जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री नीलम कर्णले महिलाहरु आत्मनिर्भर नभए सम्म लैंगिक हिंसा जारी रहने बताएकी छिन् ।
निर्वाचनमा हुने महिला हिंसा अन्त्यका लागि कार्यशाला गोष्ठी तथा ‘लैंगिक हिंसाको रोकथाम सम्बन्धी’ परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै उनले पितृसत्तात्मक सोचले ग्रसित हाम्रो समाजमा महिलाहरु स्वयम् दक्ष नभएसम्म पुरुषहरुले महिलालाई दोश्रो दर्जाको मनुष्य झैं व्यवहार गरिरहने बताइन् । ३३प्रतिशत महिला समावेश गर्नै पर्ने भएकोले पुरुष प्रभुत्व समाजमा महिलाहरुले पद प्राप्त गरेपनि कानूनले दिएको अधिकारको पनि प्रयोग गर्ने वातावरण नरहेको राज्य मन्त्री कर्णले प्रसंग उल्लेख गरिन् । आर्थिक रुपमा सबल ,शैक्षिक रुपमा सक्षम र सामाजिक रुपमा समृद्ध नभए सम्म महिलाहरुमाथि हुने हिंसा रोक्न नसकिने भएकाले महिलाहरुलाई पुरुष सरहकै अधिकारको लागि अधिकारकर्मीहरुले एकजुट भइ संघर्ष गर्नु पर्ने आवश्यकता उनले औंल्याइन् । कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका उपमेयर रीता झाले कानूनी रुपमा अधिकार प्राप्त ठाउंमा भएपनि महिलाहरुले लैंगिक हिंसाकै शिकार भइ पाएको पदको समेत सदुपयोग गर्न नसकेको गुनासो पोखिन् । महिलाहरुले नेतृत्व लिन सक्षम रहेको भन्दै उनले भनिन्,‘ आगामी निर्वाचनमा महिलाहरु उपमा होइन ,नेतृत्वमै आउनु पर्छ ,मेयर ,वडाध्यक्ष जस्तो पदमा आउनु पर्छ अनि मात्रै परिवर्तन अनुसारको काम गर्न सकिन्छ।’ कार्यक्रममा ओरेक धनुषाका संयोजक रोजलीन बछारले प्रदेश सरकारले लैंगिक नीति ल्याउन लागेको जानकारी गराउंदै स्थानीय तहहरुलाई लैंगिक उत्तरदायी योजनाबारे समन्वय र सहकार्य गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा मिथिला नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख मिलन देवी श्रीवास्तवले महिला हिंसाको जरोमा जहिले पनि महिला नै दोषी देखिने गरेकोले समाजमा जनचेतनाको लागि व्यापक रुपमा काम गर्नु पर्ने आवश्यकता रहेको बताइन् । त्यस्तै विभिन्न संघसंस्थाहरुले पनि आयोजना गरेको काममा जनप्रतिनिधिहरुको खोजी गरिए पनि सम्बन्धित शाखाकै कर्मचारीहरुसंग समन्वयको अभाव देखिएको गुनासो गरिन् । उनले समन्वय गरेर काम गर्न संघ संस्थाहरु अघि सरे आफूहरुले यथासक्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा महिला तथा घरेलु हिंसा सम्बन्धी मुद्दामा राजनीतिक दवावमा सजाय नपाइ छुट्ने गरेकोले पीडकहरुको मनोबल झनै बढेर गएको महिला अधिकारकर्मी मालती ठाकुरले बताइन् । ठाकुरले बोक्सीको निहुंमा मलमूत्र खुवाएर अमानवीय कृत गर्नेहरु पनि राजनीतिक दवावमा बिना कुनै सजाय खुला घुमिरहेको कहालीलाग्दो अवस्था रहेको बताइन । बालविवाह प्रदेश २ को लागि ठूलो चुनौती रहेको बताउंदै उनले बालविवाह हुंदा बिना कुनै हिंसा कै महिलाहरु शारीरिक र मानसिक रुपमा स्वतः हिंसाको शिकार हुने गरेको दुखेसो समेत उनले पोखिन् । यसै बीच राज्य मन्त्री कर्णले लैंगिक हिंसा रोकथाम र प्रतिकार गर्न क्षमता विकास र बहुक्षेत्रीय दृष्टिकोण मार्फत महिला र बालबालिकाहरुलाई स्शक्तिकरण परियोजनाको प्रारम्भ गरेका छन् ।
यो परियोजना धनुषा जिल्लाको जनकपुरधाम उप– महानगरपालिका, धनुषाधाम नपा, मिथिला नपा, गणेशमानचारनाथ नपा र बटेश्वर गाउंपालिका सहितका पालिकाहरुमा संचालन गरिने भएको छ । महिला र केटीहरुलाई घर र समुदायमा हुने लैंगिक हिंसा विरुद्ध लड्न चाहिने स्रोतहरुद्वारा समर्थन गर्ने, सरोकारवालाहरुलाई लैंगिक हिंसा पीडितहरुलाई सहयोग गर्नको लागि उनीहरुको भूमिकाको महत्व महसुस गर्न सहयोग गर्ने प्रयास सहितका उद्देश्यले संचालन हुन लागेको परियोजना सन् २०२३ सम्म संचालन गरिने जनाइएको छ । सी डी डब्लु एनको आयोजनामा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा महिलाअधिकारीकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


