२०७८ पुष ४, आईतवार ०७:१६

नेपाली कांग्रेस प्रदेश २ को रोकिएको चुनाव घोषणा भएसँगै नेताहरुको सक्रियता बढेको छ ।प्रदेश २ सभापतिका लागि हाल रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रदेश २ मा १ हजार साढे ८ सय मतदाता रहेको बताइएको छ । पुस ६ गते मनोनयन पत्र दाखिला र ७ गते मतदानको समय निर्धारण गरिएको छ ।घोषित उम्मेदवारहरु मध्ये रामसरोज यादव स्वतन्त्र रुपमा चुनाव लडन लागेको बताइसकेका छन् । अर्का घोषित उम्मेदवार कृष्णा यादव सभापति शेरबहादुर देउवाको प्यानलबाट उठ्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका प्रदेश २ का भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादव सम्पन्न महाधिवेशनका चुनावमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिको पक्षमा लागेको बाहिरी रुपमा देखिएको थियो ।तर उनले निधिलाई मतदान नगरेको आरोप लागेको छ । निधि स्वयंले सार्वजनिक रुपमा यस्तो आरोप नलगाए पनि उनका सहयोगीहरुले पटक पटक यस्ता आरोप लगाउने गरेका छन् । यादवले पनि सभापति देउवालाई नै मतदान गरेको विश्वास गरिएको छ । देउवाको कटु आलोचनामा उत्रेका निधिले पहिलो चरणको सभापतिको परिणामपछि उनलाई नै समर्थन गरेका थिए ।सभापतिमा देउवालाई समर्थन गरेका निधिले प्रदेश २ मा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । निधि निकट स्रोतहरुका अनुसार प्रदेश सभापतिमा रामसरोज यादव र कृष्णा यादवबीच चुनाव भए देउवासितको सम्बन्ध सुध्रिन समस्या आउने भएकाले सर्वसम्मतको प्रयास थालिएको छ ।निधिले देउवासित बिग्रेको सम्बन्धलाई सुधार्न प्रदेश २ मा उनलाई सभापति उपहार दिन लागेका हुन् । तर निधिले चाहेर पनि रामसरोज यादवले उम्मेदवारीबाट पछि नहटने बताइएको छ ।

मन्त्री यादवले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको र जित सुनिश्चित रहेको बताए । ‘प्रदेश सभापतिमा मेरो जित सुनिशिचत छ ’ उनले भने, म कुनै गुटबाट न भै प्रदेशका प्रतिनिधिहरुको सुझावमा चुनाव लडन लागेको छु । निधिलाई मन्त्री यादवको पक्षमा खुल्न समस्या देखिएको छ । सभापति देउवाको पक्षबाट घोषित उम्मेदवार कृष्णा यादवको विरोधमा लागेमा निधिका लागि नोक्सानप्रद हुन सक्छ ।प्रदेश २ को चुनाव मन्त्री यादवका लागि भन्दा कम महत्वपूर्ण निधिका लागि पनि छैनन् । महाधिवेशनमा सभापतिमा उठेका निधिले सम्मानजनक मत ल्याउन नसकेर ‘अपमानित बोध’ गरिरहेको अवस्थामा मन्त्री यादवको जित र हार दुवै उनकालागि घातक हुने विश्लेषण गरिएको छ । देउवाको पक्षबाट घोषित उम्मेदवार कृष्णा यादवलाई फकाएर सभापतिमा मन्त्री यादवलाई सर्वसम्मत गराउन नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवको भूमिका प्रभावकारी हुन सक्ने बताइएको छ । महाधिवेशन अगावै उनले मन्त्री यादवलाई सभापति देउवाको पक्षमा तानेका थिए । उनले नै गृहमन्त्री बालकृष्ण खाँडलाई जनकपुृरधाममा ल्याएर यादवसित गोप्य बैठक गराएका थिए । हुनत प्रदेश २ मा डा.शेखर कोइरालाको पक्षबाट पनि उम्मेदवार उठाउने तयारी भएको छ ।प्रतिस्पर्धी उम्मेदवार नपाएर कोइराला पक्षबाट नाम सार्वजनिक हुन सकेको छैन् ।तर कोइराला पक्षको उम्मेदवार नभए सो समूहले मन्त्री यादवलाई समर्थन गर्ने निश्चित छ ।

साख जोगाउने निधिको प्रयासलाई सफल हुन नदिन कोइराला समूहले अन्तिम समयमा उम्मेदवार दिन सक्ने संभावना रहेको छ । निधिले सभापतिमा देउवालाई समर्थन जनाएपछि कोइराला पक्ष अत्यन्त आक्रोशित बनेको छ ।प्रदेश २ को चुनाव निधिकै चाहनामा रोकिएको थियो ।

https://www.youtube.com/watch?v=uHe58s1KjgA

Comment


Related News

Latest News

Trending News