२०७८ मंसिर २६, आईतवार ०७:४६

रौतहटको माधवनारायण नगरपालिका–५ मा रहेको राधाकृष्ण माध्यमिक विद्यालय मिठुअवाको अवस्था दयनीय बनेको छ ।

जनप्रतिनिधि र प्रधानाध्यापक उपेन्द्र जयसवालको लापरवाहीका कारण राधाकृष्ण माध्यमिक विद्यालयको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको हो । प्रअ तथा म्याद नाघिसकेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको गैरजिम्मेवार पूर्ण रवैयाको कारण विद्यालयको भौत्तिक र शैक्षिक अवस्था दिन प्रति दिन दयनीय बनेर गएको छ । कक्षा १२ सम्म पठन–पाठन हुने सो विद्यालयको जस्ता पताले छाएको भवनको छाना हावाहुरीले उडाइदिएको वर्षौ बितिसक्दा पनि छानाको मरम्मत सम्भार हुन सकेको छैन । त्यस्तै विद्यालयको मुख्यद्वारमै लगाइएको फलामको ढोका जीर्ण भइ विद्यालय परिसर गाइवस्तुको लागि चरण क्षेत्रको रुपमा परिणत भएको छ । सरसफाइको अभावमा शौचालय र विद्यालय परिसर फोहोरले दुर्गन्धित बनेको छ भने विद्यालयमा खानेपानी र शौचालयको समेत समस्या रहेको स्थानीयवासीहरुको गुनासो छ । विद्यालयमा रहेको शौचालय समेत सरसफाईको अभावमा फोहोरले प्रयोग विहिन भएका कारण विद्यार्थीहरु शौच गर्न खेतमा जान बाध्य बन्ने गरेका छन् भने छात्राहरु शौचालय अभावकै कारण विद्यालय जानबाट वञ्चित बन्ने गरेका छन् । खानेपानीको व्यवस्था नहुंदा विद्यार्थीहरु पानी खानकै लागि अन्यन्त्र जानु पर्ने बाध्यत छ । विद्यालयमा म्याद नाघेको व्यवस्थापन समिति नै अहिलसम्म कायम रहेको छ ।

म्याद नाघेको समितिले आफूखुशी शिक्षक सरुवा र भर्ना गर्ने गरेको कारण विद्यालयमा पढाईको अवस्था कमजोर हुंदै गएको अभिभावकहरुको दुखेसो छ । विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन गर्न अभिभावकहरुले माग अघि सारेका छन् । नयां नेतृत्व चयन नभएसम्म विद्यालयको भौत्तिक एवं शैक्षिक अवस्था सुधार हुन नसक्ने भन्दै यथाशीघ्र विद्यालय व्यवस्थापन समितिको चयनको लागि पहल हुनु पर्ने माग गरिएको छ । व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक उपेन्द्र जयसवाल र नगर प्रमुख वीरेन्द्र यादवलाई विद्यालयको लथालिङ अवस्थालाई सुधार गर्नेतर्फ लाग्न अभिभावकहरुले शनिबार सुझाव सहित ध्यानाकर्षण गराएका छन ।

Comment


Related News