मधेश राजनीतिमा अत्यन्त परिचित रहेका हृदयेश त्रिपाठीले मंगलवार नयाँ दल घोषणा गर्ने भएका छन् ।
बानेश्वर स्थित होटेल एभरेष्टमा विहान ११ बजे त्रिपाठीले पत्रकारहरुको माझ दलको नाम घोषणा गर्ने छन् । त्रिपाठी निकट स्रोतहरुका अनुसार दलको नाम जनता प्रगतिशील पार्टी राखिएको छ ।घोषणा कार्यक्रममा अध्यक्षको रुपमा त्रिपाठीको नाम मात्र सार्वजनिक गरिने छ । नेता त्रिपाठीले राष्ट्रिय जनता पार्टी(राजपा)छाडेपछि भएको संसदीय निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका हुन् ।उनी औपचारिक रुपमा हाल एमालेका सांसद हुन् । दल घोषणा कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, अर्थशास्त्री पूर्व सचिव रामेश्वर खनाल र तुलानारायण साहले त्रिपाठीको प्रशंसा गर्दै नयाँ दलको औचित्यबारे जानकारी दिने बताइएको छ ।घोषणा कार्यक्रममा दलको विधान पनि सार्वजनिक गरिनेछ । नेपाल सद्भावना पार्टीबाट मधेशको राजनीति थालेका त्रिपाठी सांसद र मन्त्री समेत रहिसकेका छन् ।हाल सम्म उनी अन्य नेताको नेतृत्वमा काम गरेका थिए ।
यस पटक स्वयं नै नेतृत्व गर्ने गरी दल गठन घोषणा गर्न लागेका हुन् । एमालेको सांसद रहेका त्रिपाठीले अध्यक्ष भएर घोषणा गर्ने अर्को दलको अध्यक्ष रहने भएपछि कारवाहीमा पर्न सक्ने जोखिम छ ।एमालेले त्यस्तो कारवाही गरे उनको संसद पद गुमिन सक्छ ।


