प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले संचार क्षेत्रको विकासलाई प्रदेश सरकारले प्रथामिकतामा राखेर अगाडी बढेको बताएका छन् ।
सप्तरी शम्भुनाथ नगरपालिका–७ भगवतपुरमा शनिबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको तेस्रो अधिवेशनमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । मन्त्री साहले संचार क्षेत्रको विकास र संचारकर्मीहरुको समस्या सामाधान गर्न प्रदेश सरकार योजनाबद्ध ढङ्गले अगाडि बढेको बताए । संचार क्षेत्रको विकास र संचारकर्मीहरुको समस्यालाई सम्बोधन गर्न प्रदेश सरकार धेरै अगाडि बढिसकेको छ, मन्त्री साहले भने, पत्रकारहरुको क्षमता अभिबृद्वि गर्दै सुविधा सम्पन्न बनाउने योजनाका साथ आम संचार प्राधिकरण र मिडिया काउन्सिल गठन भएको छ । मन्त्री साहले संचार क्षेत्रलाई समावेशी बनाउनु पर्नेमा जोड दिए । संचार क्षेत्र समावेशी भएमा मात्र लोकतन्त्र सुदृढ हुनेछ, मन्त्री साहले भने, देशमा रहेका उत्पीडित र बहिष्करणमा परेको समुदायको संचारक्षेत्रमा पहुँच हुन सकेमा मात्र उनीहरुको समस्या बाहिर आउने भएकाले संचारक्षेत्र समावेशी हुनु जरुरी छ । देशमै सप्तरीका पत्रकार हरुले स्वस्छ र मर्यादित पत्रकारिता गरेको चर्चा गर्दै मन्त्री साहले पत्रकारिता क्षेत्रमा भएका सानतिना विकृतिहरुलाई सुधारेर अगाडि बढ्न आग्रह गरे । पत्रकार हरुले सरकारको कमि–कमजोरीलाई औंल्याउंदै प्रदेशको विकास र समृद्धिका लागि भूमिका निर्वाह गनुपर्ने भन्दै उनले प्रदेशमा भएको आम समास्या उठान भएमात्र सोही कुरा सरकारलाई योजना बनाउन सहज हुने उल्लेख गरे ।
प्रदेश आम संचार प्राधिकरण प्रदेश नम्बर २ का अध्यक्ष श्यामसुन्दर यादवले संचार माध्यमहरुलाई व्यवस्थित गर्न योजना बनिसकेको बताए । उनले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न प्रशिक्षण तथा तालिमको तयारी भईसकेको जनाए । यादवले संचार क्षेत्रमा आदिबासी जनजाति सहितका पछाडि परेका समुदायको आकर्षण बढाउने उद्देश्यका साथ आमसंचार प्राधिकरणले आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाएको उल्लेख गर्दै उत्पीडित समुदायका अगुवाहरुले पत्रकारितामा आउन चाहने युवाहरुलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेल,जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विनोद चौधरी, जसपाका प्रदेश २ का उपाध्यक्ष शम्भु झा, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, थारु कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष शिव नारायण थारु, थारु भाषा साहित्य केन्द्र नेपालका उपाध्यक्ष बुधसेन चौधरी लगायतकाले आ–आप्mनो धारणा राखेका थिए ।


