जनकपुरधाम । पूर्व पश्चिम लोकमार्गको सर्लाही जिल्लाको लालबन्दीमा एक यात्रुवाहक बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार अबेर राती पूर्वबाट पश्चिम तर्फ जांदै गरेको ना ५ ख १४९९ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउंदै गरेको लु ७७ प ९२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछापका ३५ वर्षीय राजेश घिमिरे खत्री रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । दुर्घटनामा टाउकोमा चोट लागी गंभीर घाइते भएका घिमिरेलाई उपचारकोलागि मोडेल अस्पताल लालबन्दीमा लगिएको थियो तर त्यहां उपचार हुन नसकेपछि उनलाई बिशेष उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो । वीरगञ्जमा चिकित्सकहरुले घिमिरेको मृत्यु भएको पुष्टि गरेको थियो । मोटरसाइकललाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजतलास जारिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शवलाई परीक्षणको लागि अस्पतालमै राखिएको जनाइएको छ ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=2s


