अपडेट 
२०७८ मंसिर २१, मंगलवार ०७:५८

प्रदेश पदक सम्बन्धमा प्रदेश नं.–२ का सरकारले प्रदेश पदक ऐन,२०७८ ल्याएको छ ।

२०७८ कार्तिक १६ गते प्रदेश प्रमुखबाट जारी भएको ऐन तेस्रो पटक विस्तारित मन्त्रिपरिषद्मा कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयका जिम्मेवारी पाएका मन्त्री मा. प्रमोद कुमार यादवबाट राजपत्रमा प्रकाशन गर्न प्रथम फाईल सदर गर्नु भएको छ । प्रदेश सरकारले प्रदेशभित्र विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदेश सरकारका तर्फबाट कदर तथा सम्मान स्वरुप पदक प्रदान गर्न आवश्यक रहेकोले कानूनी व्यवस्था गरेको छ । प्रदेश सरकारले प्रशासन, राजनीति, अर्थ, कानून, साहित्य, विज्ञान, संस्कृति, सामाजिक विकास, वातावरण, पूर्वाधार विकास, पर्यटन, प्रविधि तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा प्रदेशभित्र विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई हरेक वर्ष प्रदेश स्थापना दिवस अगावै घोषणा गरी प्रदेश प्रमुखबाट प्रदेश स्थापना दिवसका दिन सुशोभन समारोह बीच पदक प्रदान गर्ने व्यवस्था रहेको छ । सम्वत् २०७२ सालमा घोषणा भएको नेपालको संविधानले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भइ संविधानको धारा ५६ बमोजिम नेपालको संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । त्यसैगरी संविधानको धारा १७५ अनुसार प्रदेश व्यवस्थापिका एक सदनात्मक प्रदेश सभाको रुपमा रहेको छ । यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश स्तरीय चुनाव मार्फत प्रदेश सभा स्थापना गरी प्रदेश सभाको पहिलो बैठक बसेको दिन माघ २१ लाई “प्रदेश स्थापना दिवस’’ का रुपमा प्रदेश प्रमुखबाट पदक वितरण गरिनेछ ।

पदक सिफारिसका आधारः

पदकका लागि सिफारिस गर्दा देहायका आधारमा गर्नु पर्ने छः– प्रदेशको गौरव वृद्धि गर्ने कार्यमा विशेष योगदान पु¥याएको, आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी प्रदेशको प्रतिष्ठालाई योगदान पु¥याएको, सरकारी सेवासँग सम्बन्धित व्यक्तिको हकमा आफूलाई तोकिएको काम प्रशंसनीय रूपमा सम्पादन गरेको, कुनै साहसी वा बुद्धिमत्तापूर्ण काम गरी सार्वजनिक हितको लागि अनुकरणीय र विशेष योगदान पु¥याएको, संघीयता कार्यान्वयन र प्रदेश तहको अधिकार सुनिश्चित गराउन योगदान पु¥याएको, राजनीतिक वा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको, विपद व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको वा भूमिका निभाएको, औद्योगिक वा व्यवसायिक क्षेत्रमा उल्लेखनीय/उदाहरणीय कार्य गरेको व्यक्तिलाई छनौट गर्ने छ ।

प्रदेश सरकारबाट प्रदान गरिने पदक मर्यादाक्रम अनुसार १५ प्रकारका रहेका छन्

आफ्नो क्षेत्रमा प्रदेशको गरिमा राष्ट्रिय/अन्तर्र ाष्ट्रिय स्तरमा बढाएको व्यक्तिलाई प्रदेश रत्न पदक प्रदान गर्नेछ, आफ्नो क्षेत्रमा अनुकरणीय भूमिका निर्वाह गरेक व्यक्तिलाई ‘मुख्यमन्त्री प्रज्वल तारा पदक’ प्रदान गर्नेछ, प्रदेशको पहिचान र उत्थानको लागि योगदान पु¥याएको व्यक्तिलाई ‘रमेश महतो पदक’ प्रदान गर्नेछ, जनस्तरमा लोकप्रिय र प्रशंसनीय काम गर्ने जनप्रतिनिधि र समाजसेवी व्यक्तित्वलाई ‘प्रदेश जनसेवा पदक’ प्रदान गर्नेछ, समाज सेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, समाज सुधार वा साँस्कृतिक विषयमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई ‘प्रदेश समाज सेवा श्री पदक’ प्रदान गर्नेछ, कला, भाषा, साहित्य संगीत, शिक्षा, खेलकुद विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई प्रदेश मेधावी पदक प्रदान गर्नेछ, प्रदेश भित्रका विश्वविद्यालयबाट विद्यावारिधि गरी प्रदेशमा बसोवास गर्ने व्यक्तिलाई ‘ प्रदेश विद्याभूषण पदक’ प्रदान गर्नेछ, ईमान्दारीपूर्वक, उत्कृष्ट एवं प्रशंसनीय कार्य गर्ने कर्मचारीलाई प्रदेश सेवा उत्कृष्ट पदक प्रदान गर्नेछ, शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट योगदान पु¥याएका विद्यालयका शिक्षक, प्रधानाध्यापक र विश्व विद्यालयका पदाधिकारीलाई ‘प्रदेश शैक्षिक उत्कृष्ट पदक’ प्रदान गर्नेछ, प्रदेश सरकारले मनोनित गरेका विभिन्न निकायमा सेवारत रही कुशलतापूर्वक अनुकरणीय रुपमा जिम्मेवारी पूरा गर्ने व्यक्तिलाई ‘प्रदेश गौरव पदक प्रदान गर्नेछ, संघीयता स्थापनाका लागि जीवन आहुति दिने व्यक्तिलाई प्रदेश विभूति पदक’ प्रदान गर्नेछ, विपद् उद्धार क्रममा अभूतपूर्व क्षमता प्रर्दशन गरी वीरता र साहसपूर्ण कार्य गरी उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई ‘प्रदेश शूरवीर पदक’ प्रदान गर्नेछ, कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी उत्प्रेरक भूमिका खेल्ने किसानलाई ‘प्रदेश किसान रत्नक पदक’ प्रदान गर्नेछ, प्रदेश भित्रको पर्यटन क्षेत्रको विषयमा उल्लेखनीय योगदान गरेको व्यक्तिलाई’ पर्यटन शिखर पदक’ प्रदान गर्नेछ, सामाजिक सद्भाव छुवाछुत तथा सामाजिक विभेद अभियन्ता, साँस्कृतिक पहिचानका लागि उल्लेख्य योगदान गरेको व्यक्तिलाई’ सामाजिक अभियन्ता पदक’ प्रदान गर्नेछ साथै पदकका अतिरिक्त पदक प्राप्त गर्ने व्यक्तिलाई प्रदेश सरकारले नगद पुरस्कार समेत प्रदान गर्न सक्ने व्यवस्था उल्लेख भएको छ ।

एकभन्दा बढी पदक पाउने व्यक्तिले आफूले पाएका पदक लगाउँदा मर्यादाक्रम अनुसार दाहिने तर्फबाट लगाउनु पर्नेछ । कुनै व्यक्तिले आफूले प्राप्त गरेको पदक हराएमा वा नष्ट भएमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय वा सो मन्त्रालयले तोकेको ठाउँबाट खरिद गर्न सक्नेछ । प्रदेश सरकारबाट प्रदान गरिने पदक जस्तो नाम, बनोट र आकृति कायम गरी कुनै संस्था वा व्यक्तिले कुनै पदक दिन पाइने छैन । प्रदेश सरकारले आवश्यकता अनुसार पदकको आकार तथा बनोटमा थपघट वा हेरफेर गर्न सक्नेछ । यस ऐन बमोजिम कुनै व्यक्तिलाई प्रदान गरिएको पदकलाई प्रदेश सरकारले निम्न अवस्थामा रद्द गर्न सक्नेछः आफूले प्राप्त गरेको पदक कसैलाई बिक्री गरेमा वा बन्धकी राखेमा, आफूले प्राप्त गरेको पदकको मर्यादा विपरीत हुने गरी पदकको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा, प्रदेशको वा मातृभूमिको अपमान वा मानमर्दन गरेमा, प्रचलित कानून विपरित राष्ट्रको मर्यादामा आघात हुने कुनै कार्य गरेको प्रमाणित भएमा । कसैले यस ऐन बमोजिम प्राप्त गरेको कुनै पदक स्वेच्छाले फिर्ता गर्न चाहेमा त्यस्तो पदक आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा बुझाउन सक्नेछन् । तर प्रदेश पदक सम्बन्धमा बनेको ऐन पूर्ण कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले नियमावली तत्कालै ल्याउन श्रेयकर हुनेछ । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा यसको निकै महत्व रहेको छ । तक्मा वा पदक कुनै पनि व्यक्ति वा संस्थालाई मान–सम्मानका लागि प्रदान गर्दछन् तर पदकको असमान वितरण तथा गलत व्यक्तिको छनौटले गर्दा पदकको गरिमा घटाउँछ ।

नेपालमा पदक छनौट तथा वितरण सम्बन्धमा व्यापक जन–गुनासो हुने गरेको सुनिन्छ । पदक वितरण तथा छनौट समितले गम्भीर भएर पदकको गरिमा र महत्व रहने गरी व्यक्ति छनौट गर्नु पर्दछ । आजसम्म “पदक’’ नेपाल सरकारले मात्र दिने गरेकोमा अब उप्रान्त प्रदेश सरकारले पनि पदक वितरण गर्ने भएकोछ यसैगरी स्थानीय सरकारले पनि पदक वितरण सम्बन्धमा कानून तर्जुमा गरी पदक वितरण गर्न सक्ने अवस्था आउँन सक्छ । यसरी, तीनै तहमा पदक वितरण भएमा पदकको गरिमा घटने त होईन भन्ने सवाल छलफलको विषय वस्तु बनेको छ ।

(लेखक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयका निमित्त प्रदेश सचिव, प्रदेश नं. २ जनकपुरधाम (pradhandk1981@gmail. com)

Comment


Related News

Latest News

Trending News