कलैया । बारा जिल्लामा रहेका न्यून आर्थिक आय भएका नागरिकहरुलाई कम्बल बितरण गरिने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय बारामा बसेको बिपद् ब्यवस्थापन समितिको बैठकमा अचानक बढेको चिसोले प्रभावित भएका जिलका गरिब,असहाय तथा विपन्न नागरिकहरुलाई कम्बल बितरण गर्ने निर्णय गरेको हो । तराई मधेशका जिल्लाहरुमा पुस र माघ महिनामा सित लहरी हुने सम्भावना बढेर गएपछि समितिले सो निर्णय गरेको हो । प्रजिअ कृष्ण बहादुर कटुवालले विपद् आउनु अगावै जोखिम न्यूनीकरणको निम्ति समितिले बैठक आयोजना गरी विभिन्न निर्णयहरु गरेका छन् । सित लहरबाट बच्ने उपायहरुका बारेमा स्थानीय रेडियो एफएमहरु मार्फत जनचेतनामूलक सूचना सम्प्रेषण गराउने निर्णय समेत गरिएको छ । त्यस्तै जिल्ला भरिका सार्वजनिक ठाउंमा आगो ताप्ने ब्यवस्था मिलाउनकालागि प्रहरीको सबै यूनिटहरुलाई दाउरा बाल्नमा परिचालन गर्ने निर्णय समेत भएको छ । पालिका स्तरमा रहेको बिपद् व्यवस्थापनलाई सक्रिय पार्नका लागि बैठकमा सहभागी पालिका प्रमुखहरुलाई प्रमुख जिल्ला अधिकारी कटुवालले आग्रह समेत गरेका थिए ।
कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, प्रसौनी गाउंपालिकाका प्रमुख भोला प्रसाद गुप्ता, करैयामाई अध्यक्ष भुनेश्वर धामी, रेडक्रस सोसाईटीका अध्यक्ष राजेन्द्र सिंह खड्का, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव, सिम्रौनगढ नगरपालिकाका कार्यकारी अधिकृत हरिओम प्रसाद जयसवाल, संघीय समाजवादी फोरम नेपालका कमलेश मण्डल, लोसपाका श्याम गुप्ता, प्रहरी उपरिक्षक दिपेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेनाको ज्वालादल गणका प्रतिनिधि, बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ लगायत अन्य सरकारी कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।


