२०७८ मंसिर २३, बिहीबार ०७:२६

जनकपुरधाम । त्रेता युगकालीन भगवान सीताराम विवाहको परम्परागत संस्मरण गर्दै सीताको जन्मथली जनकपुरधाममा बुधवार मिथिलाको विधि अनुसार वैवाहिक कार्यक्रम भएको छ ।

भारतको अयोध्याबाट आएको जन्ती सहित साँझ सीताराम स्वयंवरमा भारी संख्यामा नेपाल र भारतका श्रद्धालुहरु सहभागी थिए । नेपाली सेनाको बैण्डबाजा सहित जानकी मन्दिरबाट निस्केको भगवतीको डोलासँगै ठूलो संख्यामा सहभागी भक्तजनहरुले बारहबिघा मैदानमा स्वयंवरको परिक्रमा गरे ।परम्परागत रुपमा त्यहाँ भगवान रामको डोलालाई सीताको डोलाले परिक्रमा गर्छ । कोभिड–१९ संक्रमण फैलिएको कारण विगत दुई वर्ष सीताराम महोत्सव औपचारिकतामा सीमित रहेको थियो ।भारतको अयोध्याबाट सन्तमहन्थ सहित आएको जन्ती विवाह समारोहमा सम्मिलित भएको हो ।भीडमा मास्क लगाएकाहरु भने कमै देखिएका थिए । ‘श्रद्धालुहरुको अत्यधिक भीड बढेपनि मन्दिरमा दर्शन पूजामा कठिनाई भएको छैन्’ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भने, सम्पूर्ण व्यवस्थापन स्थानीयको सहयोगमा मन्दिरले नै गरेको छ ।आफ्नो स्वेच्छाले मन्दिरमा सहयोग गर्ने बाहेक कसैसित चन्दा माग नगरिएको उनले बताए । सरकारी सहयोग प्राप्त नभए पनि अतिथिहरुको स्वागत र महोत्सवको आयोजनामा कुनै कमी आउन नदिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बताउँछन् । दुई दिनदेखि मानिसले खचाखच भरिएको जनकपुरधाममा पर्याप्त शौचालय, सुत्ने स्थल नहुँदा सहभागीहरुले सास्ती भोग्नु प¥यो ।नेपालको भन्दा भारतबाट आउने श्रद्धालुहरुको संख्या यस वर्ष बढेको बताइएको छ । परम्परागत रुपमा मनाइने सीताराम महोत्सवलाई अझ भव्यता प्रदान गरी पर्यटकहरुलाई रोक्न अन्य धार्मिक, सांस्कृतिक स्थलहरुको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताए ।

‘सीताराम विवाह महोत्सवमा आउने श्रद्धालुहरुलाई जनकपुर लगायत प्रदेशका अन्य धार्मिकस्थलहरुको भ्रमण गराउन प्रदेश सरकार योजनाबद्ध रुपमा कार्य गरिरहेको छ’ उनले भने, प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक महत्वका धरोहरहरुको संरक्षण र व्यवस्थित गर्ने कार्य भइरहेको छ । नाचगान सहित भएको सीताराम विवाह समारोहमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास राजा जनकको भूमिकामा थिए ।अयोध्याका सन्तमहन्थहरु जन्ती थिए ।हजारौ श्रद्धालुहरुले भरिभराउ जानकी मन्दिरको भित्री बाहिरी परिसरमा यथार्थमै बिहा भएको भान भइरहेको थियो । समारोहमा सहभागी भक्तजनहरुले भगवान सीतारामको विवाहको अनुभूति गरे । राती विवाह महोत्सवमा सहभागी भक्तजनहरुले अलौकिक दर्शन भएको महसुस गरेको बताए । ‘भगवान सीतारामको विवाह उत्सवमा सहभागी हुन पाउँदा धन्य भएकी छु’भारत मधुवनी जिल्लाकी सुनैना साहले भनिन्, पहिलो पटक विवाह महोत्सवमा सहभागी हुँदा मन आनन्दित भएको छ । विहिबार रामकलेवा (विदाई) भएपछि सीताराम विवाह महोत्सवको सप्ताह व्यापी कार्यक्रमहरु औपचारिक रुपमा नै सम्पन्न हुनेछ । भारतबाट आएका जन्ती सहित अन्य स्थानहरुबाट आएका साधुसन्तहरुलाई समेत विदाई गरिएपछि विवाह महोत्सवको सम्पूर्ण कार्य पूरा हुने महन्थ रामतपेश्वर दासले जनाए । विवाह महोत्सवमा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा बनाइएको थियो ।जानकी मन्दिरसित जोडिने सडकहरुमा सवारी साधनलाई पूर्ण रुपमा निषेध गरिएको थियो ।सादा र पोशाकमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएको कारण पकेटमारीको घटनामा समेत कमी आएको बताइएको छ ।

जनकपुरधाम नगरक्षेत्रमा विभिन्न संघसंस्थाहरुले निःशुल्क भोजन, स्वास्थ्य शिविर लगायतका सेवा प्रदान गरेका थिए ।प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन कार्यालयले मुख्य प्रवेशहरुमा स्वागतद्वार निर्माण लगायत बारहबिघामा सुत्ने तीर्थालुहरुका लागि पण्डाल, शौचालय, पिउने पानीको प्रबन्ध मिलाएको मन्त्री सत्रुधन महतोले जनाए ।

Comment


Related News

Latest News

Trending News