएको स्वीकार गरेका छन् । नगरक्षेत्र भित्र् कार्यरत शिक्षक मध्येका कसैले नगर शिक्षा संयोजकको जिम्मेवारी पाउनुपर्ने नियम विपरीत फतुवा बिजयपुरका मेयर गोपाल यादवले आफ्ना नजीकका वडा सचिव हरेन्द्र यादवलाई गतबर्ष शिक्षा संयोजक तोकेदेखि नै शिक्षा क्षेत्रमा बेथिति बढेको गुनासो बढ्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News