प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा वुधवार भगवान सीताराम विवाह महोत्सव हर्षोल्लासपूर्वक मनाइँदैछ ।
एक साता अघिदेखि नै बैवाहिक विधिहरू सुरू भए पनि वुधवार हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा जनसागर ओर्लेका छन् । त्रेतायुगमा भगवान सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार राम गुरू विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरिएको छ । सोही विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । भगवान रामको चरित्र लौकिक र अलौकिकरूपमा लोकमानसमा अङकित छ । अलौकिकरूपमा रामलाई निर्गुण ब्रम्ह एवम् सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा ,बुद्धिरूपा, ब्रम्हमयी र योगमायाको संज्ञा दिइएको छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासकासाथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् । मिथिलामा कुनै पनि धार्मिक ,सांस्कृतिक अनुष्ठानमा सीतारामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताकारूपमा विवाह गर्ने चलन छ । मैथिल संस्कृति अनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकीमन्दिरबाट रामसीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगि स्वयम्बर र परिछन विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।
त्यस्तै सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दे आफूलाई धन्य सम्झन्छन् । महोत्सवमा विदाईको क्षण अत्यन्त कारूणिक हुन्छ महोत्सवमा सहभागी श्रद्धालुहरू प्रतीकात्मक सीतालाई आफ्नै छोरीलाई विदाई गरेझै. भक्कानो छाडेर रूने गर्छन , सो दृश्यले सबैको हृदय विदीर्ण हुन्छ । सो बखत सखीहरूद्वारा गाइने समदाउन गीतले प्रतीकात्मक विवाह वास्तविक विवाहझैं अनुभूति हुने गरेको छ । यो महोत्सवले पनि मिथिलाको प्राचीन स्वरूप र त्ससबखतको सांस्कृतिक उत्कर्षलाई प्रसङ्गहरूलाई प्रस्ट गर्दछ । जसले सम्पूर्ण जीवनशैलीलाई अत्यन्त सहज,अकृत्रिम, स्वाभाविक बनाएको पुष्टि हुन्छ । सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीतारामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुकरणीय रहेको छ । महोत्सवका दिन श्रद्धालु विहान सबैरेदेखि पवित्र सरोवरहरूमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजन , कीर्तन , रामलीला , झाँकी र प्रवचनको पनि आयोजना गर्ने चलन रहेको छ । विवाह महोत्सवलाई लिएर यहाँका प्रशासनको चौतर्फी तैनाती भएपनि स्वास्थ्य मापदण्डको भने कुनै ख्यालनै गरिएको छैन् । यहाँ विवाह महोत्सवको अवसरमा लाखौं श्रद्धालु भक्तजनहरु उपस्थित भएपनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास भने देखिएको छैन् । विश्वका कयौं मुलुकहरुले एक अर्का संग हवाई यात्रा बन्द गरेको छ । भारतमै २५ जना भन्दा बढी ओमिक्रोनवाट ग्रसित भएका विरामी फेला परि सकेको छ तर, यहाँको अवस्था भने बेग्लै देखिएको छ ।
कोरोना भाईरसवाट बच्नकालागि कम्तीमा मास्क र ६ फिटके दुरी कायम गर्न स्वास्थ्य मन्त्रालयले पटक पटक आग्रह गरेपनि यहाँ त्यसको अलिकता पनि ख्याल गरिएको छैन् जसले भयावह परिस्थिति सृजना गर्न सक्ने भएपनि सम्वन्धित पक्षले भने चासो नराख्नु ठूलो दुर्घटनालाई निम्तो दिनु सरह हो । जनकपुरधाममा दुई दिन पहिला देखिनै देशी विदेशी श्रद्धालुहरुको अत्यधिक भीड रहेपनि यहाँ भने शौचालय, खानेपानी लगायतमा भने व्यापक लापरवाही देखिएको छ । रामन्दिरको पूmलवारी, गोपालधर्मशाला, पगलाबाबा धर्मशाला, बाह्रविघा मैदान लगायतका स्थानमा श्रद्धालुहरुको घुइचो भएपनि त्यहा शौचालय र खानेपानीको भने व्यापक अभाव देखिएको छ । जनकपुर वृहत्तर क्षेत्र विकास परिषदले भने यस भन्दा पहिलाको विवाह महोत्सवहरुमा अस्थायी शौचाल बाह्रविघा मैदानमा बनाउने गरेका थिए तर, यस पटक भने व्यवस्था गरेका छैनन् । अहिले पनि अस्थायी शौचालयको सामग्री वृहत्तरको कार्यालयमा राखिए भए पनि त्यसलाई भने सदुपयोग गरिएको छैन् जसले श्रद्धालुहरुलाई ठूलो समस्याको सामना गरि रहनु परेको छ ।


