अपडेट 
२०७८ मंसिर २२, बुधबार ०७:४८

जनकपुरधाममा प्रत्येक वर्ष मङ्सिर शुक्ल पंचमीका दिन राम जानकी विवाहलाई विवाह वर्षगाँठको रूपमा मनाइने चलन प्राचीन कालदेखि नै चल्दै आएको छ । यस विवाह पञ्चमी पर्वलाई मूल रूपले हिन्दूहरू आफ्नो धार्मिक परम्परा अनुसार वडो धूमधामका साथ मनाउँछन् । यसले मिथिला र अयोध्याको वैवाहिक सम्बन्धलाई उजागर गर्दै आएको छ । प्राचीन कालमा यी देश विद्वान ऋषि राजा जनक र महाराज (सम्राट) दशरथले गर्दा निकै प्रसिद्धि पाएका थिए । जनकपुरधाम प्राचीन मिथिलाको राजधानी नगर थियो । प्राचीन मिथिला पूर्वमा कोसी, दक्षिणमा गंगा, पश्चिममा नारायणी तथा उत्तरमा हिमालयबाट घेरिएको क्षेत्र थियो । मिथिला रामायण कालमा अद्भूत र अलौकिक राष्ट्र थियो । अहिले मिथिला टुक्रिएर नेपाल भारतमा विभाजित छन् । प्राचीन मिथिलाको राजधानी नगर जनकपुरधाम अहिले नेपालमा रहेको छ । हाल जनकपुरधाम प्रदेश नं. २ को राजधानी तथा धनुषा जिल्लाको प्रशासनिक मुख्य नगरको रूपमा रहेको छ । जनकपुरधामलाई मंदिर, कुटी र पोखरीहरूको शहरका रूपमा जानेका छन् । राजा जनकले एउटा प्रण के लिएका थिए ? भने जसले शिव धनुषलाई भंग गर्ने छ त्यसैसँग सीताको विवाह गर्ने छु । यस धनुष भंग महाउत्सवमा विभिन्न देशका राजा महाराजाहरू सहभागी भए र धनुष भंग गर्ने प्रयास गरे पनि कसैले धनुषलाई हल्लाउनसम्म पनि सकेनन् ।

अन्तमा यसै कार्यक्रममा विश्वमित्र सँगै अयोध्याका राजकुमार राम र लक्ष्मण पनि सहभागी थिए । अन्तमा रामद्वारा त्यो शिव धनुष भंग गर्ने काम भयो । त्यहाँ उपस्थित राजा महाराजाहरू लञ्जित भएर आ–आफ्ना घर फर्किए । मिथिलामा खुशीको वातावरण बन्यो यसै घटनाको यादमा प्रत्येक साल धनुषभंग उत्सवको आयोजना गरी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । यो उत्सव जनकपुरधामको रंगभूमि मैदानमा सम्पन्न गरिन्छ । धनुष भंग कार्यक्रम सकिए लगतै स्वयंवरको कार्यक्रम शुरू हुन्छ । यस कार्यक्रममा राम मंदिरका महन्थ महाराजा दशरथ र जानकी मंदिरका महन्थ ऋषि राजा जनक राम र सीताका पिताको भूमिकामा रहन्छन् । नेपाल र भारतका विभिन्न क्षेत्रबाट यस कार्यक्रममा बडो उत्साहका साथ भाग लिन लाखौंको संख्यामा सहभागी हुन आएका हुन्छन् । वर्तमान समयमा केही विदेशी पर्यटकहरू समेत सहभागी भएको हेर्न सकिन्छ । दिन प्रति दिन यस उत्सवको महत्व र महिमा बढ्दै गएको देखिन्छ । यो नेपाल भारतको बीचमा एउटा महामेलाको रूपमा आफ् ना चिनारी कायम राखेको छ । यस महामेलामा उद्योगी व्यापारीहरूले आ–आफ्ना व्यापारलाई बढाउँदै आएका छन् । बेरोजगारहरूलाई रोजगारीको अवसर प्रदान गरेको छ । स्वर्यवर पश्चात विवाह मण्डप र जानकी मंदिरमा विवाहोत्सव कार्यक्रमको शुरूआत हुन्छ । यस विवाहोत्सव कार्यक्रममा राम सहित बाँकी तिनै भाइ लक्ष्मण, भरत र शत्रुघ्न समेतको विवाह मिथिलाकी राज कुमारीहरू क्रमशः सीता, उर्मिला, माण्डवी र श्रुतिकृतिसँग वैदिक परम्परा अनुसार सम्पन्न भएको थियो । यी सबै राजकुमार र राजकुमारीहरू अग्निको परिक्रमा गरी एक अर्का प्रति मिथिला परम्परा अनुसार शपथ लिने काम गरेका थिए ।

राजा जनक र महाराज दशरथले एकै साथै सबै दुल्हा– दुल्हीहरूलाई आर्शिवाद प्रदान गरेका थिए । राम मन्दिरबाट एउटा अति विशाल जुलुस जानकी मंदिरलाई पार गर्दै रंगभूमि मैदानमा धनुष यज्ञ तथा स्वयंवर कार्यक्रममा पुग्छन् । राम र सीताका प्रतिमालाई दुईवटा पालकीमा राखेर २–२ वटा साधुहरू काँधमा बोकेर लगेका हुन्छन् । त्यही विशाल भीडमा राज जानकीद्वारा एक अर्कालाई माला हेरफेर गर्ने काम सम्पन्न हुन्छ । जसलाई हामी स्वयंवर कार्यक्रम भन्दछौं । त्यहाँ ठूलो स्वरमा रामजानकीको जय जयकार गरिएको हुन्छ । त्यहाँ सनातन धार्मिक मत्रोउचारणद्वारा मिथिलाको व्यवहारिक विधि विधान अनुसार सम्पन्न हुन्छ । त्यहाँ विभिन्न किसिमका लोकगीत तथा लोकनृत्यहरु प्रस्तुत गरिएका हुन्छन् । मानिसहरू निकै रुचिसाथ आनन्द लिएका हुन्छन् । त्यहाँ विभिन्न किसिमका बैण्ड पार्टीहरू बाजा बजाएर कार्यक्रमलाई अति मनमोहक बनाइ रहेका हुन्छन् । त्यस पछि वैवाहिक कार्यक्रम जानकी मंदिर र विवाह मण्डप (मडवा) मा शुरू हुन्छ । त्यहाँ हजारौं भक्तजनहरू राम जानकीको जय जयकार सहित जुलुसमा भाग लिएका हुन्छन् । नेपाल र भारतका विभिन्न क्षेत्रबाट मानिसहरू निकै संख्यामा जनकपुरको विवाह पञ्चमी मेला भर्न आएका हुन्छन् । पूरै जनकपुरधामलाई राम्ररी सञ्जाइएको हुन्छ । जानकी मंदिर दुल्ही जस्तै सिंगारिएको हुन्छ । विभिन्न रंगको विद्युतीय बल्वहरूबाट जानकी मंदिरलाई सजाइएको हुनाले जानकी मंदिरको प्राङ्गणमा मानिसहरू अति रमाइलो महसूस गरेका हुन्छन् । त्यहाँ रामलीला पार्टी रातभर राम सीताको जीवनीमा आधारित रामलीला प्रदर्शन गरेको हुन्छ जो निकै आकर्षक रहेको हेर्न सकिन्छ ।

यो रामलीला विवाह पंचमीका दिनबाट शुरू भई पूर्णिमासम्म प्रत्येक रात निरन्तर देखाइएको हुन्छ । स्थानीय तथा प्रादेशिक सरकार, जानकी मन्दिर, राम मन्दिर तथा विभिन्न क्लब र धार्मिक संस्थाहरूले भरपूर सहयोग गरेका हुन्छन् । यस मेलालाई देश तथा विदेशबाट आउने साधु संतहरूलाई निःशुल्क भोजन तथा आवासको व्यवस्था सम्बन्धित निकायबाट व्यवस्थापन गरिएको हुन्छ । पूरै जनकपुरधाम तथा यसका छिमेकी गाउँ टोलहरू अतिथिबाट भरिभराउ हुन्छन् । मेलामा सबै मिलेर आनन्द लिएका हुन्छन् र सँगै बजारमा इच्छाएका कुराहरू किनमेल समेत गरेका हुन्छन् । भोली पल्ट विवाहमा आएका दुल्हा–दुल्ही तथा बारातीजनलाई एक साथ विदाइ कार्यक्रम हुन्छ । यसमा दुल्हीका पक्षबाट निकै मूल्यवान बस्तुहरू दहेजको रूपमा अहिले पनि दिने चलन कायमै छ । आजभन्दा चार/पाँच दशक अधि रंगभूमि मैदानमा बाजागाजाका साथ हाती, घोडा बैलगाडा समेतको जुलुस मैदानमा खचाखच भरिएका हुन्थे तर आजकल त्यसको ठाउँमा आधुनिक सवारीहरूका प्रयोग हुन थालेका छन् । यस पर्वले रामायणकालीन अवशेषको याद गराउँछ । हामी राम सीतालाई देव/देवीका अवतारको रूपमा पूजापाठ गर्दछौं । देवी उपनिषद् पुराणका अनुसार सीताको पूरै जीवन एउटा आदर्श नारीको रूपमा वितेको देखिन्छ । त्यसैले जगत जानकीलाई प्राचीन काल– देखि वर्तमानसम्म एउटा आदर्श तथा पतिब्रता नारीको उदाहरणको रूपमा लिने गरिन्छ । आज पनि मानिसहरू सीताको जीवनको वाटोलाई अपनाई आफ्नो जीवनलाई खुशी तथा सुखी बनाउन चाहन्छन् ।

खास गरी मिथिलाकी नारीहरू प्रत्येक पाइलामा उहाँको व्यावहारिक जीवनलाई अपनाउन चाहन्छन् । खास गरी नेपाल भारतका हिन्दूहरू निकै रुचीसाथ यस विवाह पञ्चमी मेलामा सहभागी हुन आएका हुन्छन् । वर्तमान समयमा केही विदेशीहरू समेत यसमा सहभागी हुन थालेका छन् । यस्ता महामहोत्सवलाई अक्षुण्ण कायम राख्न जनकपुर नगर भित्र ठाउँ/ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था हुनु नितान्त आवश्यक रहेको देखिन्छ । जनकपुरधाम भित्र सर सफाइको अवस्थामा केही सुधार भए पनि अझै सुधारको आवश्यक्ता रहेको देखिन्छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पोखरीहरूको सरसफाइमा अझ ध्यान दिनु पर्ने कुरा छ । मेलामा बगलीमारा तथा माग्नेहरूका उचित व्यवस्था हुनु पर्दछ । अन्यथा मेला अझै भद्दा बन्दै जानेमा कुनै शंका छैन । यस्ता चुनौतीपूर्ण कामहरूमा स्थानीय सरकार बढी सचेत तथा सजग रहनु पर्ने देखिन्छ । विवाह महोत्सवले हाम्रो परम्परागत संस्कृति, विश्वास मान्यतालाई निरन्तरता दिएकोमा हामी गौरवको अनुभूति गरिरहेका छौं । भविष्यमा पनि अनन्त कालसम्म यस्ता सांस्कृतिक सम्पदाहरूलाई जोगाउन सबैको दायित्व हो । इतिश्री । लेखक अनुसन्धानकर्ता तथा सांस्कृतिक एक्टीभिष्ट हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News