जनकपुरधाम । सर्वहाराहरुको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका केन्द्रीय सदस्य जुली महतोले मंगलवार गंगासागरमा आयोजित मटकोर विधिमा पैसा लुटाएको भन्दै व्यापक आलोचना गरिएको छ ।
अन्य समय जनकपुरधाममा आउँदा सर्वसाधारण संग पुरा मुख नबोल्ने केन्द्रीय सदस्य महतो भने आगामी चुनावलाई मध्यनजर गर्दै सर्वसाधारणको बीच गई पैसा लुटाई रहेको देखिएको छ ।स्थानीय पत्रकार विजय साह भन्छन्–‘जुली महतोज्यू, यो बार डान्सर वा नर्तकी होइनन् । विवाह पञ्चमीको इतिहासमा यस्तो दृश्य देखिएको थिएन । तपाईंले बार डान्सर वा गायकलाई टिप्स दिदा यसरी पैसा छर्केर दिनु भएको होला । तरिका मन परेन । मान्छु तपाईंसँग धेरै पैसा छ ।’ नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री रघुविर महासेठकी श्रीमती तथा उद्योग पति उपेन्द्र महतोकी बहिनी जुलीले पैसा लुटाई रहेको दृश्यले धेरैले आलोचना गरेका छन् । सीताराम महोत्सवमा प्रत्येक बर्ष जनकपुरधामवासीले धूमधाम तथा हर्षोउल्लासका साथ मनाउने गरेका छन् । तर, यस्तो दृश्य भने आज सम्म नदेखिएको जनकपुरधाम उप– महानगरपालिका–१ बस्ने विन्देश्वर साह बताउँछन् । यो हाम्रो संस्कृति होइन्, काठमाण्डूको होटल, रेष्टुरेन्टको संस्कृति हुन सक्ने भन्दै उनले आक्रोश पोखेका छन् । उनले भने–‘चुनावको अग्रीम तयारी हुँदैछ, तर हाम्रो संस्कृति र परम्परालाई मानमर्दन गर्ने कार्य स्वीकार्य हुँदैन् ।’


