जलेश्वर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरदसिंह भण्डारीले मधेशी नागरिक अझै पनि अधिकार सम्पन्न नभएकोले राजनीतिक संघर्ष जारीराख्नु पर्ने आवश्यकता औंल्याएका छन् ।
महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ कविलाशामा लोसपा नेपाल पार्टी कार्यालयको विहीबार उद्घाटन गर्दै उनले भने,‘मधेसीहरुसंग वेइमानी भएको छ त्यसकोलागि एक पटक फेरि मधेशी जनताहरुलाइ संघर्ष गर्नुपर्छ ।’ उनले मधेशी जनताहरुको हक अधिकारको लडाइ अझै बाँकी रहेको बताउंदै मधेशी, आदिवासी, दलित तथा जनजातीहरु अधिकार सम्पन्न नभएकोले विभेद विरुद्ध आन्दोलन जारीरहेको उल्लेख गरे । मधेशबाट पटक–पटक जितेर सरकारमा गएको विभिन्न पार्टीहरुले जनताको विश्वास गुमाई सकेको बताउंदै आन्दोलनको भावना र उत्पीडित वर्गको सम्मानको लागि संघर्ष गर्न लोसपा प्रतिबद्ध रहेको बताए । कार्यक्रममा महोतरी निर्वाचन क्षेत्र नं २ क प्रदेश सभा सदस्य जैलुन राइन ,लोसपा जिल्ला अध्यक्ष रामबाबु साह,विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु,लोसपा नेपालका नेता शंकर यादव ,दरेश यादव, राम स्नेही यादव लगायत दर्जनौ व्यक्तिहरुको सहभागिता रहेको थियो ।


