२०७८ पुष १, बिहीबार ०७:२१

पूर्व उपप्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबैको पहिचान स्वभिमान र अधिकार स्थापित गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।

सप्तरीको तिरुहुत गाउँपालिका १ स्थिति त्रिकोलमा बुधबार बृहत पार्टी प्रवेश तथा जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले संबिधान अझै अपुरो, अधुरो र त्रुटिपूर्ण रहेकोले संशोधन गर्नुपर्नेमा जोड दिए । मधेशी, आदिवासी जनजाति लगायतका देशका बहुसंख्यक समुदायलाई दमन गरी घोषित नेपालको संबिधान अझै अपुरो र अधुरै रहेको उनले बताए । उनले भने– ‘संविधानमा भएको कमीकमजोरी र त्रुटि सच्याउँदै सबै नेपालीको स्वाभिमान, पहिचान र अधिकार सुनिश्चितताको लागि संबिधान संशोधन गर्नु अपरिहार्य छ ।’ यादवले पहिचान सहितको संघीयताका लागि मधेशी, आदिवासी जनजाति, दलित, खस, मुश्लिम समुदाय विभेद र अन्यायमा परेको समुदाय गोलबद्व हुनुपर्नेमा उनले जोड दिए । आन्दोलनबाट राज्यको शासन र प्रशासनमा सहभागिता बढेको चर्चा गर्दै अध्यक्ष यादवले भेदभाव र बहिष्करणमा परेको समुदायले अझै अधिकार प्राप्त हुन नसकेकोले एकताबद्ध भएर थप राजनीतिक लडाई लड्नुपर्ने आबश्यक रहेको बताए । जनता सामजवादी पार्टीको संघर्ष र आन्दोलनबाट स्थानीय, प्रदेश र केन्द्र सरकार तथा सबै तहका प्रशासनमा समाबेशी प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गर्दै अध्यक्ष यादवले गरिबी तथा बेरोजगारी हटाउन जनता समाजवादी पार्टीले सरकारको नेतृत्व लिनुपर्ने आबश्यक रहेको बताए । अध्यक्ष यादवले बर्तमान चुनावी प्रणाली परिबर्तन गर्नु आबश्यक रहेको बताए । ‘ बर्तमान चुनावी प्रणाली महँगो भयो’, अध्यक्ष यादवले भने–‘ गरिव र विपन्न बर्गको पहुँच हुने चुनावी प्रणालीको आबश्यक छ । देशमा भएको भ्रष्टाचार निवारण गर्न शासकीय प्रणालीलाई समेत बदल्नु जरुरी छ ।’

जनता समाजवादी पार्टी नेपाल तिरुहुत गाउँपालिकाका अध्यक्ष विरेन्द्र कुमार मिश्राको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, पिछाडाबर्ग ओविसी महासंघका केन्द्रिय अध्यक्ष एवम जसपा नेता भरत प्रसाद साह, राजविराज नगरपालिकाका प्रमुख एवम जसपा केन्द्रीय सदस्य शम्भुप्रसाद यादव, तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेर लगायतका उपस्थिति रहेको थियो । सो अवसरमा सप्तरीका विभिन्न पार्टीका हजारौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News