संघीयताको पहरेदारको रूपमा रहेको प्रदेश–२ सरकार विरुद्ध विभिन्न षड्यन्त्र गर्नेहरुको चलखेल बढेको मुख्यमन्त्री राउतले सचेत रहन आग्रह गरेका छन् ।
सोमबार सर्लाहीको बरहथवा नगरपालिका–१७ को नव निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले भने,‘संघीयता समाप्त पार्ने केही कुत्सित मानसिकताका व्यक्तिहरु प्रदेश सरकार विरुद्ध मोर्चाबन्दी गरेरै षडयन्त्रमा लागिपरेकोले संघीयता पक्षधरहरु सचेत हुनै पर्छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्त जनता समाजवादी पार्टी र प्रदेश सरकार सदैव तत्पर रहेको उल्लेख गर्दै उनले प्रदेशको अधिकार कुण्ठित गर्ने संघीय सरकार विरुद्ध संघर्ष गर्ने एकमात्र प्रदेश २ कै सरकार रहेको दाबी गरे । मुलुकभरकै उत्पीडित समूदायको प्रतिनिधित्व गरिरहेको जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश २ सरकारले पछिल्लो चार वर्षमा गरेको जनपक्षीय कामहरु संघीयता विरोधीहरुले पचाउन नसकेकोले विभिन्न बहानामा प्रदेश सरकारलाई बद्नाम गर्न लागिपरेको बताए । मुलुकभरिकै उत्पीडित समुदाय को प्रतिनिधित्व गर्ने एक मात्र जनता समाजवादी पार्टी रहेको दाबी गर्दै उनले वर्तमान प्रदेश सरकारले जनपक्षीय कामहरु गरेर उत्पीडित वर्गको प्रतिनिधित्व गरेको प्रमाणित भएको उल्लेख गरे ।
उत्पीडित वर्गको उत्थानको लागि प्रदेश सरकारले प्रदेशमा वसोवास गर्ने, दलित, महिला, मुस्लिम, मधेशी, आदिवासी जनजाति लगायतका समुदायहरुको लागि जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गरि सकेको उनले चर्चा गरे । प्रदेश सरकारले ल्याएको दलित सशक्ती करण ऐनले दलितहरुको शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको बताउंदै उनले कोरोनाको कारण अबरुद्ध भएको छोरी शिक्षा बीमा चाडै शुरु गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा राम विश्वास यादव,प्रदेश सभा सदस्य अशोक यादव, संजय यादव, जसपा प्रदेश उपाध्यक्ष राम पृत पासवान, स्थानीय देबानन्द झा, जिल्ला सचिव जय प्रकाश यादव सहितका वक्ताहरुले आ–आप्mनो धारणा राखेका थिए ।


